कार्गो

यतिराज अजनवी
अष्ट्रेलिया

एक बेला यो कार्गो पनि
कुनै देशको नागरिक थियो
बनाइयो त्यसलाई शरणार्थी
र ट्रकमा कोचेर ल्याइयो अर्कै देश

कुनै समय यो कार्गो
शरणार्थी भए पनि मान्छे थियो
झिकियो त्यसको मुटु
निचोरियो त्यसका धमनीबाट रगत
र बनाइयो त्यसलाई आज्ञापालक रोबट
ल्याइयो अनि कार्गो बनाएर त्यसलाई
जहाँ छ त्यो अहिले बाँचेको
संवेदनाशून्य दीर्घ जीवन

अलजाँइमर रोगीले झैँ
त्यसले अतीत बिर्सँदै गएको छ
घामको न्यानो, पानीको रुझाइ
अनि बतासको स्पर्शले नछोइने भएको छ
त्यसले देख्न छाडेको छ आकाश
टेक्न छाडेको छ धर्ती

त्यसलाई यहाँसम्म ल्याइँदाको इतिहास लामो छ
कहाँ, कहिले, कसरी, कति अवधिमा
कस्तो-कस्तो सामग्रीको प्रयोगद्वारा
त्यो उत्पादित भयो
त्यसमा परिपालक पदार्थहरूको
प्रयोग गरिएको छ-छैन
त्यो सबै खाले मौसम थेग्न सक्ने
लचिलो र टिकाउ छ कि छैन
जस्ता कुराहरूको सूक्ष्म अध्ययन गरेर
त्यसको खरिददारले त्यसको उत्पादनसम्बन्धी
इतिहासमा विद्यावारिधि गर्‍यो

यहाँसम्म आइपुग्दा त्यो कार्गो
स्क्यानरहरूबाट पटक-पटक गुज्रिएको छ
कैयौँ चोटि कुकुर सुँघाइएको छ त्यसलाई
जाँच-पडताल गरिएको छ त्यसको
अनेक ट्रान्जिट र टर्मिनलहरूमा

कहाँबाट कसले कहाँ चलाउँछ
कार्गो उत्पादन गर्ने कारखाना
त्यसले आफू कार्गो बनाइएपछि
थाह पाएको हो

अष्ट्रालियन लाइभस्टकको
लाइभ एक्सपोर्टको माग बढ्दो छ
जिउँदै कन्टेनरमा हालेर
इजरायल, कतार, साउदी अरबतिर
निर्यात गरिने पशु र त्यो कार्गोमा
मात्र दुइटा खुट्टाको अन्तर छ

जबसम्म प्रत्येक राष्ट्र आत्मनिर्भर बन्दैन,
प्रत्येक नागरिक स्वावलम्बी हुँदैन
र देख्छ उसले विदेशमा विलास
तर देख्दैन जिउँदा लास
तबसम्म चलिरहने छ
मानव कार्गो उत्पादन
र त्यसको कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *