कवि यतिराज अजनबी र उनका कविताहरू
शिवलाल दाहाल
केन्टकी, अमेरिका
यतिराज अजनबी कवि, गीतकार र कथाकारका रूपमा परिचित छन् । यद्यपि उनी जति कवि हुन् त्यति अरू होइनन् । त्यसो त सन् २००९ देखि २०१८ सम्मको एक दशक उनी भूट्नीज लिटिरेचर डटकममा सम्पादक (र पाँच वर्ष प्रधान सम्पादक) पनि रहे। एक दशकभन्दा बढी साहित्यिक साधना गरेका अजनबीका थुप्रै कविता Bhutaneseliterature.com मा प्रकाशित छन् । यिनै कविताहरू समेटेर उनले भूगोलविहीन यात्रा कवितासंग्रह तयार गरेका छन् । भूगोलविहीन यात्रा निकट भविष्यमा प्रकाशन होला । अहिलेलाई अजनबीका प्रकाशनमा आएका कविताहरूको केन्द्रीयतामा रहेर केही चिरफार गर्ने जमर्काे गरिन्छ।
भूगोल भन्ने कुरा भौतिक मात्र हुँदैन, मानसिक र भावनात्मक पनि हुन्छ । अजनबीका कविताको भूगाेलविहीनताभित्र त्यही सन्दिग्धता छ । कवि एउटा भूगोलबाट भौतिक रूपमा उखेलिन्छ, अर्को भूगोलमा बास माग्न पुग्छ र अन्ततोगत्वा अर्को एउटा भूगोलमा ठेगान लाग्छ । मातृभूमिबाट विस्थापित भए पनि, कविको मन, भावना र प्रेम त्यही गुमेको माटोप्रति छ । उनका धेरै जस्तो कवितामा असन्तुष्टि छ, पीडा छ तर क्रान्तिकारीता कम देखापर्दछ । विस्थापन हुनुको पीडा र माटोप्रतिको प्रेम प्रदर्शन गरेर उनी न्याय र स्वतन्त्रताकाे याचना गर्दछन् । कविले आफू जन्मेको माटोलाई अस्तित्वको पर्यायको रूपमा स्वीकारेका छन् । पितापूर्खाकाे त्याग र परिश्रमले बनेको भूमिबाट अन्यायपूर्वक धपाइनुले कविको अन्तश्चेतना नराम्राेसँग बिथोलिएको छ, पिरोलिएको छ ।
मेरो लागि
नगर छ
नागरिकता छैन
आकाश छ
पखेटा छैन
पाउ छ
भूगोल छैन
-शरणार्थी
देश खोसिएका मान्छेको पीडा, कहीँ गएर ठेगान लाग्ने बित्तिकै सकिँदैन । भौतिक रूपमा टाढा भएपनि मानसिक रूपमा त्यस देशको, त्यहाँको ढुङ्गामाटाे, पानी, सौन्दर्य र विगतका कर्महरूको स्मृतिले पछ्याइरहेको हुन्छ भन्ने कुरा अजनबीका कविता दर्साउँदछन् । भौतिक स्थानान्तरणले मानिसलाई, कर्म गर्ने थलो र राष्ट्रिय पहिचान पनि प्रदान गर्ला तर विस्थापनले निम्त्याएको मानसिक आघात र अभिघातको निदान हुँदैन बरु त्यसले उसलाई हरेक क्षण पच्छ्याइरहेकाे हुन्छ ।
बारीको काँल्लाबाट
झार चुँडी
माडेर दुई चार थोपा
पिलाइदिन्थिन आमाले,
देशै सिद्ध्याउन आएको
हैजा कुलेलम ठोक्थ्यो
फेरि कहिल्यै नफर्कने गरी ,
खै के थियो के
मेरो सुरेको
कलकलाउँदो वनस्पतिमा
-देश सम्झेर एक साँझ
देशबाट विस्थापित भएपछि परिस्थित बदलिन्छ । उ आफ्नै घर आँगनमा फर्किने मनोकाङ्क्षा राख्छ तर समयले साथ दिँदैन, राष्ट्रिय- अन्नराष्ट्रिय राजनीतिले अर्कै दिशा निर्धारित गरिदिन्छ । ठाउँ ठाउँमा बास माग्दै र बास बस्तै उ सातसमुद्र पारि पुग्छ । सम्झनाका पक्षीहरूमात्र बास फर्किन्छन् वास्तविकताका पर्खालहरू नाघेर ।
साँझ पख
म फर्कन्छु बास माग्न
चराहरू आफ्नै घर फिर्छन् ।
-अनाश्रित
यसरी अजनबीका ‘देश’सँग जोडिएर आएका, जन्मभूमिसँग जोडिएर आएका अनेक कविता छन् । त्यहाँको माटोप्रति, त्यसको गुण र मूल्यप्रति कवि यती श्रद्धानत छन्, के जुन कारण र परिस्थितले उनी भूमिहीन हुनु पर्याे त्यसका कर्ताले उनकाे यो माटाेप्रेमकाे मूल्य गर्लान् कुनै दिन ?
