करेसाको आरु र म

रूप पोखरेल
पेन्सिल्भिन्या, अमेरिका

मस्त माघमा
त्यही पनि-
वाइटहल पिट्सबर्गमा
मेरो करेसाको आरुको शरीर
म जन्मँदा जस्तो थिएँ
त्यस्तै त्यस्तै थियो
बेला बेला आरुका नग्न हाँगा सुम्सुम्याएं
बाहिरी त्यो सुकेको झैँ देखिन्थ्यो
भाँच्न खोज्दा सर्माए जस्तो- लुलो थ्यो
फागुन, चैत अनि वैशाख लाग्यो-
आरुका आँतमा खै के के हुँदै थियो
मेरा टाउकामा भने-
केस साठी-चालीस; ढकमक्क थियो
आरुका हाँगाका टुप्पा पोटिला हुन थाले
हेर्दा हेर्दै ढकमक्क- रङ्गिन घुम्टो ओढ्यो आरुले
वा !! माहुरी, भ्रमरा अनि खाले खाले पुतली
झुम्मिन थाले आरुका अङ्ग-अङ्गमा

मैले पनि माघको कपडा खोली दिएँ
आरुले झैँ याम अनुसारको पहिरन फेरेँ
आरुका हाँगा हाँगामा पात आए
आरु वयस्क देखिन्छ- दाना लाग्न थाले
ऐन सामु उभिएर मैले मलाई हेरेँ
अस्ति भन्दा हिजो
हिजो भन्दा आज
साठी-चालीस भन्दा पनि सत्तरी-तीस; भन्नु जस्तो
मेरा टाउकामा कपास थपिँदो छ
थाहै थिएन- आँखा झिम्क्याउँदा
निधारमा दुई-तीन घेरा बसी सकेछन्
निधार बढेर एक पावा चामलको टिका अटाउने भएछ

आरुका दाना बिस्तारै पाक्दै छन्
आरुको बोट फेरि नग्न हुन्छ अनि भरिन्छ
अनि फेरी नग्न हुन्छ भरिन्छ
म ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *