के सोच्दै होला?
यतिराज अजनवी
अष्ट्रेलिया
कसले भन्छ र सोध्नु?
बस् एक्लै सोच्छु र सोध्छु आफैँलाई—
हरियो मैदानमा चरिरहेको
आफूभन्दा हजारौं गुना ठूलो
हात्तीको डँडाल्नोमा बसेको
चराले के सोच्दै होला?
कुनै निर्जन जङ्गलको पोखरीमा
पानी चाटिरहेको बेला
जूनको प्रकाशमा प्रदीप्त
आफ्नो अनुहार हेरेर
प्रमोदित भएको बाघले
के सोच्दै होला?
सोच्दिनँ त्यो हात्तीले के सोच्दै होला
त्यसले त घाँस चपाइरहेको छ
गर्न केही हुनेले केही सोच्दैन
सोच्दिनँ त्यो पोखरीले के सोच्दै होला
आकाशबाट झारेर उसले त
आफूभन्दा खरबौं बढता विशाल जूनलाई
उसको छातीमा अटाइरहेको छ
केही गर्नेले केही सोच्दैन
सोच्ने त लगातार लण्ठिने
म जस्तो लफङ्गो अनि
बकम्फुस कविले हो
जो सोच्छ—
हिजोआज यस्तो भइदिए हुन्थ्यो
घाटसम्म लासहरू आफैँ गइदिए हुन्थ्यो
सोच्दासोच्दै जो
केही बेरमा फेरि सोध्छ आफैँलाई—
प्रवेशाज्ञा नभएकालाई
देशमा पस्न नदिने सरकारले
बिनाभिसा प्रवेश गरेको
कोरोनाको बारेमा के सोच्दै होला?
यौटा सानो अपराध गर्ने मान्छेलाई
जन्म कैद घोषणा गर्ने न्यायाधीशले
१/२ वर्षमै लाखौँ मान्छेको हत्या
गरिसकेको ज्यानमारालाई दिन
कस्तो दण्ड सोच्दै होला?