कथामात्र होइन, ऊ स्वयं जीवीत छ

भक्त घिमिरे
अमेरिका

म त अर्जुन होइन हजूर,
कृष्णले भन्दैमा छल गरी बन्धु मार्ने,
अल्प हारपछि निराशाको खिचड़ीमा
असंख्य विरह अलाप्ने !
हारेको युद्धमा दोषहरू
परतिर सार्ने र श्रेयहरू ओसार्ने ।
त्यही हुँ म जो थिएँ,
जो छु, र सधैंलाई जो रहने छु,
चाहे मलाई दुष्ट दुर्योधन भन कि
अन्धो धृतराष्ट्र देख,
बेपर्वाह म मेरो समाजको गाथा उकास्ने छु,
किनकि मेरो, तिम्रो र हामी सबैको
आस्थाको त्यो वस्तु, त्यो पात्र सधैं सजीव छ,
हेर…अनि बुझ्ने प्रयास गर !
कथामात्र होइन उसको, ऊ स्वयं जीवीत छ !

र, अरू धेरैजस्तै उनी पनि तिनै हुन्,
जो !
नाना, पापा र मामसँगै उनको जीवनलाई,
एक अञ्जुली सञ्चको सास फेर्ने मौका दिन,
बालबच्चालाई नवजीवनको पञ्चामृत चटाउन,
त्यो !
हो, ऊ….. त्यो बस्तीबाट पृथ्वी ध्रुवको
त्यो शहर पसेका,

सुदूर-उत्तर, उपल्लो छिँढ़ीको त्यो शहरलाई फेरि तिनी
‘लौह सन्दुक’ सम्झने भूल गर्छन् कि ?
जसरी पुर्खाले सोझो बोलीमा
‘फलामको बाकस’ भनेथे !

साहित्य कहिल्यै शुद्ध र अशुद्ध हुन्न
भाषा हुन्छ शुद्ध र अशुद्ध,
सकारात्मक सोचमा मात्र ईश्वर हुन्,
नकारात्मक सोचे त दुष्ट हुन् ती पनि,
जो हुन् राम, कृष्ण र बुद्ध !

भाषा शरीर-रूप र
साहित्य आत्म-गुण हो समाजको,
त्यसैले साफसफाइ त रूपमा हुन्छ,
साहित्यमा फरक होला मात्र गुणको,
के बिझायो कि तिनलाई कसैले
सकिएन कतै बुझी छुट्याउन,
कवि महोदयलाई पार्थक्य
साहित्य र भाषाबीचको
निश्चय पनि नपर्ला चाम्रो खुट्याउन !

तिनी भन्छन् अबका सबै कुरा असम्भव,
अचल मुर्दाझैं वृक्ष र चलायमान जिउँदो मान्छे,
तुलना हुन्न जुन उनी ढिप्पीको तुलना गर्छन्,
यहूदीहरूले शताब्दियौं पछि उखेलिएकै थलोमा
नयाँ देश बसाएको तिनलाई थाहा छैन कि?
किन गर्ने यस्ता प्रश्न उनलाई,
किनकि उनी त सबैमा जानकार छन्,
किन हो अन्जानको नक्कल पो गर्दैछन् ?

शिवजीझैं कैलाशको खोजीमा समुद्री टापु नाघ्दै
उत्तर छिरेका ती कवि महोदय पनि
कहाँ कमका त हुन् र,
दुई दशकअघि तिनी
दुश्मन शक्तिसित पौंठेजोरी खेल्थे,
आज आँतले हारेपछि तिनी
मित्रशक्तितिरै धारे हात लाउँदैछन् !
यसो भनेर, अर्को धारे हात पनि म
उनीतिर लाउने छैन, किनकि यो त
देश, काल, परिस्थितिको गति न हो !

पशुले पनि सताउने झिँगाहरू
पुच्छर हल्लाएर लखेट्छ,
मान्छेहरू किन बोल्दैनथे र, तिनले भनेझैं भए,
त्यो दावी त कपोलकल्पित कल्पना हो,
व्यक्तिवादी आडम्बरको !

तिमीलाई, मलाई र अरु सबैलाई थाहा छ निः
कसको कहाँनेर कुन अंग हुन्छ भनी,
यति हुँदैमा वस्त्र फ्याँकेर,
सर्वांग लाज खोली हिँड्ने त ?
यद्धपि, यस्तो प्रश्न गरेर उनलाई
लज्जित पनि गराउन चाहन्न म !

वस्त्रको पनि आफ्नै मूल्यको औचित्य छ,
लाज छेक्ने औपचारिकतासँगै न्यानो र जतनको !
एक मान्छे र अर्को मान्छेबीच पनि त्यो नाता छ,
जुन बाहिरी वस्त्रजस्तै
भित्री आदर र सद्बुद्धि तथा उत्प्रेरणा स्रोतको !

हो हजूर…
मान्छेसँग उसको कथामात्र होइन,
ऊ स्वयं जीवीत छ !

किन धरतीको उत्तरी ध्रुवमा शिवझैं तपस्या गर्दैछौ ?
केवल, चारगज ढाक्न र चार इञ्चको धोक्रो भर्न,
केवल निराशाको खेती गर्न ?
….यस्तो कठोर प्रश्न गर्ने पनि
ममा छैन हैसियत उनी सम्मुख,
किनकि उनी मेरै वृत्तमा सधैं सम्मानित छन्,
उनी हामीबाट सदैव श्रद्धा र श्रेयका भागिदार छन् !
तर, हजूर याद राखेस् ,
मान्छेसँग उसको कथामात्र होइन,
एक वा अर्को रूपमा, ऊ स्वयं जीवीत छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *