एकैसाथ बर्सिएका ‘असिना र फूल’
अर्जुन पीयूष
गान्तोक, सिक्किम
गान्तोक, सिक्किम
यसै त ‘असिना र फूल’ नीता तामाङद्वारा सिर्जित एक काव्यकार पुस्तक हो। सुन्दा सुन्दर लाग्ने तर अर्थ खोज्दै जाँदा विपरीत अर्थ बुझिन्छ। केवल पुस्तकको नामलाई मात्र परिभाषित गर्नु हो भने असिना र फूल छत्तीसको आँकडामा रहेको पाइन्छ। दुवै शब्द प्राकृतिक हुन् तर ‘फूल’ शब्दले पृथ्वीको रौनकता र मोहकता बुझाउँछ भने ‘असिना’ शब्दले त्यही फूलले सिर्जना गरेको मोहकता र रम्यतामाथि कुठाराघात गर्दछ। शब्दकै वरिपरि चक्कर लगाउँदा ‘असिना’ विध्वंसको प्रतीक हो अनि ‘फूल’ सौन्दर्यको बोध र मानवताको प्रतीक हो। त्यस कारण दुवै शब्द एकैसाथ मिलेर रहन सक्दैनन् तापनि कवि नीता तामाङले असिना र फूललाई एकैसाथ मिलाएर पुस्तकको सौन्दर्य बोध गराउनु भनेको कविद्वारा दुवै ध्रुवलाई मानवीय स्तरमा स्थापना गराउन सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ। कवि नीता तामाङको आफ्नै भाषामा भन्नु पर्दा दुई दिनको जिन्दगी यस पृथ्वीमा बिताउनु छ, यस अवधिभित्र मनुष्यले प्राकृतिक सौन्दर्यको अनुबोध गरोस्, कसैसँग शत्रुता बढाउनभन्दा मित्रतालाई आत्मसात् गरोस् भन्ने हो। कविको भाषामा यही नै मनुष्यको सफलतम उपलब्धि पनि हो।
नीता तामाङसँगको मेरो सम्पर्क सुनचरी दैनिकको जन्म (1993) सँगसँगै भएको हो भन्दा हुन्छ। उनी एक सफल पत्रकार पनि हुन्। त्यो समयमा उनका धेरै रचनाहरू हामीले नीता तामाङ ‘निहारिका’-का नाममा पढेका हौँ। पछि उनी शिक्षण पेसामा संलग्न भएपश्चात् हामी सम्पर्कविहीन भयौँ। उनी पत्रकारिताको क्षेत्रमा डा. कुमार प्रधान, सी. के. श्रेष्ठ, बुद्धिमान प्रधानका ज्येष्ठतम विद्यार्थी हुन् भने म उनीहरूकै कनिष्ठतम विद्यार्थी हुँ। उनी आफ्नो वैवाहिक जीवन-यापनमा सिलगढीबाट बिजन बारीतर्फ प्रस्थान भइन् भने मेरो सिलगढीबाट गान्तोक, सिक्किमतर्फ आवागमन भयो। यस सम्बन्धमा एउटा कुरा स्पष्ट राख्नुपर्छ। धेरै पत्रकारितासँग संलग्न सङ्घ-संस्थाहरूले (दार्जिलिङ-सिक्किम दुवै स्थान)-ले पचास वर्ष अगावैदेखि (जस्तै-रेडियो पत्रकारिता) पत्रकारितामा संलग्न रहिआएका व्यक्तिहरूको सम्झनासम्म नगर्नु नेपाली समाजकै विडम्बना हो भन्ने ठान्दछु। त्यसरी नै 1993-देखि बुद्धिमान प्रधान, पदम छेत्री, नरेन्द्र प्रधान, पुष्कर पराजुली, गणेश प्रधान, अशोक प्रशान्त आदि धेरै कैयौँ यस्ता नामहरू छन्, जसलाई उच्चारणसम्म गरेको देखिँदैन। वास्तवमा भन्नु हो भने यी माथि उल्लेख गरिएका व्यक्तिहरूको योगदानको आधारमा सुनचरी दैनिकले आफ्नो निश्चित उद्देश्य पूरा गरेको थियो अनि त्यही दैनिकको आधारमा उभिएर धेरै पत्रकारहरूको जन्म भएको हो। आज एउटा फोनको भरमा पत्रकारको ट्याग लगाएर हिँड्नेहरूको तुलना ती हिजोका पत्रकारहरूसँग गर्नु गलत हुनेछ। उल्लेख गरिएका धेरै नामहरू आज गुमनाम भइसकेका छन् तर तिनै नामहरूमा एउटा नाम नीता तामाङ भने साहित्याकाशमा पुनः उदाउनुले एउटा सन्देश उत्खनन भएको छ। अनि हामी एकर्कामा सम्पर्कविहीन भएकाहरू पुनः उनको सिर्जना ‘असिना र फूल’-का माध्यमबाट साहित्यको एउटै आँगनमा जम्मा भएका छौँ। यो सुखद अनुभूतिलाई स्वागत गर्दै उनका सिर्जनामाथि केही कोर्न अघि सरेको छु।
