एक गुच्छा सुगन्धहीन कागजको फूल

नैना सुब्बा बराइली
द्वारका, नयाँ दिल्ली

उकालो अनकन्टार बाटोबाट
अँध्यारो गल्लीहरू हुँदै हिँडेका
कठिन यात्राभरि
एक गुच्छा कागजको फूल हातमा लिएर
भ्रमित सुगन्धको सपना देख्ने
सरल, निश्छल निमुखा मुटुहरूलाई
केही भन्न मन लाग्छ मलाई।

होइनन् तिम्रा पाखुराहरू
परिश्रमलाई मात्र,
होइनन् तिम्रा पसिनाहरू
लुटाउनलाई मात्र,
तर बिपनाको क्षितिजसम्म पुग्ने बाटो
तिमीले भुलेका छौ,
आफैले आफैलाई तिमीले
श्रापित ठानेका छौ,
ब्युँझेर हेर पर परसम्म
जीवन त जङ्ग हो
जीवन त शिखर हो
जीवन त अखाडा हो,
तर कतै तिमी लड्न सकेनौ
कतै तिमी समयसित बढ्नै सकेनौ
कतै तिमी उकालो चढ्नै सकेनौ
कतै तिमी खोलाको भेल तर्नै सकेनौ,
एक थुम्कादेखि अर्को थुम्कासम्म पुग्न
असमर्थ तिम्रा पयरहरूलाई
रातको आगमनमा
सूर्योदयको मिथ्या प्रतीक्षा गरायौ
आश्वासनको पोको थापेर
बुढो सपनाको बिछ्यानमा ढल्केर
आकाङ्क्षालाई कल्पनाको पङ्ख दिएर
तमाखुको धुवाँ सितै
जीवनको एक एक पल
आकाशतर्फ फुङ्ग उडायौ।
तिमी भाग्यलाई कठघरामा उभ्याएर
न्याय पर्खन्छौ,
अपाहिज सपना बोकेर
तिमी आफैदेखि तर्कन्छौ,
तर अब तिमीले आफैलाई होसमा ल्याउनु पर्छ
आफैलाई सूर्योदय देख्न सकिने
उच्च डाँडामा उभ्याएर
क्षितिजतिर हेर्न सक्नुपर्छ
आफैले आफैलाई सोध्न सक्नुपर्छ
आफैले आफैलाई खोज्नु सक्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *