कृति र पुरस्कार

कथाकार
कथाकार

सुबिसुधा आचार्य
मेरिल्याण्ड,अमेरिका 

काठमाडौंको भब्य होटलमा बिमोचित हुँदै थिए दुई कृति । अखबारमा छापिएको न्यूज हेरेरै रामहरि पुग्यो कार्यक्रममा ।  पास चाहिने रै’छ भित्र पस्न पनि, थाहा पायो गेटपालेले बाहिर धकेलेपछि  । जारी थियो मान्छेहरु भित्रने क्रम । पत्रकारको छेको लागेर भित्रियो सुटुक्क उ पनि ।

खचाखच थियो हल आगन्तुकहरुले । ड्यासमा बसेका थिए खुट्टा हल्लाउँदै केही महोदय ।  स्रष्टा, समीक्षक, अतिथि होलान्शायद । उद्घोषक बोलिरह्यो ठुटे कपाल हल्लाउँदै । किताब बिमोचित गरियो त्यही ड्यासमा बस्नेहरुको हातबाट । स्रष्टाहरुलाई नियाल्यो रामहरिले । नाम सम्झने प्रयास गर्‍यो दिमाग घुमाउँदै । खोतल्यो दिलको सतह खूव गहिराइसम्म । नाम सुनेका, अनुहार देखेका स्रष्टा बिल्कुल थिएनन् उनीहरु ।

समीक्षकले आँखीभौँ उचाल्दै ठोकुवा गरे कितावको बारेमा । आजसम्म यस्ता सृजनाका किताव बजारमा आएकै छैन् । धेरै नाम चलेका साहित्यकारको सृजना पनि अपुरा होलान् तर, यो किताव नितान्त पृथक, रसमय, सुगन्धित आदि आदि ।

अगाडि समीक्षा भइरहँदा सबैको हातमा पुर्‍याइयो किताव । पत्रकारको छेवैमा बसेको कारण एउटा किताव भेट्यो रामहरीले पनि । शुरुकै कबिताले छोएन पटक्कै उसलाई । एउटा कबिता पनि पढी नभ्याउँदै आयो हाइहाई । बन्द गर्‍यो कबिताको किताव । मिठाइको पोका पास हुँदै आयो उ सम्म पनि ।

डिब्बा हातमा मुठ्याएर सुनिरह्यो बक्ताले बोलेको । अगाडि बोल्नेको आवाजलाई धमिलो बनाउँदै साइडमा खासखुस चल्न थाल्यो कितावको बारेमा । रचना झूर भए पनि मिठाइ भने छ है साथी हो दम्दार । एउटाले आँखा झिम्काउँदै खोक्यो । “यो लेखक मोरो लेखेर ठूलो बनेको हो र पैसाले पो हो त“,पैसाले पनि बन्दा रै‘छन् साहित्यकार ! अर्कोले फेरि खुस्खुसायो यता-उता हेर्दै । त्यतिकैमा राष्ट्रियस्तरको पुरस्कारको घोषण गर्‍यो एउटाले ।

कार्यक्रम सकियो । डिनरको व्यवस्था पनि छ, नजानु होला-उद्घोषक फर्फरायो माइकबाटै । सबै पालैपालो लागे डाइनिंग रुमतिर । जसलाई जस्तो मनलाग्यो खानसक्ने थियो व्यवस्था । धेरै त जलपान पिउनमै व्यस्त । लेखक पनि खन्याउँदै थियो गिलास माथि गिलास ।  पत्रकार पनि थिए व्यस्त पिउनमै । एउटा पत्रकारको नजिकै आएर अतिथिले सुटुक्क कानैमा मुख जोतेर भन्यो, यो लेखकले त्यो कबिता लेखेको कहाँ हो र, यो त मैले लेखिदिएको हो निः । आफूलाई पैसो चाहिएको- उसलाई नाम । बेचिदिएँ एक लाखमा । खितिति हास्यो ह्विस्कीको तालमा । पुरस्कारको घोषणा गर्ने व्यक्तिको पछाडि लुकेर लेखक स्वयं गफमा फ्याँक्कियो नशाको सूरमा । त्यो मोराले त्यत्रो पुरस्कार त्यसैमलाई दिने उद्घोष गरेको हो र ? सालेलाई डेढ लाख दिएको छु मैले । जो सँग कुरा गरिरहेको थियो ऊ मुसुमुसु हाँस्यो र ह्विस्कीको घुट्को निल्यो घुटुक्क !

One Reply to “कृति र पुरस्कार”

Leave a Reply

Your email address will not be published. Required fields are marked *