कन्काई किनारको एक झलक
भक्त घिमिरे
अमेरिका
स्थान-नवस्थापित पञ्चवती विद्धालय परिसर
समय-सन् १९९२ को दिसम्बर महिना-एक बेलुकीपख
स्कूलको विदा भइसकेर शिक्षक-विद्धार्थी सबै शिविरतिर लागे । शिक्षक साथी विजयले आफ्नो डायरी अफिसको टेबुलमा छोडेछ । मैले डायरी उठाएर पाना पल्टाउन थालें। उसको डायरीमा एउटा विशेष सङ्केत गरिएको कथात्मक लेख देखें । कथाको शीर्षक थियो,‘‘देशबिनाको दशैं ।’’ विस्तारै सजीवता बोल्न थाल्यो विजयको अभिव्यक्तिमार्फत ।
देशबिनाको दशैं
भाष्करले पूर्वदिशा उज्यालो पारेर मुस्कुराउँदै धरतीलाई दर्शन दिनुअघि नै कोटिहोम तलतिरका पसलहरू खुलिसकेका थिए । राजमार्गमा भौंतारिँदै हिँडेका शरणार्थी युवाहरू, कोटिहोमका मन्दिरमा दर्शन गर्न आउने नेपाली जनमानसको भीड-भाड़ छ । नेपाली पक्ष्यका सबैका मुहारमा उत्साह र उमंगको झलक छ । खुशीका रेखा तिनका अनुहारमा प्रष्टै देखिन्छन् । तिनीहरू साना पसलमा प्रयोजनीय चीजबीज किन्न तैंछाड़-मैछाड़ गरिरहेका छन् । तर, शरणार्थी पक्ष्य भने भोक, प्यास र पीड़ाले ग्रस्त आफ्ना छोरा-छोरीलाई एक दिन खुशी दिन विभिन्न रोजगारीका लागि भौंतारिएका छन् । शिविर वरिपरिका स्थानीय गाउँबाट आपतकालीन अनुदान संकलन गर्न व्यस्त छन् ।
दशैंजस्तो उल्लासपूर्ण चाड़को बेला शरणार्थीले झल्झली स्वदेशको तस्वीर देखिरहेका छन् । तिनै मध्ये छ, मानसपटलमा स्वदेशको दृश्य संगालेर राजमार्गको डीलमा बसी नेपालीहरूले चाड़ मनाएको हेर्दै कोटिहोमतिर नजर दौड़ाइरहेको एउटा शरणार्थी युवक । उसका गालाबाट आँसुका लहर-धारा तैंछाड़-मैछाड़ गरी ओरालो झर्न प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली समुदायमा हर्षोल्लासको रंग छाएको छ । किन नछाओस पनि ! वर्षमा एकै पल्टमात्र आउने नेपालीहरूको महान् चाड़, विजया दशमीको दिन आज । आफूभन्दा ठूला-बड़ाका हातबाट टीका र अशीर्वाद थाप्ने दिन । पसलका पसले र सड़कमा फाट-फुट हिँड्ने बटुवाका निधारमा दही र अवीर-अक्षता मुछेको टीका छ । यो देखेर शरणार्थीका हृदयमा हिँजोसम्म स्वदेशमा छँदा मनाएको दशैं, बारीको छेउमा थापेको लिंगे पिङ्, लिंगे पिङ्मा मच्चिँदाका बालसुलभ तथा युवा उद्गारहरू झल्झली आइरहेका थिए ! ती टीका लाउनेलाई हेर्दै विरेनकी बहिनी निनुले भनेकी थिई,‘‘हामी त देशमा हुँदा दशैंमा निधारको वल्लो छेउदेखि पल्लो छेउसम्म चामलको टीका ड्याम्म लगाउँथ्यौं, यहाँ त हेर्नु न, निधारको बीचमा मात्रै दश-पन्ध्रवटा चामलका दाना ! शायद, यहाँ चामल महंगो भएर होला, हो कि दाजु !!’’
