कमला र पुनर्वाश
विकाश प्राञ्जल,
एडिलेड,अष्ट्रेलिया
एका बिहानैदेखि सिमेन्ट, गिटी अनि बालुवाको मिश्रणमा लत्पतिएका कोमल तर फुस्रा हातहरु पछ्यौरीको छेउले पुछ्दै आफ्नो खल्तीमा बज्दै गरेको मोबाइलको कल रिसिभ गर्दै बोली कमला:
“हेल्लो”,
“ए ! विजय हो?…… अनि कस्तो छ त अमेरिकाको हालखबर?”
विजय उसको लोग्नेको हितैषी साथी । ऊ अमेरिकामा पुनर्वाश भएको झन्डै डेढ वर्ष हुन लाग्यो । बेलाबेला विजय कमलालाई फोन गर्ने गर्छ । केही महिना अगाडिसम्म आफ्नो साथी किरणलाई पनि बारम्बार नेपालमा रहेकी कमलालाई फोन गर्न भन्थ्यो विजय । दुईवर्ष अघिसम्म कमलाको लोग्ने थियो किरण तर, ऊ अहिले अमेरिकामै पुनर्वाश भैसकेकी एउटी केटिसँग भर्खरै विवाह गरेर बसेको छ । हाल किरण र कमलाबीच कुनै सम्पर्क छैन । अमेरिका पुगेपछिको केही समयसम्म त किरणले धेरैचोटि फोन गर्यो आफ्नी श्रीमतीलाई । छिटै पैसा जम्मा गरेर कमलालाई पनि अमेरिकातिर तान्ने, नभए आफू नेपाल फर्कने भन्दै सोझी कमलालाई मिठा मिठा आश्वासन दिन्थ्यो किरण । त्यसो त दुई तीनपटक उसले कमलालाई अमेरिकाको एक- डेढ सय डलर पठायो पनि । कमला पनि खुशी नै थिई । ऊ किरणमाथि आशा मात्रै होइन भरोसा राख्थी । समस्याग्रस्त कमलाको जिन्दगीमा जब किरणको छायाँ पर्यो, त्यसै बेलादेखि उसले जीवनमा रंगिन सपना देख्नथालेकी थिई । उसका आँखाहरुमा केही नयाँ नयाँ आशाका झलकहरु देखिन्थे । परिस्थितिको आँधीले बड़ारेको उसको किरणसँग भेट हुनुभन्दा पहिलेको जीवनमा कुनै नौला नौला रहर र सपनाहरु थिएनन् । तर किरणसँगको भेटले उसको जीवनमा नूतन ल्याइदिएको थियो । समयको खेललाई कसैले बुझ्न सक्दैन । आज एउटा अवस्थामा भएको वस्तुले भोलि अलिकति कतै न कतै बेग्लो रूप धारण गरिहाल्छ । हरेक पुरानो वस्तु नयाँद्वारा छिन छिनमा आफसे आफ प्रतिस्थापित हुन्छ । त्यसरी नै मानिसको विचार र मन पनि स्थिर रहँदैन । स्थिर नभएकै कारण यो चलायमान छ र परिवर्तनशील पनि । त्यही भएर होला किरण पनि यसरी परिवर्तन हुन सकेको । उसको धारणा र इच्छामा अहिले परिवर्तन आएको छ । उसको इच्छा अहिले कमलामा छैन । कमलासँगको उसको प्रेम र नाता थोत्रे कथा बनेको छ । उनीहरुबीचको नाता थोत्रे बनेकोमा किरणलाई कुनै आपत्ति छैन । आपत्ति त कमलालाई पनि छैन किनकि यो भन्दा अघि नै उसले यस्ता थुप्रै आरोह, अवरोह भोगिसकेकी छ । तर ऊ विक्षिप्त भने अवश्य छे ।
विजयसँग उसको लगभग पन्ध्र मिनेट मोबाइलमा गफ भयो । फोनको कुराकानीमा विजय कमलालाई सान्तवना दिने गर्दछ । प्राय: उनीहरुको कुराकानी कमला र किरणबीचको नातामा केन्द्रित रहन्छ । विजय कमलालाई अतीत नसम्झन बारम्बार आग्रह गर्दछ । ऊ किरणसँग भेट भएपछिकी कमलालाई मात्र जान्दछ । किरणससँग भेट हुनुभन्दा अगाडिकी कमलालाई किरणले अलि अलि जान्दछ र बाँकी सबै आफूलाई आफैं जान्दछे कमला । आफ्नो साथी किरण कमलाको जीवनदेखि बाहिरिएकोमा विजय खुशी छैन । नेपालमा रहँदासम्म ऊ कमलाको सौन्दर्यप्रति धेरै आकर्षित हुन्थ्यो । कमला शरणार्थी शिविर बाहिरकी साधारण हिसाब-किताब मात्र भएकी एक अनपढ़ ठिटी थिई । अनपढ़ भएकै कारण ऊ कम बोल्थी । ऊ धेरै लजाउँथिई । ऊ अरुभन्दा खुबै सुन्दर थिई । प्रकृतिले नै हजारौं मध्यमा उसलाई चुनेको थियो । उसको मुहार देखेर नलोभिने विरलै हुन्थे ।
गाउँमा हुर्केकी अनि शहर-बजारतिर थोरै पहुँच भएकी कमला साधा जीवन मन पराउँथी । उसको रहनसहन, पहिरन अनि भेष-भुषा मानौं उसको जिउने तरिका सामान्य थियो । कमलामा भएका यिनै गुणहरुले गर्दा विजय पनि कमलातिर लोभिएको हुनसक्छ । विजय पनि सरल ठिटो थियो ।
”किरणभन्दा कमलासँग आफ्नो चाहिँ पहिले भेट भएको भए हुन्थ्यो”, सोच्थ्यो विजय । ऊ मनमनै आफ्नो साथी र कमलाबीचको प्रेम देखेर इर्ष्या गर्थ्यो । तर उसले आफूभित्रको यो भावुकता कहिल्यै प्रकट गरेन । ऊ आफूले मन पराएकी कमलालाई ‘विजय असल छ’ भन्ने बनाउन चाहन्थ्यो । ऊ असल थियो पनि । उसलाई कमलासँग बोल्न, हिंड्न अलि लाज लाग्थ्यो । कमलासँगको आफ्नो मनको चाह कहिँकतै झुक्किएर बाहिर प्रकट पो होला कि भन्ने भयले ऊ कमला र किरणसँग बोल्दा, कुराकानी हुँदा बहुत सचेत हुन्थ्यो । भेट भएपछिको छोटो समयमा नै विजय कमलासँग यति धेरै लोभिएको थियो । आफूलाई कमलाले मनमनै प्रेम गरे हुन्थ्यो भन्ने चाहन्थ्यो ऊ । किरणभन्दा आफू अलि धेरै सुन्दर र असल भएकोले कमलालाई किरणले भन्दा आफूले धेरै खुशी दिनसक्ने कुरा ऊ मनमनै दाबी गर्दथ्यो । तर उसले यस्ता कुरा कहिल्यै कोहीसामु प्रकट गरेन । प्रकट गर्नु राम्रो होइन भन्ने ऊ प्रष्ट जान्दथ्यो । आफू र किरणबीचको घनिष्ठ मित्रतामा कतै आँच पो पुग्ने हो कि भन्ने डरले ऊ आफ्नो मनको भावनालाई कहिल्यै प्रकट गर्दैनथ्यो । ऊ कमला आफूसँग नजिक भएको कारण थाहा पाउन चाहन्थ्यो । किरण र आफूबीच गहिरो मित्रता भएको र लोग्नेको साथीसँग नजिक भएर कमलाले आफ्नो नैतिक धर्म पूरा गरेकी हो भने ऊ चित्त बुझाउन तयार थियो । “आफ्नो लोग्ने हुँदाहुँदै कसैले अर्को व्यक्तिलाई प्रेम गर्छ? ” ऊ आफैंलाई प्रश्न गर्थ्यो ।
“म मात्र एकतर्फी प्रेममा फँसेको रहेछु क्यारे…” सान्तवना दिन्थ्यो विजय आफ्नो मनलाई । तर ऊ मौनतामै कमलालाई प्रेम गरिरहन्थ्यो ।
“ओए कमली! खाइस अब, तेरो बाउ आइपुग्यो, आउँदिनस् छिटो मसला ओसार्न !”, मोटरसाइकल चढेर निर्माणाधीन भवन छेउतिर सररर आउँदै गरेको ठेकादारलाई देखाउँदै उसकी एउटी मजदुर सखीले कमलालाई सचेत गराई l हत्तपत्त बोल्दै गरेको मोबाइल काटेर ऊ आफ्नो काममा पुन: फर्की l आधा घण्टाजति मजदुरी गरिसकेपछि उनीहरुको दिउँसोको खाजा खानेबेला भयो l निधारबाट गलाको बाटो हुँदै बग्दै गरेका पसिनाका थोपाहरुलाई सिमेन्टमा लत्पतिएका हातहरुले पुछ्दै कमला अरु साथीहरुझैं खाजा खान बिल्डिंगको करिडरतर्फ लागी l खाजा खाँदैगर्दा उसका साथीहरुले “अघि को सँग बोलेकी ?” भनेर सोध्दै थिए l तर उसले “कोहीसँग पनि होइन”, भनेर टाउको निहुराइ दिई । अरुबेलाभन्दा आज उसको अनुहार अशान्त देखिन्थ्यो । शायद उसको अतीत खहरे बनेर मानसपटलमा बग्नथाल्यो क्यार । आफूसँग भएको थोरै खाना पनि उसलाई निल्न गाह्रो भयो । ऊ मलिन थिई । साथीहरुले उसको अनुहारतिर हेर्दा निधारमा चिट-चिट पसिना आएझैं देखिन्थिई । आफ्नो अतीतमा कसैले प्रश्न उठाउला कि भन्ने त्रास उसको मनमा भैरहेको थियो । त्यसैले होला उसको ओठमा कम्पन थियो, मानौं ऊ केही डराएकी होस् ।
नास्ता भएपछि सबै आ-आफ्ना झोला बोकेर बाहिर निस्किए । बुधबारको दिन, आधा दिन मजदुरीपछि सबैले छुट्टी पाउँछन् । उसका साथीहरु आ-आफ्नो मजदुरीको ज्याला लिएर ओठमा केहि रंग भर्दै बजार भर्न पाखा लागे । तर, उसले बजार जान अल्छी गरेजस्तै गरी । भवन निर्माणको लागि थुपारिएको इटाको अग्लो थुप्रोको छहारी लिँदै त्यसको फेदमा बसेर ऊ के के सोच्न थाली कुन्नि ! उसका आँखा बेला बेला रसाएझैं देखिन्थे । गालामा हात राखेर पटक-पटक खुइया खुइया गर्दै उसले आफ्नो कथा सम्झन थाली ।
नब्बेमा भूटानमा भएको आन्दोलनको परिणामस्वरूप देश छोड्न बाध्य भएर कमलाका बा-आमा भारतको सिक्किम भन्ने राज्यमा एउटा जमिन्दारको घरमा शरण लिएर बसेका थिए । त्यहाँ रहँदा घरमालिकको जग्गा अध्याँ लिएर उनीहरुले आफ्नो गुजारा गर्दै थिए | शुरुशुरुमा उनीहरुका दिनहरु राम्ररी नै चल्दै थिए । जमिन्दारलाई गाउँलेले ‘”ठूला बाजे’ भन्दथे | उनका छोराहरु कोही डाक्टर थिए, कोहि इन्जिनियर । हुनेखाने