कोरोना कहर

खेम खनाल
अमेरिका

 धनवीर सधैँ झैँ आफ्नो दैनिकीमा निस्कन्छ । चकलेट फ्याक्ट्रीको निक्कै व्यस्त कम्पनीमा काम गर्छ । दिन रात कम्पनी सञ्चालन भई रहन्छ । यो वैष्टन न्यूयोर्कको निक्कै प्रसिद्ध कम्पनी हो । हरेक दिन दिउँसो काम गर्ने साथीको काम समाउन पुग्नु पर्छ । बाटो निक्कै भिड भएकाले हाजिरी गर्ने समयमा मात्र काममा पुग्छ ।

 हतार -हतार गाडी पार्कमा राखेर मास्क र हातमा पन्जा लगाउन थाल्छ । दौडेर कम्पनी भित्र पस्छ र गलामा झुन्ड्याएको व्याज (Badge) निकालेर हाजिर हुन्छ । कतै नहेरी सिधै काम गर्ने ठाउँतिर जान्छ “आज किन यति ढिलो?” कतैबाट आवाज आउँछ ।निर्जवाफ काममा व्यस्त रहेको आभास गर्छ । कसैसँग केही बोल्ने साहस सम्म गर्दैन । पर्यवेक्षक (Supervisor) ले पनि यही प्रश्न गर्ला भनेर झस्कँदै काममा तल्लीन रहने प्रयत्न गर्छ । ढिला भएकै कारण कामबाट निकाल्ने हो कि ? बोलाएर केही सोध्ने पो हो कि ? मन मनै यस्ता अनेकौँ प्रश्नहरू खेल्न थाल्छन् साथीहरूले आफैँलाई हेरेर मुखामुख गरे झैँ लाग्छ । कसैसँग बोल्ने साहस गर्दैन , आफू लज्जित भएको अनुभूति बढ्छ ।

सधैँ जस्तो वातावरण लाग्दैन । काम गर्ने उत्साह छैन , मेलो चले जस्तो पनि लाग्दैन । कता -कता जिउ दुखेर थकित भए जस्तो लाग्छ । आफूमा कत्ति पनि जाँगर थिएन , तै पनि काम गर्ने प्रयास गर्छ । यत्तिकैमा विश्रामको घण्टी बज्छ ।

साथीहरू खाजा कोठातिर लाग्छन् । धनवीर पनि त्रसित मुद्रामा फटाफट खाजा कोठाको एउटा कुनामा बसेर खाजा खाने कोसिस गर्छ तर पटक्कै रुच्दैन । हट्केश बन्द गरेर मनमनै के के सोच्न थाल्छ , घण्टिक भरमा जिन्दगी चलाउनु पर्छ ? छातीभरि कुरा खेलाउँदै फेरि काममा फर्कन्छ । काम सुरु गर्नासाथ साथीले प्रश्न गर्छ “तपाईँ बिरामी हुनुहुन्छ ?” धनवीर अकल्मन्द हुन्छ , आज थकित मुद्रामा देखिनु हुन्छ त ? इसारामा उत्तर आउँछ ‘हो’।

“ के भयो ?” प्रश्न माथि प्रश्न थपिन्छ ,रुग्ण आवाजमा भन्छ “जीउ दुखेर ज्वरो आउला जस्तो भो ।” त्यति बेर सम्ममा उसलाई काम गर्ने लुर हराइसकेको थियो । घरी -घरी उभिनै नसके झैँ लाग्छ , तै पनि मनोबल बढाउने प्रयत्न गर्छ । यत्तिकैमा धनवीर सोच्न थाल्छ , घरको मोर्गेज, ग्यास , बिजुली सबै विल तिर्नु पर्छ। परिवार धान्ने यही एउटा जागिर छ कथन कदाचित जागिर गई हाल्यो भने छोरा छोरीका मुखमा जालो लाग्छ । बिचैबाट चटक्कै छाडेर जान पनि कसरी ?