जीवनको प्रारम्भमा पत्रकारिता पेसालाई अँगाल्दै पछि शिक्षण पेसामा आफूलाई अग्रसर गराउँदै साहित्याकाशमा द्वि-दुइवटा सिर्जना (कविता सङ्ग्रह)-की सर्जक नीता तामाङले आफूलाई एक कविको रूपमा पनि स्थापित गराइसकेकी छन्। यहाँ उनका गुणहरूको पहाड खडा गर्नु छैन अनि दोषहरू खुट्याउनु पनि छैन। सिर्जनाको क्षेत्रमा कुनै सम्झौता गर्न सकिँदैन। कृतिमा व्यक्तिले जे देख्छ त्यसप्रति इमानदार हुनुपर्छ। समीक्षा भनेको केवल प्रशंसा गर्नु मात्र नभएर समयसापेक्ष हिसाबमा ती रचनाहरूले युगीन स्वर बोकेका छन् कि छैनन्, त्यसको निर्क्योल गर्नु हो। मेरो निजी मान्यतामा साहित्यको कुनै पनि विधा सोख, मनोरञ्जनका निम्ति लेखिँदैन। यदि त्यसो गरिन्छ भने उसले पाठक र समाज दुवैलाई भ्रममा राखिरहेको हुन्छ।
अब कुरा गरौँ कविता सन्दर्भबारे। एकाध गफगाफ गरौँ-असिना र फूल सम्बन्धमा। कुरा गरौँ कविता कुन परिभाषा अन्तर्गत परिभाषित छ अनि त्यही परिभाषाभित्र कवि नीता तामाङका कविताहरू पौडिन सफल छन् कि छैनन्।
कवितालाई कसरी परिभाषित गर्ने? मेरो दृष्टिमा काव्य, कविता वा पद्य साहित्यको त्यो विधा हो, जसमा मनोभावलाई कलात्मक रूपमा विश्वको कुनै पनि भाषामा अभिव्यक्त गर्ने गरिन्छ। अर्थात् काव्यात्मक रचना वा कविका कृति, जो छन्दका विविध शृङ्खलालाई विधिवत् रूपमा बाँधिन्छ यसैलाई सम्भवतः कविता भन्ने गरिन्छ।
कविता हाम्रै संवेदनाका नजिक हुन्छन्। यसले सोझै हाम्रो मनलाई स्पर्श गर्दछ। कहिलेकाहीँ मान्छेको मनलाई नराम्ररी हल्लाइ पनि दिन्छ। कविताको मूलमा संवेदना, राग तत्त्व रहेको हुन्छ। यो संवेदनाले सम्पूर्ण सृष्टिसँग जोड्दै लान्छ अनि यसमा आफ्नोपनको बोध गर्न सकिन्छ। यो त्यही संवेदना हो, जसले रत्नाकर डाकूलाई महर्षि वाल्मीकि बन्न बाध्य बनाइदियो।
कविताका यसै परिधिभित्र नीता तामाङका कविताका हरफहरूलाई अध्ययन-मनन र चिन्तन गर्न सकिन्छ। एउटा कविताका संरचनामा धेरै तत्त्व रहेका हुन्छन्। जस्तै कविको कल्पना, वैयक्तिक सोच, परिवेश, परिस्थिति, भाषा, छन्द, विम्ब, रस आदि मिलेर सुन्दर काव्यको निर्माण हुने गर्छ। यिनै कुराहरूलाई आधार बनाएर कवि नीता तामाङ कवितामा उक्लिने प्रयासमा देखिन्छिन् तर सबै पक्षमा उनी सफल छिन् भन्न नसकिएला। यद्यपि एक सबल अभिव्यक्ति दिने उनको परिश्रमलाई नमन गर्नपर्छ। कवि नीता तामाङका मनका गाम्भीर्य अनुभूतिहरू कविताका हरफहरूमा परिवर्तित भएका छन्।