ठुला बडाका, पढेलेखेका छोरा-छोरी के गाउँमा बस्थे र ? सबै दिल्ली र बम्बईमा तनाखा खान्थे । ‘प्रिया’ नाम गरेकी ठूला बाजेकी नातिनी उनीसँगै बस्थी । प्रिया ठूलाबाजेकी छोरीकी छोरी हो । लाखौं सम्पत्तिको धनी आफ्नो मावली घरको लालनपालन र ख्वाई-पियाईमा हुर्केकी प्रिया कम सुन्दर थिइन । ऊ पन्ध्र वर्षकीमात्र भए पनि जवान तरुणी झैं देखिन्थी । हृष्ट-पुष्ट शरीर, राता-राता गाला, बारुली कम्मर अनि उच्च शृंगारमा ऊ अप्सराझैं सजिन्थी । उसको शरीरमा जवानीको रंग चढ़िसकेको थियो, त्यसैले होला उसको अत्यधिक चंचलतालाई गृष्म ऋतुको चिसो सिरेटोले रोक्न सकेको थिएन । जवानीको चंचल्ताले उसलाई प्रज्वलनशील बनाएको थियो, मानौं सानै आगोको झिल्कोले उसलाई जलाउन सकोस् ।
यता कमलाको दाजु धने पनि कम थिएन, पहाड़को पानी पिएको केटो । कतिबेर लाग्छ र वैंशालु केटाकेटीलाई पग्लन, धने आगोको झिल्को झैं भएर प्रियाको सामिप्यतामा प्रवेश गर्यो । आफूहरुबीचको सम्बन्धको दायरा नाघ्दै उनीहरुले खै के के गरे । वैंशालु प्रेममा हुने नहुने सबै कुराहरु भइहाले उनीहरुमा । तर समय उनीहरुको अनुकूलतामा रहेर बग्नसकेन । एक कान, दुई कान, मैदान भनेझैं धने र प्रियाबीचको नाजायज सम्बन्धको हल्लाले पूरा गाउँ पिट्यो। अनि त के रह्यो र ? प्रियाका हजुरबा ठूलाबाजेले भए-नभएको कर्तुत रचेर बलात्कारको अभियोग लगाएर धनेलाई २१ वर्षको जेल चलान गरिदिए । त्यसपछि सिक्किमकै कुनै एउटा दुर्गम गाउँमा कमलाका बा-आमा सुकुम्बासी भएर अझ दरिद्र जीवन बिताउन बाध्य भए । यतिबेला कमला बाह्र वर्षकी थिई ।
घर, जग्गा, जमिन केही नभएपछी गरिबीले त्यो परिवारलाई साह्रै पिर्यो । छोरोको गल्तीले गर्दा आफ्ना नूनका मालिक ठूलाबाजे बेईमान बनेपछि उनीहरुको गाँस टुट्यो । दुई-चार वर्षपछि कमला अलि ठुली भई । साधारण हिसाब-किताब राख्न सक्नेसम्मको सरकारी शिक्षा ग्रहण गरेपछि कमलामाथि परिवार पालन-पोषणको बोझ थपियो । अब उसले नोकरी नगरी भएन ।१६ वर्षको उमेर पुग्दा-नपुग्दा ऊ भारतकै गुजरात नाम गरेको एउटा शहरतिर कामको खोजी गर्दै पुगी । आधुनिकतातर्फ कोल्टो फेर्दै गरेका भारतका यस्ता शहरहरुमा नोकरी सजिलै मिल्दथ्यो । ऊ एउटा होटेलमा भाँडा माझ्ने, टेबुल पुछ्ने अनि ग्राहकलाई सेवा पुर्याउने काम गर्न थाली । त्यहाँबाट जम्मा भएको केही रुपैयाँ ऊ महिनै पिच्छे इमान्दारिताका साथ घर पठाउँथी। यो शहर गुजरात भारतीयका लागि मात्र नभएर धेरै नेपाली र भूटानी शरणार्थीका लागि पनि सजिलो रोजगारको केन्द्र बनेको थियो । थुप्रै भूटानी युवाहरु यहाँका कहलिएका ठूल्ठूला प्राइभेट कलकारखानामा सुरक्षा गार्डको नोकरी गर्न पछिल्ला वर्षहरुमा ताँत लागेका थिए । रोजगारका लागि गुजरात छिरेका यिनै भुटानी युवाहरुमध्येको एउटा केटो हो किरण । ऊ त्यहीँको एउटा प्राइभेट कम्पनीमा रातको ड्युटी गर्थ्यो । रातको निद्रा पचाउन ऊ बारम्बार आफ्नो कार्यक्षेत्र नजिकैको होटेलमा गएर कफी पिउँथ्यो । कफी पिउने क्रममा कमलासँग दिनदिनै उसको भेट भैरहन्थ्यो । एउटै भाषा बोल्ने उसका नेपाली केटाहरु त थिए नै, तर नेपाली बोल्ने केटीहरु नदेख्दा उसलाई संसार लैंगिक असन्तुलनमा फँसेको झैं भान हुन्थ्यो ।
यहीबेला कमलाजस्ती सरल, सुन्दर, अनि कोमल युवती देख्दा उसलाई आफ्नो निम्ति कुनै परपुरुषले स्वर्गकी अप्सरा पठाएझैं लाग्यो । ऊ कमलासँग बोल्न लालायित हुन्थ्यो । आफ्ना अरु गार्ड साथीहरुलाई उछिनेर ऊ कमलालाई आफ्नो प्रेमसम्बन्धमा पार्न सफल भयो । कक्षा १० सम्मको औपचारिक शिक्षा लिएको किरण पनि सुन्दर युवक थियो । होटेलको काममा दिन-रात व्यस्त रहँदा कमलाको पनि नेपाली साथिहरुसँग भेट विरलै हुन्थ्यो । एक्लोपनको महशुस भैरहेको बेला किरणजस्तो सरल र सुन्दर केटोले आफूलाई प्रेमप्रस्ताव राख्दा कमलाले नाइँ भन्न सकिन । दिन बित्यो, रात बित्यो, उनीहरु एकापसमा छुटिननसक्ने भए । उनीहरुको प्रेम अब शरदको जूनझैं दिनदिनै भावनामय बन्दैथ्यो । छुट्टा-छुट्टै कमरामा बेग्ला बेग्लै बस्ननसक्ने भएपछि त्यो जोडीले विवाह गरेर सँगै बस्ने निर्णय गर्यो । नजिकैको एउटा मन्दिरमा गएर तिनीहरुले सुटुक्क सिन्दुर-पोते गरेर विवाहको औपचारिकता पूरा गरे ।
किरण त्यही कम्पनीमा ड्युटी गर्दैथ्यो, कमला पनि होटलमै थिई । किरणका साथीहरुले उसलाई ‘मिस वेटर’ भन्थे, ऊ खुशी हुन्थी । बेलाबेला किरण कमलालाई आफ्नो शरणार्थी शिविरमा भएको घर लिएर आउँथ्यो । कमलालाई शिविरभित्रको किरणको झुप्रो घर रत्तिभर अनौठो लागेन, किनकि उसले बाँचेको परिवेश त्यति धेरै भिन्न थिएन । त्यसैले ऊ किरणसँग त्यही झुप्रोमै भए पनि स्थायी जीवन बिताउन राजी थिई ।
