किरा
राजा पुनियानी
सुकुना, दार्जीलिङ
मेरो टाउकोदेखि पैतालासम्म
चल्मलाइरहन्छ
एउटा किरा
अजनबी किरा !
घरि साथीजस्तो
घरि दुश्मनजस्तो
यो किरा मभित्रै छ
र पनि म मभित्र केही पनि नभएको
अभिनय गरिहिँड़्छु ।
म जे हुँ
मै हुँ भन्छु-
तर म मबाहेक पनि धेरै-धेरै थोक
अरू नै केही हुँ
-यो कसले खोज्ला
कसेल लेख्ला-
चिन्ता लागिरहन्छ
चिन्ता लागेपछि कि चुरोट तान्छु
कि चिया खान्छु
कि अल्छी मानिरहन्छु-
यस्तै बेलामा उपभोक्तावादी विज्ञापनको हल्लाले
मेरो चिन्तालाई कुण्ठामा फेरिदिँदै गर्छ-
पुरातत्त्वविद् डा. थापाले कालेबुङको इतिहास पछिल्तिर तन्क्याएर
साढे चार हजार वर्षमा पुराइन्
समयको त्यो प्रस्थानविन्दुसम्म पुगेर
मभित्रको किरा
खेतीपातीको गीत गाउँछ
प्रकृतिको कविता भन्छ
जादूको चटक देखाउँछ-
र मसम्मै आइपुग्छ कुद्दैकुद्दै
फेरि म बाँचेको यो समयको भूभागमै उभिएर
इतिहास बिर्सिने सल्लाह दिन्छ-
लगभग एउटा भैंचालो नै जान्छ
जब यस किराले जोड़जोड़ले भन्छ, भनिरहन्छ-
तेरो घर तासको घर हो !
हामीले निक्कै घमण्ड गरेर ठड़्याएको
सधैँ नयाँ रहिरहन खोज्ने सभ्यताको देवल
समय बित्दैपछि पुरानो भई त हाल्छ-
-त्यही देवलमा लश्कर लागेर कता गएका हुन् कुन्नि
आदिम किराहरू
-बेलुनझैँ फैलिरहेको ब्रह्माण्डजस्तै
यो हिँड़ाइको कुनै स्थिर लक्ष्य छैन
त्यसैले यी किराहरूको
नाम, परिचय र चरित्र पनि स्थिर छैनन्-
संस्कृतिको थोत्रो शरीरभरि
लुतो लागेको देखेर
मभित्रको किरा अझ सल्याङमल्याङ गर्छ
वाकवाकी चल्यो भन्छ
रिङ्गटा चल्यो भन्छ-
यत्तिखेर म सबभन्दा बढ़ी तर्सिरहेको छु
आफ्नै छायाँदेखि
-कि समयको अँध्यारो खण्डमा
सबैभन्दा पहिला साथ छाड़्ने त
यही छायाँ हुन्छ-
किराबाट कुन्नि के हुन खोजिरहेको हामी
किरा थियौं
यत्ति-यत्ति शताब्दीका गल्लीगल्छेंड़ी हिँड़ेर पनि
किरा नै त रह्यौं –
मभित्रको अजनबी किराले
मलाई कहिल्यै
खोलेर आफ्नो इतिहास भन्दैन
भनेको छैन ।
म चाहिँ उसलाई हेर्दै उसको इतिहास लेख्छु
लेखिबस्छु उसैले नबुझ्ने भाषामा
-यो कविता पनि त्यही इतिहास लेखनको एउटा पाठ हो
-जसलाई तपाईंले कि त पढ़ेर कि सुनेर
कि पढ़्दै नपढ़ेर वा सुन्दै नसुनेर
किराको इतिहास आत्मस्थ गर्नुहुँदैछ !