एउटा मुख्तियार चाहियो
प्रतिमान सिवा
ओहाइयो, अमेरिका
जब,
पेमाडाँडाको मूलबाटो हुँदै
आफ्नै मौनतामा मस्त,
सुस्ताइरहेको गाउँलाई
“भो……ली भे………टा* ….. है…. !!” भन्दै
चर्को स्वरमा उर्दी लगाउँदै
सारा गाउँलाई बिउझाउँथे
मुख्तियार-सिरुपाली बाबै,
तब,
सिङ्गो गाउँ जाग्थ्यो ।
जोश जाँगरको पोको,
आफ्नो खेतलाई सिन्चने धोको,
लाग्थे सबै भेटा* तर्फ ,
सबै मनाउदै खुसी र हर्क ।
यो फिरङ्गी मुलुक मेरो,
आशा भरोसाको खेतमा
एक पुस्ताको आयु बोकेर
अन्तिम घुट्को श्वास फेर्दै,
धरासयी बनेको मेरो मातृभाषा
आज,
तिनै मुख्तियारको पर्खाइमा छ ।
घर-घरमा, परिवार-परिवारमा, देश-विदेशमा,
फेरी एक पटक ऊर्दी लगाउने
तर,
भेटाको* होइन,
भाषा-प्रेमको मूल फुटाउने,
नेपाली साहित्यको स्तरलाई उठाउने,
सिरुपाली बाबै,
मलाई फेरि चाहियो ।
उर्दी लगाउने,
एउटा मुख्तियार चाहियो !!
एउटा मुख्तियार चाहियो !!
*भेटा = सिन्चाई कार्यको लागी नदीबाट पानी थुनेर ल्याउने कार्यलाई भेटा भनिन्थ्यो दैफाममा । सायद यो अखमिया भाषाबाट आएको शब्द हुनुपर्छ ।नेपालमा हो भने पैनी फर्काउनु भनिन्छ ।