औला दिन खोज्छु, ऊ डुडुँलो निल्न खोज्छ !
कर्ण गुरुङ्ग
नेब्रास्का, अमेरिका
म
औला दिन खोज्छु
ऊ डुडुँलो निल्न खोज्छ
अलि कति दिन खोज्छु
ऊ सबै लिन खोज्छ
ऊ अवसर हेरिरहन्छ
अलिकति गल्ती गर्यो कि त
जालिम ! ठिक पर्न खोज्छ
केही बचन दिन्छु
धेरै फाइदा लुट्न खोज्छ
लाग्छ ऊ भलादमी डाकु हो
मेरो गोजी नछामी लुटिरहन्छ
म हाँसेर सहन्छु
ऊ मेरो टाउको टेकी नाच्न थाल्छ
म दाउरा काट्न बन्चरो दिन्छु
ऊ मेरै स्वाभिमान चिर्न खोज्छ
म हतियार दिन खोज्छु
ऊ मलाई नै काट्न खोज्छ
नदिँदा पनि चोसो
दिँदा पनि घोचो
धरै पाइन्न
मैले खोलेको राज बोकेर
मलाई नै सिद्ध्याउन खोज्छ
कस्तो विडम्बना
उसको लागि म ज्यान दिन खोज्छु
ऊ मेरो लागि ज्यान लिन खोज्छ !
म
औला दिन खोज्छु
ऊ डुडुँलो निल्न खोज्छ
अलि कति दिन खोज्छु
ऊ सबै लिन खोज्छ