ए मौरी
के. सी. ‘सान्दाइ’
साउथ अष्ट्रेलिया एडिलेड
ए मौरि तिम्रो गुणको बयान
को गर्न सक्थ्यो र सबै अज्ञान।
परीश्रमी छौ रस मौनताको
रख्वाल हौकी भन वाटिकाको॥१॥
ए मौरि चारै तिर फूल खोजी
जीवन्त घुम्छौ रस बास्न रोजी।
सधैँ विलासी अनि चाल के हो
रख्वाल हौकी भन वाटिकाको ॥२॥
ए मौरि तिम्रो महिमा छ खास
बद्मासले खै! किन गर्छ नास।
हटेन दृष्टी निज स्वार्थताको
रख्वाल हौकी भन वाटिकाको॥३॥
ए मौरि तिम्रो घर तोडि दिन्छन्
धूँवा लगाई सब पोलि दिन्छन्।
बुझेन तिम्रा बचरा डडेको
रख्वाल हौकी भन वाटिकाको॥४
ए मौरि हिड्छौ कति रोइ-रोई
चस्किन्छ छाती मुटु नेर छोई ।
सकिन्न ब्याख्या गरि त्यो पिडाको
रख्वाल हौकी भन वाटिकाको ॥५॥
ए मौरि पीयूष पखालि लान्छन्
स्वार्थीहरूले सब पोलि खान्छन्।
खुसी र हाँसो अब खै कतागो
रख्वाल हौकी भन वाटिकाको॥६॥
ए मौरि आनन्द लिई फुलैमा
बोकेर पस्छौ रस त्यो दुलैमा।
लुटेर सौन्दर्य मिठा रसैको
रख्वाल हौकी भन वाटिकाको॥७॥
ए मौरि फूल्मा बसि गान गाई
रम्दै जवानी सित प्रीत लाई।
चुसेर हिड्ने रस बानि केहो
रख्वाल हौकी भन वाटिकीको॥८॥
ए मौरि डाकेर वसन्तलाई
अंगालि हिड्छौ सब फूललाई।
बयान गर्छू रस पारखीको
रख्वाल हौकी भन वाटिकाको॥९॥
ए मौरि तिम्रो यहि दोष पाई
लाऊँछ धूवाँ उहि दुष्ट आई।
विलाप गर्दै बचरा हरूको
रख्वाल हौकी भन वाटिकाको॥१०॥
एमौरि दैनीक प्रसून माहाँ
गर्छौ रजाई बसि मंजरीमा।
लता र बृक्ष्यादि सबै घुमी त्यो
रख्वाल हौकी भन बाटिकाको॥११॥
ए मौरि सारा ति सुधा पवित्र
पार्यौ अशुद्धै किनहो विचित्र।
ति फूल राम्रा र लताहरूको
रख्वाल हौकी भन वाटिकाको॥१२॥
ए मौरि राम्रा लहरा बहार
सूधा मुना पल्लव औ पराग।
रहेन चोखो किन आज के भो
रख्वाल हौकी भन वाटिकाको॥१३॥
ए मौरि ई हात कता बडाउँ
जुठो छ पीयूष कहाँ चडाउँ।
म दिक्क भै सोच्दछु राज तिम्रो
रख्वाल हौकी भन वाटिकाको॥१४॥
ए मौरि बैमानि भई नचूक
उन्माद भै पुष्पहरू नचूम।
ठुला बगैँचा र सुधाहरूको
रख्वाल हौकी भन बाटिकाको॥१५॥
ए मौरि ब्याख्या र बयान गर्न
सक्किन्न तिम्रो अब कीर्ति छर्न।
पुकार थोरै दिलले गरेँ यो
रख्वाल हौकी भन बाटिकाको॥१६॥
मबाट केही हुनगो कि गल्ती
माफी म पाऊँ भनि गर्छु बिन्ती।
गरेँ बयानै मह शुध्दताको
रख्वाल हौकी भन बाटिकाको॥१७॥
छन्द :- उपेन्द्रबज्रा