कविता लेखनमा शब्दको महत्त्व व्यापक रहेको हुन्छ। भन्नलाई त कविता स्वाभाविक रूपमा कलेवर शब्दहरूद्वारा बनिने गरेको भनिन्छ तर त्यसमा व्यावहारिकता मिसिएको छैन भने कविताको स्वरूपमा आउन सक्दैन। कविले ‘असिना र फूल’ कविता कृतिमा यी कुराहरूलाई सक्दो ध्यानमा राखेको बुझिन्छ। तर पनि हामीले बुझ्नुपर्ने कुरा भनेको सार्थक शब्द नै कविताको प्राण अनि मर्म पनि हो। शब्द आफैमा शक्ति हो। यदि यसलाई उचित रूपमा प्रयोग गर्न सकियो भने काव्यमा नयाँपना उत्पन्न गर्न सक्छ। अङ्ग्रेज कवि डब्ल्यु. एच. आर्डेनले भनेका छन्- झश्ररू ुळींह ींहश ुेीवी अर्थात् शब्दसँग खेल्न सिक।
कविले आफ्ना भावनाहरूलाई शब्दका माध्यमबाट नै आकार दिने गर्छन्। शब्दहरूको चयन, गठन अनि भावअनुसार लयात्मक अनुशासनले सबल काव्य रचनामा विशेष महत्त्व राख्ने गर्छ। यी कुराहरूमा भने नीता तामाङले आफ्ना कविताहरूमा न्याय दिने प्रयास गरेकी छन्।
कवि नीता तामाङ परिवेश, पर्यावरण, सामाजिक संरचना अन्तर्गत एक धर्म भीरु व्यक्तित्व भएका कारण उनका कविताहरूले त्यही लय समात्नु स्वाभाविक हो। त्यस कारण उनका अधिकांश कविताहरूमा धर्म सहिष्णुताका भाव पाइन्छन्। उनका कविताको प्रारम्भिक कलम नै ‘के चढाऊँ?’- बाट देखिन्छ। त्यसपछि भने उनमा जुन विनयशीलता, नम्रता, कुरा सुन्ने धैर्यता अनि समाज र प्रकृतिलाई हेर्ने दृष्टिकोण समान भएका कारण ‘प्रकृति’ नामक कविता दोस्रो चरणमा पाइन्छ। त्यसपछिका कविताहरूमा विभिन्न रङ्गहरू देख्न पाइन्छ। जस्तै ‘विस्थापित आस्थाहरू’, ‘एउटा मिठो पलायन’, ‘हाँसुन् मनहरू’, ‘अन्तर्वेदना’ आदि आदि। उनको विनयशीलताको एउटा प्रमाण कवितामा हेरौँ-
चाउरिएर धर्सै-धर्सै परेको मेरो हात
यही हातले म देशको तकदिर लेख्ने गर्छु।
…
कसैलाई ताज पहिराएर कम्मर मर्काई नाच्ने गर्छु
कसैलाई हजुर भन्दै हातले अभिवादन गर्छु।
धेरै अर्थहरूमा क्षमाशील व्यवहारका कारण कवि नीता तामाङका कविताहरूलाई परिभाषित गर्नु हो भने उनका अधिकांश कविताहरू सामाजिक सद्भाव, विनम्रताका साथ धेरै कार्यहरूलाई अघि बढाउन सकिन्छ भन्ने भावअन्तर्गत पाउन सकिन्छ। शोषण-दमन र आर्तनाद अन्तर्गतका शब्दहरूको प्रयोग गरेर कोरिएका कविताहरूभन्दा आस्थाअनुरूप, प्रकृतिजन्य एवं मानवे तर कविताहरूको भरमार पाइन्छ ‘असिना र फूल’-मा। उनले सक्दो पारामा असिना र फूल दुवैलाई समायोजन गरेर कविताका भारहरू बनाउने कोसिस गरेकी छन्।
विश्वलाई कवितामार्फत हेर्ने महत्त्वपूर्ण नजर भनेको विम्ब हो। संसारलाई जान्ने र बुझ्ने हामीमा रहेका कतिपय इन्द्रियहरू सक्रिय छन्। संसारमा रहेका विम्बहरूकै माध्यमबाट हाम्रा संवेदनाहरू सतर्क बन्दछन् अनि त्यही कुरामा कवि सफल छिन् भन्न सकिँदैन तर उनको प्रयास भने सराहनीय देखिन्छ।
आज र हिजो दुवै पुस्तका कविहरूले ध्यानमा राख्नुपर्ने कुरा कविताको स्वरूप समयको बहाऊ सँगसँगै परिवर्तित हुँदै गइरहेको छ। कवि नीता तामाङले समय विशेषमा प्रचलित प्रवृत्तिहरूको जानकारी राख्ने कोसिस गरेको उनका कविताका कतिपय हरफहरूले प्रमाण दिँदछन्। जस्तै-‘विचार मर्दैन’ कवितामा उनी यसरी फारिएकी छन्-
व्यर्थ!
मूल्यहीन शरीर
पशुसरह।
मस्तिष्कबिना
उर्लँदैन ज्वारभाटा
विचारहरूको।
यसै कारण नै भनिएको होला शब्दहरूको सुव्यवस्थित प्रयोगले काव्यलाई गरिमामय बनाइदिन्छ। त्यसै कारण भनिएको होला कविहरू कमभन्दा कम शब्दमा धेरै कुरा भन्ने क्षमता राख्दछन्। केवल एक परिच्छेदभित्र नीता तामाङले विचार शून्य मस्तिष्कबाट कुनै ज्वारभाटाको सिर्जना हुँदैन र त्यसले व्यापकता पनि पाउँदैन भन्ने कुरा राखेको बुझिन्छ।
कविताका निम्ति कतिपय महत्त्वपूर्ण घटकहरू हुने गर्छन्, जसको उपस्थितिबिना कविता लेखन सम्भव पनि छैन। जस्तै-भाषा, शैली, बिम्ब, छन्द अनि अलङ्कार। यस पक्षमा कवि नीता तामाङ एक पारङ्गत शिक्षिका भएका नातामा पनि निकै ध्यान पुर्याएको देखिन्छ। कतिपय परिस्थितिमा कविता बुनाइमा विषय टिपाइले पनि महत्त्वपूर्ण भूमिका अख्तियार गर्दो रहेछ भन्ने कुरा पनि उनका कतिपय कविताका विषय-वस्तुहरूले बुझाउने गर्छन्। उदाहरणको रूपमा लिनुपर्दा अविश्वसनीयता, जिजीविषा, आशा, हे योद्धा आदि हुन्।
संसारमा कुनै पनि सिर्जनाका सर्जकहरू दुई धारमा विभक्त भएका हुन्छन् भने एकाध सर्जकहरू मात्र स्वच्छन्द वादी हुन्छन्, तिनै विरलकोटिमा परेकी कवि हुन् नीता तामाङ। केवल प्राकृतिक रूपमा आच्छन्न हुँदै रमाउने कवि हुन् नीता तामाङ। तर यसो भन्दैमा उनका कविताहरूले युगीन स्वर बोकेको छैन भन्न मिल्दैन। तर आफ्नै रफ्तार र रुमानी बन्दै ठाउँ-ठाउँमा स्वरहरूले विद्रोह पनि ओकलेका छन्। त्यस कारण समग्रमा नीता तामाङका कविताहरूले आजको समयलाई भने प्रतिनिधित्व गर्ने कोसिस गरेको मान्न सकिन्छ।
निष्कर्षमा भन्नु पर्दा आजको पुस्ता जुन गतिमा कविताको आँगनमा उभिएर समवेत स्वरहरूको गुञ्जन गरिरहेको छ, त्यो स्वरलाई पनि कवि नीता तामाङले आफ्ना आगामी कृतिहरूमा उजागर गर्नेछिन् भन्ने कुरामा आशावादी बनौँ। उनका कविताहरूका सन्दर्भलाई उठान गर्नुपर्दा समकालीन स्वरहरूबारे कविका भनाइहरू जसरी हरफहरूमा व्यक्तिएका छन्, त्यसको सतहमा पुगी सुधी समालोचक, आलोचकहरूले भविष्यमा समीक्षा, प्रत्यालोचना गर्ने नै छन् भन्ने विश्वासका साथ सो सानो लेखलाई यहीँ विश्रान्ति दिँदछु।
16 जुलाई, 2023