कुसुम

हरि प्रसाद फुयाल
फिली पि ए

(मालिनी छन्द)
मन पुलकित भैगो वाग सान्निध्य पुग्दा
वरिपरि सब देखें फूलका दिव्य गुच्छा ।
मगमग मृदु वास्ना वायुले चट्ट बोकी
भुवनभर फिंजायो दु:ख कारुण्य मेटी ।।
।।१।।
वन भरि त्यसरीनै जाई वेली चमेली
कमल मखमलीको सान बेग्लैछ खेली ।
वरिपरि सयपत्री फूल फुल्छन् मजाले
मधुर कुसुम छायो दिव्य आनन्दताले ।।
।।२।।
कुसुमित अब वास्ना मन भरीनै पलाऊन्
मन मगमग बन्दै हर्ष आनन्द छाऊन् ।
ढकमक अतिराम्रा भावना फैलिजाऊन्
मनहर शुभ राम्रा कीर्ति चम्केर आऊन् ।।
।।३।।
मन र तन दुबैमा शान्ति मिल्ने उपाय
कुसुमित मन पारौं यै छ राम्रो उपाय
असल मन भएमा मालती भित्र फुल्छिन्
नवरस लतिकाझैं काव्यमा झुल्न पुग्छिन् ।।
।।४।।
तब मनुज खुसीले विश्वमा रम्न थाल्छन्
कलुषित मनलाई भावनाले पखाल्छन् ।
तँ तँ म म भनि हिड्ने जोसमा होस भर्छन्
जगत भर दयाको श्रोत नै बन्न पुग्छन् ।।
।।५।।
मद छ जति बढेको झट्ट गर्दिन्छ नाश
मनुज भनि चिनाई ज्ञान भर्दिन्छ खास ।
पुलकित मनपारी दिव्य आनन्द भर्छ ।
सकल जनममा नै साम्यता भाव छर्छ ।

One Reply to “कुसुम”

Leave a Reply

Your email address will not be published. Required fields are marked *