कस्तो म
बिहान करिब ५ वजेको रहेछ । निन्द्राले पनि निष्ठुरी प्रेमीले छाडेझैं छोडेर गयो । निदाउँ त अघि नै छोडेर जाने त्यो निन्द्रा देवी पुनः आउन चाहिन । उठौं भने त्यो बिहान ५ वजे उठेर कुनै काम ढाक्नु थिएन, न हलो कोदालो गर्नु थियो । विदाको दिन भन्ने थाहा पाएरै होला उनले छाडेको । आ… एक छिन लडीरहन्छु भन्ने लाग्यो, त्यसैले अर्को पटि फर्केर मोबाइल तानें । भित्तामा शान्ति खल्बल्याउँदै घडीका काँटा छ्याक छ्याक गर्दै उसैको संसारमा रमाइरहेको थियो । बाहिर सुनसान बिहानीलाई जिस्क्याउँदै चराचुरुंगी झक्झकाउँदै थिए प्रकृतिलाई ।
मोबाइल छुने बित्तिकै मेरो औंलाले फेसबुकमा थिच्न पुग्यो । यो फेसबुक पनि कस्तो सँगैकी श्रीमती भन्दा प्यारो । त्यो बिना त समय काट्न पनि गाह्रो । बेला बेला सम्झन्छु; फेसबुक र श्रीमती एक छान् भन्नु भने कुन छान्थे होला ? मनमनै हाँसें ।
फेसबुक नेपालमा गएको भुकम्पका समाचारले भरिएको रहेछ । मानिसको विचल्ली भएको समाचार पढ्नेबित्तिकै शरणार्थी शिविर कहिले आगोको कारण त कहिले बाढीले विचल्ली पारेको अवस्था झलझली आयो । हज़ारौं मानिस हताहत भएको समाचारले मनमा डढेलो लाग्यो। एकै छिन भाव विह्वल भएँ । सँगै पढेको रमेश र मनिकालाई सम्झें । अनि त्यो निष्ठुरी भगवानलाई धनजनको रक्षा गर्न ओछ्यानबाटै प्रार्थना गरें ।
… आज आएर थुक्क हामी मान्छे भन्ने लाग्छ । सहयोगको नाममा आफ्नो स्वार्थ पुरा गर्ने हामी पशुभन्दा फरक रहेनछौं भन्ने महसूस हुन्छ । कसैले पठाएको सहयोग लाचार भएर बाटैमा बेचेर खाने तिनलाई पशुभन्दा पनि पशुको समेत बेइज्जती हुन्छ जस्तो लाग्छ ।
यता एक पोको चाउचाउ र एक बोत्तल पानी बाँडेर दशवटा सेल्फी खिच्दा ती पीडितको मन कति रोयो होला अनि अझै कति रूवाइरहेका छौं होला !
मैले हिँजो आफूले पाएको दुःख सम्झें । अरुले एक मुठी दिँदा पनि एक बोरा दिएको महसूस हुन्थ्यो । ती निस्वार्थी मनहरूलाई आज पनि हृदयदेखि नै सलाम गर्छु । अनि फेरी सम्झन्छु, मरेको लाशसँग त सेल्फी खिच्न पछि नपर्ने हामी मुर्ख मानिस, एक पोको चाउचाउ त्यो पनि कसैले पठाइदिएको अनि आफैंले गरेको भन्न किन नपरोस । पक्कै गरिहाल्छन् तर, यति गर्दैगर्दा उनीहरूको मनमा लाग्ने चोट पनि ख्याल गर्नु उत्तम हो जस्तो लाग्छ मलाई ।
हुन त तैंले के गरिस् र अरूले गरेको कामको रिस गर्छस् भन्ने प्रश्न पनि आउन सक्छ । हिँजो मैले पनि यस्ता पीडा राम्रोसँग भोगेको हुँदा मेरो दक्ष्य अनुसारको कुनै भरपर्दा संस्थामार्फ़त सहयोग गरेकै छु । कुनै तस्वीर नलिँदा सहयोग गरीएको छैन भन्ने अर्थ लाग्छ भने त्यो पनि ठिकै छ ।
मेरो भन्नु यति हो “काम कुरो एकातिर कुम्लो वोकी….” भनेझैं गर्न खोज्छौं हामी मान्छे कहिलेकाहीँ । कतिपय दुःखद समयमा “सेवा नै धर्म…” भन्दै निस्वार्थी भावना प्रकट गर्दा कसो होला भन्ने मात्र हो मेरो आशय । एक रूपयाँको काम गरेर सयजना पत्रकार बोलाई सयथरी कुरा गर्दा मात्र सेवा गरेको महसूस गर्ने राजनीतिज्ञ होस् वा दुईवटा चाउचाउ राखेर ट्रक देखाउने सामाजिक संस्था सबैले बालहठ छाडेर कुनै पनि दुःखमा “भगवान” भएर थोरै नै भए पनि निस्वार्थी भई सेवा दिने हो भने दुखेका मनहरूमा मल्हमपट्टी लाग्छ जस्तो लाग्छ ।
यहाँ कतिपयको मन त पक्कै दुख्छ किनकि मैले सत्यता प्रकट गरेको छु । तर, थोरैको मनमा शान्ति छाउँछ किनकि मैले उनीहरूको भावनाको प्रतिनिधित्व गरेको छु । मेरो यो लेखपछि दुख्ने मनहरूले यो समयमा सही सेवा दिऔं अन्य त सबै ठिकै छँदैछ । “यो बेला मिडिया र सामाजिक सञ्जालको चर्चामा भन्दा पनि पीडितको मनमा छाउने बेला हो ।