कविता: यदि म चुरोट भएको भए 

विश्वास लामा 
क्यानाडा
म मान्छे भएर जन्मिए
त्यसैले म भित्रको कमजोरी
म भित्रका  बेफाइदाहरू
त्यो देखेर,
आफन्त
साथी सर्कल
प्रेयसी
आदी,
सबै टाढा हुन खोजे
यदि म चुरोट भएको भए
मेरा कमजोरीहरू भए पनि
मेरा बेफाइदाहरू भए पनि
म खतराको सङ्केत भए पनि
मलाई लुकाउनेहरूले
मुटु छेउ नेर जतन गरी लुकाउँथे होला
मलाई सजाउनेहरूले
भित्ताका पोस्टरहरूमा सजाउँथे होला
धनी होस या गरिब
शत्रु होस या मित्र
आफन्त होस या पराई
मलाई
ती मुलायम हातहरूले छोएर
आफ्ना उदास भएका अनुहार नजिक
आफ्ना मुस्कुराई रहेका ओठ सामु
नजिक हुनुको आभास दिलाउँथ्यो होला
म भित्रको पिडालाई सल्काई दिन्थ्यो होला
अनि,
मेरो अहङ्कारलाई माटोमा मिलाई दिन्थ्यो होला
यदि,
म चुरोट भएको भए !

Don't have a Facebook account? Please, use the form below with other options!