वर्षौं अघिदेखि शरणार्थी छाप्राहरूमा जीवन बिताइरहेका भूटानी शरणार्थीहरुको तेश्रोमुलुक पुनर्वाशको प्रक्रिया शुरु भएपछि यसले धेरै शरणार्थीलाई छोयो । शरणार्थीहरु दुई खेमामा विभाजित भए; एउटा स्वदेशफिर्ती रोज्ने र अर्को पुनर्वाश । छर-छिमेक, आफन्त, साथी-भाइ अनि नातागोता सबैले पुनर्वाश रोजेपछि किरणको परिवार पनि अछूत रहनसकेन । तर कमलाको कारणले त्यो परिवारलाई सङ्कट पर्यो । किनकि उसँग सरणार्थीको परिचय थिएन । आफ्नो श्रीमान शरणार्थी भए पनि कमला पुनर्वाशको लागि योग्य नभएकीले गर्दा किरणलगायत बाँकी परिवार सदस्यको पुनर्वाशप्रक्रिया प्रभावित बन्यो । तर किरणको परिवारमा यो समस्या सजिलैसँग समाधान भयो । किरणलगायत किरणका बा-आमाले अमेरिका पुगेपछि कमलालाई चाँडै नै ‘भिसा’ पठाउने निर्णय गरे । आफ्नो लोग्नेलाई देवताभन्दा धेरै विश्वास गर्ने सोझी कमला, किरणलगायत सासु-ससुराका कुरामा मख्ख परी । अनि त्यसपछि किरणको परिवार पनि पुनर्वाश प्रक्रियामा समावेश भयो । आजभोलि भन्दा-भन्दै पूरा आठ महिना पछि कमलाको लोग्ने किरण आफ्नो परिवारलाई लिएर विदेश उड्यो । कमलाले बिदाइका हातहरु हल्लाई अनि एक्लै रोइरही । तर किरणले दिएका आश्वासनका शब्द शब्द सम्झी उसले अनि आफ्नो फुटेको मनलाई सान्तवना दिदै चित्त बुझाई । उसले दिन गन्दै रही, आफ्नो लोग्नेले कतिबेला अमेरिकाको लागि ‘भिसा’ पठाउला र आफ्नो पुनर्मिलन होला भन्ने आशमा कमला रातका तारा गन्दै टोलाउँ थिई । कैयौं सपनीमा आफ्नो खसमसँग बिताएका ति अनुपम अतीतका क्षणहरु देख्थी अनि साँझैपिच्छे किरणको सम्झनाले उसको सिरानी आँसुले भिज्दथ्यो । आफूले त्यति धेरै विश्वास गरेको अनि त्यति धेरै अनुपम प्रेम भएको लोग्ने एक्लै बाँच्नसक्छ जस्तो लाग्दैनथ्यो उसलाई । महिना बिते, वर्ष बिते तर कमलाको भिसा आएन । शुरुका केही महिनाहरुमा बहुत फोन गर्यो, सम्झना सुनायो अनि खूब माया गरिटोपल्यो तर, बिस्तारै किरणले बिर्संदै गयो कमलालाई अनि बिर्सिदियो त्यो अतीतलाई ।
सम्झनाका तरेलीहरुमा भावविभोर बगिरहेकी कमलालाई अघि बजारतिर सामान किनमेल गर्न गएका साथीहरुले पछाड़िबाट आएर बोलाएपछि ऊ सामान्य हुनखोजी, तर पनि उसले केहीबेर हुँक्क-हुँक्क गरी अनि मोतिझैं आँसुका दाना झर्न दिइरही । उसले नभने पनि उसका मजदुर साथीहरुलाई उसका बारेमा जानकारी थियो, त्यसैले उनीहरुले कमला रोइरहनुको कारण थाहा पाइहाले र उसलाई अतीत नसम्झन भने । साथीहरुको सान्तवनाले आफूलाई केही राहत मिलेजस्तो महसुस भएपछि ऊ बल्ल उठी र ‘ओभरटाइम भ्याउनु छ’, भन्दै बाटो लागी । उसका सखीहरूले कस्तो ओभरटाइम भनेर सोधेनन् |
बिकाशजी,
एक पढ्न लाएक लेख. बदाई छ याहाको कलमलाई!!
नेदरलण्डबाट लक्ष्मी ढकाल