एउटा बाटो बिराएर हिँडेको अपरिचित यात्री
शिवलाल दाहाल
केन्टकी, अमेरिका
फेरि पनि ऊ आयो
कता कता मनको बाटोहरु सुम्सुम्याउँदै
सम्झनाका लिङ्गेपिङ्हरु हल्लाउँदै
म उसलाई छुन खोज्छु
म उसलाई स्पर्श गर्न खोज्छु
जति जति म उसको नजिक पुग्छु
किन किन उसको रुपरङ् फरक फरक पाउँछु
र लाग्छ उसलाई मैले कहिल्यै देखेकै छैन
तर खास गरेर उसलाई मैले धेरै पटक देखेको हुँ
सर्वथा उसँग मेरो परिचय छ ।
मलाई थाहा छ
ऊ आउँदा हाट–बजार उचाल्दै आउँथ्यो
किनमेल गर्दै आउँथ्यो
चौतारी र बाटाहरु उघार्दै आउँथ्यो
गाउँघरका ढिकीजाँताहरु बजाउँदै आउँथ्यो
आँगनका डीलडीलमा
मखमली र चिचुचाँगेहरु सजाउँदै आउँथ्यो
खेतका गराहरुमा
सुनबालाहरु झुलाउँदै आउँथ्यो
घरका भित्ताहरुमा रातो माटो र कमेरो पोत्दै आउँथ्यो
अथवा यसो भनौं —
गाउँघरमा ऊ एउटा भिन्नै रौनक लिएर आउँथ्यो
फूलपाती, टीको र जमराहरुको –
लिङ्गेपिङ्, मारुनीनाच र मालश्री–धुनहरुको –
भेटघाट, खेलकुद र लामो विदाहरुको –
फेरि पनि ऊ आयो
कता कता मनको बाटोहरु सुम्सुम्याउँदै
सम्झनाका लिङ्गेपिङ्हरु हल्लाउँदै
तर बिना कुनै चहलपहल, बिना कुनै तयारी
एउटा बाटो बिराएर हिँडेको अपरिचित यात्री जस्तो . . . . . . . ।