समकालीन समाजको अवस्था, चरित्र र समस्या कविले नजिकबाट नियालेका छन् । गरिबी, विपन्नता र आर्थिक असमानता विश्व मानव समाजका साझा समस्या हुन् ।संसारका लाखाैँ लाख मानिसहरू जीवनका आधारभूत आश्वयकताबाट वञ्चित छन्, गरिबीको दुष्चक्रमा बाँच्न विवश छन् । गरिबी भनेको आर्थिक अभाव मात्रै होइन, आवाजविहीनता, सिमान्तीकारण र निरीहता पनि हो । कविले गरिबीका बारेमा धेरै ठाउँ उल्लेख गरेका छन् । भोकसँग, गरिबीसँग उनी यति नजिक छन् कि उनी स्वयाम त्यसका साक्षी र भोक्ता हुन् । भोक त अशिक्षित छ, बहिरो छ र अन्धो पनि छ – कविको बुझाइ छ । कुनै बोला भोकलाई झुक्याएर बाच्ने मान्छे हुन् अजनबी तर भोकलाई जिन्दगी भर झुक्याएर बाँच्नेहरू पनि त कति छन् कति ।
कहिले कहीँ त
शब्दै ख्वाएर
भोकलाई झुक्याएकाे पनि छु
– (एक-एक) शब्दहरू
कलाचेतना कविताको विशिष्ट गुण हो । कलाले सुसज्जित पार्नु, उजिल्याउनु वा श्रृंगारले परिपूर्ण पार्नु अजनबीको कवितात्मक विशेषता होइन । बरु उनका कवितामा बौद्धिक जिज्ञासा, चिन्तन र तर्क छ । उनी कल्पना र भावुकताभन्दा बढी जीवन, समाज, मानवीय प्रवृत्ति र पाशविकतालाई चित्रण गर्दछन् ।
जुन हातले उनीहरूलाई दाना लडाइन्छ
त्यही हातले उनीहरूको गर्धनमा
तलवार बजारिन्छ
जुन मुखद्वारा झुटो स्नेहले बोलाइन्छ
त्यही मुखले चपाइन्छन् उनीहरू
-अरूको निर्णयमा बाँच्नेहरू
अजनबीका कविताले मानवीय प्रवृत्ति,चारित्रिक विरोधाभास र विसङ्गतिपूर्ण सामाजिक व्यवहारको चित्रण गर्दछन् । मान्छेको मनोविज्ञान बुझिनसक्नु छ । मन बहुरङ्गी छ । त्यही मान्छे काल्पनिक कुरालाई यथार्थीकरण गरेर चलचित्रका अभिनयकर्ता वा उपन्यासका पात्रहरूका दुःखान्त परिघटनाहरूबाट द्रवीभूत बन्दछ । त्यही मान्छे वास्तविक जगतमा अरूका दुःख, पीडा र दर्दहरूमा असम्पृक्त रहिदिन्छ । यो व्यवहारिकता हो कि स्वार्थ प्रेरित मनोविज्ञान । वास्तवमा कृत्रिम जगतमा मान्छे स्वार्थप्ररित हुँदैन त्यसकारण उ बढी सम्वेदित हुन्छ । यथार्थ जगत फरक छ, स्वार्थ प्रेरित छ र लाभ-हानीकाे सिद्धान्तले उत्प्रेरित छ । यो विरोधाभास मानवीय प्रवृत्ति हो, मनोविज्ञान हो ।
कथाको गुमानेको अवस्था
सुनेर रुने श्रोताहरू धेरै छन्
तर गुमानेको कथा सुनेर
गोहीको आँसु झार्ने सम्म कोही छैन,
-अन्तिम कविता
अजनबीका कवितामा थुप्रै किसिकका विरोधाभासहरू छन् । विराेधाभासहरूकाे निर्माण गरेर कविले पाठकहरूलाई त्यसबारेमा गहिरिएर सोच्न लगाउँछन्, त्यसभित्रको रहस्य र मर्म खोतल्न लगाउँदछन् । यी विरोधाभासहरू पढेपछि पाठक एक किसिमले तरङ्गित हुन्छ, झस्किन्छ र सोच्न बाध्य हुन्छ । विराेधाभासहरू प्रकृतिमा छन्, मानवीय प्रवृत्तिमा छन्, लोक व्यवहारमा छन्, सामाजिक व्यवस्थाहरूमा छन् अनि हाम्रा दृष्टि र चिन्तनहरूमा छन् ।
उसको मृत्युदण्डको घोषणा गर्नेहरू
समवेदना पढिरहेछन्
लाग्छ एक गुच्छा फूकोलागि
मात्र हो यो जीवन
-जीवन
अजनबीले कवितामा समयको दिउल छरेको कुरा गरेका छन् । वास्तवमा उनका कवितामा समकालीन समयको दिउल छ, कतिपय युगीन सन्दर्भ र घटनाहरू छन् । ती घटनाहरूसँग जोडिएका कथाहरू छन्, कथाहरूमा मर्म छ, चिन्ता र चासो छ, सरोकार र जिज्ञासा छ । कति कथाहरू निजी छन्, कति सामाजिक र सार्वजनीन । जीवनलाई गणितको समीकरण ठान्ने कवि लेख्ता लेख्ता कहिले कहीँ चुक्छन् र भन्छन् जीवन त अन्तिम परीक्षा रहेछ । जीवन अन्तिम परीक्षा होइन, अनेक परीक्षा हो । कतै सरल होला कतै कठिन । कतै परिणाम निकाल्न सकिने कतै नसकिने । अनि परिणामबाट कहिले आल्हादित हुने कहिले निराश ।
अजनबीका कवितामा विषयवस्तुकाे विविधता छ । पाैढ विचार र शैली छ, समकालीन समय र समाजकाे चित्रण छ । विस्थापनकाे पीडा छ, अस्तित्वहीनताकाे चेतना छ । कतिपय ठाउँमा विदाेह्रत्मकता र जिज्ञासु उत्कण्ठा छ । विसङ्गतिहरूप्रति प्रहार र जीवन मूल्यकाे खाेजी छ ।