आज गाउँबाट अशक्त शरणार्थीका लागि अन्न-राहत खोजेर ल्याउने पालो मेरो परेको थियो । यसरी भूस, मल्खु, खस्रो-मसिनो, चामल पीठो सबै मिसिएको बेसाहा खोजेर ल्याई पचास-एक सय ग्रामका दरले बाँड़ेर शरणार्थीको प्राण बँचाइएको थियो केही समय । कुले, हर्के, बिरे, रामे र म बेसाहा खोज्ने टोलीमा थियौं आज । शिवगञ्ज, झिल्झिले, दूधे, माइधार हुँदै, बेसाहा खोज्न गएको, सुरुंगा बजार मनिका एकजना कँडरिया बाजेको घरमा पुग्यौं । उनका छोरा सबै काठमाडौंतिर बस्थे । कोही निजी विद्धालय खोलेर, कोही निजी क्लिनिक चलाएर त कोही राजनीतिक पार्टीका कार्यकर्ता भएर । कुरैकुरामा थाहा भयो, बाजे यस क्षेत्रका मुखिया साहु रहेछन् । राजनीतिक हैसियत पनि गजबकै रहेछ बाजेसित । कुनै दलका नेताले पनि उनीसित हात नजोड़ी केही नचल्ने ! बाजेले हामीलाई पनि सौदाबाजीको शर्त राखिहाले । उनले अन्नदान त गर्ने भए तर, सशर्त । उनको घरमा हली बसिदिने सल्लाह दिए टोलीको कुनै युवकलाई । कन्काई नदीको बगरमा रहेका सबै शरणार्थीलाई हली-गोठाला बनाउने चुनौती दियौं हामीले । मानवताविरोधी अन्यायबाट पीडित, बाँच्ने अधिकारबाटै वञ्चित, मानवीय गरिमा कायम गर्नै धौ-धौ परेको बेला विवशताको फायदा उठाएर बाजेले हली राख्ने कुरा गर्दा धेरै खिन्नता भयो । बाजेले आफ्नो तर्कस्वरूप भारतले कहिल्यै शरणार्थीलाई देश फिर्न नदिने आफूलाई पूर्वाभास भएको र यो अन्तर्राष्ट्रिय मुद्दा भएको कारण अब शरणार्थीले कँडरिया बाजेजस्ताहरूको हली गोठालामै जीवन गुजार्नुपर्ने अड्डी कसेपछि कड़ा वादविवाद परेर हामी बाजेको घरबाट अन्न नलिइकन फिर्यौं ।
शिविरमा पुगेर कुलवीरको छाप्राभित्र पसी चिमको खाटमा बसेका मात्र के थियौं, छिमेकी छाप्रा नम्बर २१३ को लालवीर भूजेल, बोलाउने नाम (अन्तरे भूजेल), स्याँ-स्याँ गर्दै आएर हामीलाई ठूल्ठूला आँखा पारेर हेर्यो । उसका आँखामा जलकणहरू पोको पर्दै झर्नथाले । ‘‘लौन नि………..’’, भनेर क्वाँ क्वाँ रुन पो थाल्यो अन्तरे । हामी एकक्षण त अलमल्ल पर्यौं, होश हराएजस्तो ! त्यहाँ भएका सबैजसो उठेर अन्तरेको छाप्रातिर दगुरे । म पनि बसेको ठाउँबाट जुरुक्क उठी अरुका पछि पछि लागें । हामी पुग्दा अन्तरेको छाप्रोअघि थुप्रै मान्छेको भीड़ थियो । छाप्रोमा पस्दा त्यहाँको वातावरणले सबैलाई खिन्न बनायो ।
दशैंको चाड़ले बाहिरकाहरूमा जुन खुशी, उमंग छाएको थियो, रंग-विरंग टीका लगाएर नातेदारका घर-घर दौड़िनेको भीड़ चलिरहेको थियो, त्यो त शरणार्थीबीच पक्कै थिएन । तथापि, आंशिक प्रभाव भने थियो नै शिविरमा पनि दशैंको । गाउँ-बस्तीमा गएर अलि अलि कसैको धान काट्ने, कसैको एक गरा खेत जोतिदिने, आलु गोडिदिने, मकै भाँचिदिने आदि काम गरेर, सयको पसिना बगाई पचास लिएर आउने शरणार्थीले पनि परिवारमा मिठो र खुशी एकैचोटि बाँड्ने जमर्को त गर्दै थिए । भएभरका नाता-गोता भेला भएका छन् आज । हो-हल्ला र भलाकुसारी चलिरहेको छ धेरै छाप्राहरूमा । यद्धपि यो रौनक अन्तरे भूजेलको छाप्रोमा भने पस्न आँट गरिरहेको थिएन ।
