कन्काई किनारमा प्रतिविम्बित स्वदेश
शक्तिले दूराचारको लक्ष्मणरेखा पार गरेपछि
त्यहाँ एउटा सिंगो देश दुखेको थियो,
पीड़ा र व्यथाहरूले त्यहाँ
स्वदेश नामको एउटा
अमुक भूगोल चिच्याएको थियो,
यहाँले पनि सुन्नुभएकै होला निः
जताततै आर्तनादका
कंकला शब्दहरू फिँजिएकै थिए-
त्यो बेला, उसबेला, एकबेला
स्याउरंगका गाला र ढिकी पाखुरा लिएर
कन्काई शरणपरेका मेरा सन्तानहरू
हेर्दा हेर्दै पहेंलपुर सुकेर
दिनदिनै त्यान्द्रा बन्दै थिए,
केही दिनमै प्रतिस्पर्धात्मक दौड़झैं,
कालका मुखमा पर्दै बत्तीका पुतली,
मेरा सन्तानहरू एक एक गरी
अघोषित शहीदका रूपमा कान्काई गर्भमा पसे,
एक, दुई, तीन….., २०, ३०, ४०, ४५
कन्काई पुलमा बसेर म सधैं गन्थें मलामीका झुण्डहरू,
एक साँझ यो संख्या ५५ पुगेको झल्झली छ अहिले निः
यस्तैमा एक दिन….
अनायसै ! दौड़िरहेको हुन्छु म बगरमा
अकस्मात ! मेरा पाइला रोकिन्छन्, म उभिन्छु,
यसो चौतर्फी नजर लाउँदा त अचम्म !
मबाट सधैं सधैंका निम्ति विदा लिएर छुट्टिँदै
बगरमा घड़ेरी बनाई माटोभित्र निदाएका मेरा ती
सहोद्दर सन्तानहरू एक-एक गर्दै उठेर हेरिरहेछन् मलाई नै प्रश्न गर्दै-
मेरो भाइको अस्थिपिञ्जर
जुरुक्क उठेर मलाई भन्छ-‘‘दाजु के छ खबर ?
सानो भाइले स्वदेश नामको भूमिभित्र
शान्तिसित आमाको दूध चुस्न पायो?’’
यतिकैमा मेरी बहिनीको नरकंकाल प्रश्न गर्छ-
‘‘मलाई निर्मम बलात्कार गरी नवयोवना जिन्दगी
नष्ट गरिदिने ती राक्षससित बदला लियौ के ?
मेरो बलात्कृत लाशको अघि रुँदै खाएको कसम-
ममाथि भएको भीषण अत्याचारको प्रतिशोध लिने,
हजारौं नवयोवनाहरूको जीवन सार्थक गराउने
तिम्रो वचन पूरा गर्यौ?’’
म वाक्क हुन्छु, लाजले म मुख छोप्न खोज्छु-
‘अँ…हँ छैन’, भन्ने संकेतमा शिर हल्लाइदिन्छु-
फेरि तल्लो समाधिबाट बाजे जुरुक्क उठ्दै भन्छन्-
‘‘ए…नाति ! खोई तैंले मलाई दिएको वचन?
हृदयले चोटको पीड़ा सहन नसकी
मृत्यु सय्यामा म हड़्बड़ाएको बेला,
तैंले नै मेरो आत्मालाई शान्त्वना दिए’थिइस्-
आफ्नो धरतीलाई उज्वल र उर्बरा बनाउने मेरा हातहरूमा
बाँधिएका सांग्लीहरू चुड़ाएर टुक्रा-टुक्रा बनाउने,
मेरो छात्तीमा रोपिएका प्रतिशोध र,
व्यथाभरि वेदनाका किलाहरू उखेलिदिने,
मेरा सारा इच्छाहरू पूरा गर्दै स्वभूमि स्वतन्त्र गराउने-
मेरो अधुरो प्रतिज्ञा तत्काल सफलीभूत बनाउने
तेरो वचन ! खोई, आज पूरा भयो ?
त्यसो भए खोई स्वतन्त्रता ?’’
यहाँ पनि म ‘छैन’ कै संकेत गर्न बाध्य हुन्छु-
अनि अस्थिपिञ्जर बाजे फेरि भन्छन्-
‘‘नामर्द, निष्कृय रहेर मेरो आत्मलाई किन अशान्त गराइस्,
खोई तेरो संघर्ष? खोई तेरो प्रतिशोध?
