कहाँ छ त्यस्तो देश
डिल्लीराम शर्मा आचार्य
क्रागेरो, नर्वे
कहाँ छ त्यस्तो देश जहाँ म पुग्न सकौं
भूटानको छोरो हूँ म खुलेर भन्न सकौं
छातीभरि गुम्सिएका यी पीडाहरुलाई
छाती चिरेर अरुका सामु खोल्न सकौं ।
रमाइलो मात्र छैन यो संसार
विशाल दुःखका गर्तहरु पनि हुन सक्छन्
तर ती विघ्नबाधाहरुलाई पन्छाउँदै
सफलतापूर्वक मभित्र छिर्न सकौं ।
विघ्नबा धा र अड्चनहरुले मात्र भरिएको छ
भन्ने पनि किमार्थ हैन यो संसार
सुख ऐवर्यहरु पनि उत्तिकै नभएका हैनन्
भन्ने कुरामात्र भए पनि यसलाई राम्ररी बुझ्न सकौं ।
देशै नभएकाहरुको दर्जामा राखिए पनि
दाताहरुले हात थापेको छ हाम्रा निम्ति
कसै,कसैलाई स्वीकार्य नहुन सक्ला तर
सामान्य रुपमा यसलाई चिन्न सकौं ।
मरेकाहरु स्वर्ग गए होलान्
बाँचेकाहरुलाई कति आशै-आशा होला
जन्मिने शिशुले त्यही भविष्यलाई नअँगालोस्
भन्ने कुरा पनि अब हामीले जान्न सकौँ ।
चिहान खोतल्दा हाड नभेटिनु दुर्भाग्य नै भए पनि
मस्तिष्क खोदले भावनाहरु त पक्कै हुनसक्छन्
तिनै भावनाभित्रभित्र अरु पनि छन्
भन्ने कुरा राम्ररी जान्न सकौं ।
आधार विनाको निराधार जस्तो छैन जीवन
जो ज्योतिषीले लेखेको भाग्य अनि
झाँक्रीले देखेको जोखाना मात्र होस्
अनि जूनले ल्याएको चाँदनी रात
र, उदाउँदो सूर्य
दुवैको कति महत्व छ
भन्ने कुरा पनि नबिर्सिन सकौं ।
अब स्वप्नाका प्रियसीहरु मात्र छैनन् यहाँ
विपनामै बगैँचा घुमाउनेहरु अनगिन्ती भेटिन सक्छन्
तिनीहरुको महत्व कति छ यो दुनियामा
त्यसलाई राम्ररी जोख्न सकौं ।
यो कलमलाई कसैले बन्दुक बनउन सक्छ
तर बन्दूकलाई कसैले कलम बनाउन सक्तैन
पशुलाई मान्छे बराबरी बनाउन सक्नेहरुका अघि
मान्छेलाई पशु बराबर बनाउन सक्छन् भन्ने पनि बुझ्न सकौं ।।