छाप्रोमा भएका सबै चुपचाप । वातावरण शान्त । त्यहाँ उपस्थित सबै मलिन अनुहार र आँखाहरू ओछ्यानमा पल्टिरहेको केटोमाथि केन्द्रित थिए, मानौं त्यहाँ केही अनिष्ट हुन गइरहेको छ । हामी छाप्रोभित्र पस्नासाथ केटोलाई हेर्ने सबै आँखाहरू हामीतिर खनिएर आशालु अनुनय गर्नथाले । कोठाको शून्यता तोडेर जिज्ञासा राख्न खोजें तर, असमर्थ ! छाप्रोभित्र एउटा चिमको धराप पलङमा अन्तरेको एउटै मात्र छोरो दिनेश चेतनाशून्य अवस्थामा लम्पसार, मुर्दाजस्तो लडिरहेको थियो । यसो हेर्दा एकदर्जन हिउँद नाघेको मात्र झैं थियो । कुरा बुझ्दा धेरै दिनदेखि बिरामी परेकोले आज अकस्मात उसको स्थिति चिन्ताजनक भएको रहेछ । उसको बिराम मन्साउने झाँक्रीलाई कालो भाले बुझाउन अन्तरेले सकेन । वनझाँक्री माइलाले भनेको कालो बोका पनि उसले किन्न सकेन । अण्डा र स्याउलीको झाँक्री उपचार त कति भो कति, भनेर साध्य छैन । अन्तरेले बिर्तामोडमा जानी-नजानी रिक्शा चलाएको, भारी बोकेर कमाएको दुई-चार रुपियाँ झाँक्रीहरूलाई भेटी बुझाउँदै सकियो । यति हुँदा पनि केटो झन् सिकिस्त हुँदै गयो । ऊ बाँच्नला भन्ने आशा त शायदै कसैले गर्यो होला तर, धेरैका मनमा भने बाँच्छ भन्ने थिएन, किनकि ऊ प्रायः मृत्युको मुखमा पुगिसकेको थियो । अस्पताल लैजाने स्थिति पनि क्रमशः घट्दै गइरहेको थियो । अब सबैले उसको मृत्युको अविराम प्रतीक्षा गर्नुबाहेक अरु केही उपाय थिएन । यतिकैमा अचानक !! उसको होश आएझैं भयो, सबै कराए, ‘‘आँखा खोल्यो, आँखा खोल्यो ।’’ केही भन्नलाई उसले ओठ चलाएझैं देखियो । शायद उसले आफ्ना आमा-बाबु बोलायो । तर, त्यहाँ भेला भएकाहरू बीचबाट आदेशात्मक स्वरमा कसैले भन्यो, ‘‘पानी माग्दैछ ।’’ यसरी पानी मुखमा हालिदिने काम भयो ।
त्यसको करिब करिब पाँच मिनट यताउती आँखा दौड़ाएपछि ऊ सधैंका निम्ति शान्त भयो, निदायो चिर निद्रामा । चिच्याहट र रुवाबासीले छाप्रो काँप्यो थर्रररररर……………..!!! अन्तरे भूजेलको परिवारले दाँतमा दर्सिन ढुंगा परेको पीड़ा महसुस गर्यो । स्वदेशमा बालबालिकाले पढ्ने अवसर गुमाए, गरीब किसानहरूले सुतीखेती गरिखान पाइएन, अन्यायले सीमा तोडेर पोखिएपछि बाँच्न र दिनेशलाई पढ़ाउने आश लिएर गाउँका अगुवा, जेठा-बाठा जता गए त्यतै जानलाई अन्तरेले देश छोड़ेको थियो । जीवनभरि अन्तरेले मुखिया र ठूलाबड़ालाई सघायो । तर, आज एउटैमात्र छोरा गुमाएको अन्तरेको यो गति भोग्न उसलाई कसैले सघाएन । अन्तरे र अन्तरी खूबै कराए, चिच्याए तर निदाएको छोरा ब्यूँझेन, कठोर हृदय भएको त्यो ‘ईश्वर’ भन्ने जीवमा दया पलाएन ।
वर्षमा एकैपटकमात्र आउने महान पर्व, सबैले हर्षोल्लासका साथ मनाइरहेको समयः कन्काई पारिका, राजमार्गतिरका गाउँबाट मीठा-मीठा गीतका भाकाहरू, मादलका धूनहरू, तन्देरी-तरुणीका स्वरहरू सुनिँदै थिए ।