इखबिनाको मान्छे तँ, विषबिनाको सर्पजस्तै !
ठीकै छ, जीवित रहेसम्म सुख दिइनस्,
मरेपछि पनि तैंले मेरो मन किन भड्काइस्?
थुइया, धिक्कार छ तँ बाँचेको,
धिक्कार तेरो जन्म मेरो सन्तानमा !
संघर्षमा घाइते भएर रगतै रगत भई
म भएठाउँ आए म आशिश दिन्थें-
म हौसला, आँट र जोश दिन्थें,
म खुशी हुने’थें, सधैं-सधैं सुखी रहने’थें ।’’
यस्तैमा म आत्तिएँ, म डराएँ र हुर्रिएँ,
भाग्दै म प…र पुग्दा छिमेकी रिट्ठेकी आमा मसिनी,
उसकै चिहानबाट चल्मलाउँदै जुरुक्क उठेर भन्छे-
‘‘ए…विजय बाबू, नमस्ते, तिमी आएछौ !
कस्तो छ मेरो बबुरो रिट्ठेलाई ?
सुनेकी छु ऊ संघर्षको मैदानमा छ रे !
त्यसैले म खुशी मृत्यु जिएकी छु,
बेहद् हर्षिच छु, किनकि
आज आफैं नभए पनि आफ्नै खुनबाट
शत्रुको विनाश हुँदैछ,
रिट्ठेले वैचारिक बाटो मोड़ेन भने एकदिन
उसकै पराक्रममा शत्रुले मेरो शक्ति देख्नेछ,
मेरो रोदनका हिक्का-हिक्का, आँसुमा लुकेका
वेदनाका चोइटाहरू, प्रतिशोधका टुक्राहरू
संगालेर रिट्ठेले शत्रुसित एक-एक बदला लिनेछ,
यो समाचारमा म ढुक्क छु, विश्वस्त छु ।
विजय बाबू, बरु लैजाऊ यो रिट्ठेले नै
मेरो चिहानमा निशान राखेको हँसिया
लगेर उसैलाई देऊ,
यो हँसियाले सधैं उसलाई संघर्षमा साथ दिनेछ !’’
मसिनीका कुरा सुनेर बल्ल थाहा पाएँ-
कन्काई किनारमा प्रतिविम्बित स्वदेश हेरेर-
कठै रिट्ठेले त्यो प्रण गरेछ,
उसले जीवितहरूका निम्तिमात्र होइन,
मरिसकेका सयौं र कयौं जिउँदा
शहीद-आत्महरूलाई शान्ति दिलाउन,
सन्ततीको भविष्य उज्वल गराउन,
आफ्नो ज्यानको बलिदान दिएको रहेछ,
ममता छोप्ने अन्धकार फाँड्न लम्केको रहेछ,
मानवता छेक्ने पर्खाल तोड्न तम्सेको रहेछ,
त्यसैले अब त म पनि रिट्ठेसँगै
हरदृष्टिका युद्ध मैदानमा जाने
ढोका खोली तम्तयार भइसकेको छु,
एक क्षण है-बाजेले सीमारक्षाको पल्टन जाँदा
ल्याएर दिएको अर्दानो जुत्ता लाउँदैछु,
मेरी आमा विधवा भएको दिन खोलेर
मलाई नै राख्न दिएको पोतेको लुङ खोज्दैछु,
बलात्कृत भई मेरी बहिनीले आत्महत्या गर्दा
गलामा पासो लगाएकी गल्बन्दी पनि हेर्दैछु,
अब म एउटा जटिल प्रतिज्ञा गर्दैछु,
बाजेको पौरखी वीरताको जुत्ताले
तालुमा टेक्दै शत्रुलाई धरतीमै गाड्ने छु,
आमाले ममताभरि
जीवनको इतिहास समेटेको त्यही पोते
अनि बहिनीले इज्जतको नाममा
ज्यान फालेको त्यही गल्बन्दीले
म र मेरो सन्तानमाथि धावा बोल्ने प्रत्येक
पिशाचहरूको घाँटीमा पासो लगाई
सधैं-सधैंलाई झुण्डाइदिनेछु,
अहिले म अनुकूल समय पर्खंदै छु,
परिस्थिति र कुशल नेतृत्वको खोजी गर्दैछु,
हो त, म विश्वस्त एउटा नेतृत्वमा
विप्लवी विद्रोहको सपना देख्दैछु !!!
रचनाः सन् १९९९ दिसम्बर २१