सेक्टर सी-को कार्की साइँलाको परिवार पनि आज निकै खुशी साथ दशैं-व्यञ्जन पकाउँदै थियो । कार्की बाजे च…ट…ट…..ट, चुइँ… चुइँ…….च्यार्ररर…..पार्दै चिमको ओछ्यानमा बसेर गफ हाँक्दै थिए । ‘‘हामी देश छोड्नु परेको राष्ट्रिय पीड़ामा छौं, अनेक रंग-विरंग टीका लगाउने, रमाइलो गर्ने समय तो होइन नानी हो तर, पनि बल्ल बल्ल आएको चाड़ पो त, एक छाक मीठो खान त पाइएला नि ! धेरै छोरा-छोरी कन्काईको खड़ेरीले लगिहाल्यो, बाँचेका जति सबै परिवार भेला भएर एक छाक मीठो-मसिनो बनाएर खाओ है । जोसुकैले जेसुकै भनोस् । हाम्रो परम्परागत संस्कृति हुँदै हो आखिरीमा, जे जे ताला ताला !’’ कार्की परिवार आजै भेला भएको उनीहरूको कुरा गराइले भान हुन्थ्यो । कार्कीको छाप्रोमा ठूलो स्वरको गफले गर्दा अन्तरे भूजेलको छाप्रोमा रुवाबासी चलेको त्यतापटिका कसैले सुनेको थिएन तर, कार्की बाजेको छाप्रोमा पकाएको व्यञ्जनको वाफ भने उड़ेर अन्तरेकै छाप्रो पार गर्दै गइरहेको थियो ।
त्यस्तो शुभ-समयमा अन्तरे भूजेलको अशुभ समाचारको हल्ला गर्दा धेरैलाई असर पर्ने हुनाले मुख्य-मुख्य एकाध ठाउँमा खबर पुर्याउने काम भयो । शवलाई एकरात राखेर भोलिपल्ट मात्र घाट लाने सल्लाह भएकोले एक-दुईवटा मुख्य चाहिने सामानहरू ल्याइदिएर म आफ्नै छाप्रोतिर लाग्ने तरखर के गर्दै थिएँ, बलेंसीमा के घुर्रररररर………………..गरेको आवाज आयो । यसो हेरेको त अन्तरी भूजेलनी अघि नै बेहोश भई लड़ेकी रहिछ । अनेक गरेर जमाएको पौरख त देश नामको भूगोलमै बिलायो, शासक नामका ब्वाँसाहरूले खाइदिए । सन्तानको नाममा एउटै छोरो भएको पनि असमयमै परलोक भो । यहाँभन्दा एउटी आमाको पीड़ा अरु के हुनसक्ला ! कुलवीरले पानी ल्याएर तालुमा खन्याएपछि विस्तारै उठेर फेरि रुनथाली अन्तरी । रुँदा रुँदै हिक्का बन्द भएर बेहोश भएकी रहिछ । उसलाई सम्झाई-बुझाई म मेरो छाप्रोतिर गएँ ।
त्यतिखेर दिउँसोको चार बजेको हुँदो हो । वल्ला-पल्ला छाप्रामा आउने-जानेको भीड़ त्यतिकै थियो । भएभरको पीड़ा बिर्सेर वरपर भएका छोराछोरी, आफन्त बोलाएर खुवाउने क्रम चलिरहेकै थियो । मेरो लागि पनि आमाले खाना तयार गरिसक्नु भएछ । तर मलाई खाना खान पटक्कै मन लागेन । म खाना खाँदिनँ भन्न पनि सकिनँ आमाको मुखेञ्जी । ‘‘बस्, खाना खाइहाल ’’, भनेपछि मन नभई नभई खान बसें । दोस्रो गाँस टिपेर निल्न भ्याएकै होइन, बाहिर फेरि हल्ली-खल्ली शुरु भो । खाँदै गरेको खाना छोड़ेर फुत्त बाहिर आएको, आँखाले राम्रो ठम्याउन नसकिने अँध्यारो भइसकेछ । साँझको ६ बजेको हुनुपर्छ । यसो कान थापेर सुनें, अन्तरेकै छाप्रोतिरबाट आवाज आउँदैछ । हल्ला सुनेर दगुर्नेहरूकै पछि पछि म पनि लागें । अन्तरेको छाप्रोमा पुगेपछि , ‘भूजेलनी अन्तरी छैन’, भनेको सुन्नेबित्तिकै कोही टुकी बोकेर कन्काई खोलाको बगरतिर दौड़िए, लालटीन बोकेर कोही शिविरकै छेउछाउ झार पल्टाउन थाले । धने, काजी, ठाकुर, इन्द्रे, बले र मचाहिं टर्चलाइट बोकेर पछिल्तिरको संरक्षित शिशौ बगानतिर लाग्यौं । निकै प……….र……पुगेपछि यसो बत्ती घुमाउँदै हेर्दा त एउटा शिशौको हाँगामा एउटी आइमाई घाँटीमा पटुकीको पासो सुर्काएर झुण्डिएकी छ, मेरी बास्सै ! हामी छेउमा पुग्दा प्राण गइसकेकै थिएन अन्तरीको । सबैले अन्तरी भाउजू भनेर बोलाउने गरेकाले मैले पनि भनें,‘भाउजू…..।’ तर व्यर्थ । भाउजूले विस्तारै संसारलाई विदाको हात हल्लाउँदै थिइन्, आफ्नो छोरो दिनेश गएको बाटो समातिरहेकी थिइन् ।
हामीले अन्तरीको शवलाई पनि झुण्डिएको ठाउँबाट खोलेर भुइँमा उतार्यौं, अनि अरू लाठेहरू बोलाएर त्यहाँबाट बोकेर छाप्रोमा पुर्याइयो । आमा-छोरा दुवैको शव एकैठाउँमा राखेर अन्तरे भूजेललाई सान्तवना दिँदै म पनि छाप्रोतिर लागें । रातको एघार बजिसकेको थियो । तर, निद्रा भने पटक्कै लागेन । र, पनि ओछ्यानमा पल्टिने औपचारिकता निभाएँ । केवल अन्तरे भूजेलको हृदयविदारक अवस्थाले अस्थिपिञ्जर भएको शरीरमात्र नाचिरह्यो मेरा आँखा वरिपरि रातभरि । बिहान दिनेश र अन्तरीको शव घाट लान भेला भएका मलामीहरूले अन्तरे भूजेललाई छाप्रोमा खोजे, गाउँमा सोधे तर, कसैले भेटेन । ऊ कता गयो, बेपत्ता भयो कसैले उसको सुराक पाएन….घाम अस्ताउने दिशातिर गयो कि झुल्किने दिशा समात्यो, कसैले बुझेन…. !…………….!!
यति पढेर सिध्याउँदै थिएँ, विजय आएर मेरो हातबाट डायरी तानेछ, म ब्यूँझिएँ ।
तपाईंको अन्तरे भूजेल कन्काईबाट हराएपछि भूटान फिरेको छ । यतिबेला ऊ देशभित्र भीषण आन्दोलनको तयारीमा भूमिगत तयारी गर्दैछ । तर, विश्वका धेरैवटा देशमा छरिएका उसका साथीहरूलाई उसले यसको विश्वास दिलाउन सकिरहेको छैन । उसलाई गरिसकेको र गर्नुपर्ने कामबारे प्रचार-प्रसार गर्ने कि नगर्ने भन्ने द्विविधा र संकोच छ । त्यसैले निर्णय गर्न सकिरहेको छैन । तर तपाईंले फेरि पनि अन्तरेको कथा लेख्नचाहिं पाउनुहुनेछ है । ऊ बाँचेकै छ ।
Bhakta sir, nice write up taking back to Kankai.
Lakshmi Prasad Dhakal
होइन, हजूरलाई यस्तो तिलस्मी कथा लेख्न कसले सिकायो हँ-त्यो अन्तरे भूजेलका आफन्तहरू त अहिले अमेरिका गइसकेका छन् । ऊ भने विचलित अवस्थामा माइधार छोडेर हिँडेको भौंतारिँदै कोइला खानी पसेको थियो रे । यतिबेला शिविरमा फर्केर आयो भन्ने सुनिन्छ । भारत पसेर अर्को घरजम गरेको थियो रे-लोग्ने मान्छे यस्तै हुन्छन् हो कि-एकतिर हण्डर खाएर पनि अर्कातिर साइनो गाँसिहाल्ने ! भूटान पसेको त हल्लामात्र हो ! यथार्थ पत्तो लगाएर फेरि लेख्नुहोला उसको कथा ल !
कँडरिया बाजेको धूर्त्याइँ लेखेर नेपाली पक्षमा चोट पार्नु भो कि जस्तो लाग्यो है-नेपालबाट त हामीले धेरै सद्भावना पाएका छौं नि-सतर्क भएर लेख्नु होला !