ज्वरोले अझै चाप्न थाल्छ । तै पनि साहस बटुल्ने प्रयास गर्छ , तर केही पार लाग्दैन ।

 भित्तामा झुन्ड्याइएका घडीका काँटा मन्द भए जस्तो लाग्छ । अर्ध चेत अवस्थामा पर्यवेक्षक (सुपरभाइजर) लाई ज्वरो आएको जानकारी दिएर धर्खराउँदै गाडी पार्किङमा पुग्छ । गाडी स्टाट गरेर केही बेर त्यहीँ अडिन्छ । जीउ पुरै शिथिल भएकाले गाडी गुडाउने आँट आउँदैन , तर के गर्ने ? रातको दश बजी सकेको हुन्छ , माघको बेला बाहिर फुस-फुस हिउँ परेकाले निक्कै चिसो बढेको थियो । जसोतसो गाडी लिएर बाटामा निस्कन्छ । हिउँको फोहोरा झरेर केही देखिँदैन । निस्पट्ट अँध्यारोमा तलमाथि गर्दै गाडी गुडाउँछ । एकातिर गाडी ठोकिने डर अर्कातिर ज्वरोले अर्धबेहोस , घरी-घरी त गाडी कता जाँदै छ पत्तै हुँदैन । त्रासादि पूर्ण घर आइपुग्छ । बाहिर गाडी अड्याएर दैलामा घण्टी लगाउन पुग्छ । घण्टिक आवाजले सबै झस्किन्छन् । “मान्छे नहेरी दैलो नखोल है” भित्रबाट आवाज आउँछ । केटाकेटीहरू दैला सम्म जाने साहस गर्दैनन् । हस्याङ फस्याङ गर्दै श्रीमती दैला नेर आउँदा नआउँदै बाहिरबाट आवाज आउँछ । “म हो । दैलो खोल न ।” हिउँले भरिएर धनवीरको लुगाभरि सेताम्मे देखिन्छ । आज किन यति छिटै ? विन्दा झस्किँदै दैलो खोल्छिन् । उत्तरमा “सन्चो भएन”। सबै असमञ्जसमा पर्छन् । कसैले बोल्ने आँट गरेनन् । केही साहस बटुलेर धनवीर जुत्ता खोल्न लागेका के थिए । यत्तिकैमा सानी छोरी सन्ध्या छेउमा आएर भन्छिन् । बाबा किन भिज्नु भएको ? स्तब्ध मुद्रामा ‘बाहिर हिउँ आएको छ’। चिसा लुगा कुनामा थुपारेर धनवीर सिधै सुत्ने कोठामा पुग्छ । थर -थर काम्दै ओछ्यानमा पल्टिएको देखेर अत्तालिँदै प्रश्न गर्छन् । “बाबा- – – के भयो ?  भन्नु होस् ।” विन्दा अत्तालिँदै ग्लासमा तातो पानी लिएर आउँछे ,तर धनवीरको पानी समाएर पिउने हविगत थिएन । बाबुको यो हालत देखेर सबै बेहोस हुन्छन् केही धर्यता बटुलेर छोरा धिरजले ९११ मा फोन गरेर स्वास्थ्य विभागको एम्बुलेन्स गाडी बोलाउँछन् ।

केही बेर पछि मास्क, पन्जा र ग्राउन्ड लगाएका स्वास्थ्य कर्मचारीहरू आएर बिरामीको छेउमा नआउने सङ्केत गर्छन् । परिवार अझै त्रसित बन्छन् । घरमा सबैलाई मार्क्स लगाएर बस्ने आदेश गर्छन् । अकसमात सबैका आँखामा आँसु भरियए । बाबु धनवीरलाई गाडीमा राखेर कता लगियो केही थाहा भएन ।

यता विन्दा र छोरो धिरजलाई पनि रातीदेखि ज्वरो आएर सिकिस्त पाऱ्यो । तर के गर्ने ? मनमा यति ठुलो विस्मात बोकेर कोही निदाउने आँट गरेनन् । भोलि पल्ट अकस्मात् फोन आउँछ । ‘धनवीरलाई कोरोनाका कारण निमोनियाँ भएको रहेछ’। ‘स्वस प्रश्वासमा असर देखिएकाले भेन्टिलेटर मा राखिएको छ ’।‘ सबैले कोरोना चेक गराउनु ’ ‘यहाँ कोही आउन मिल्दैन ’। फोन राख्ने बित्तिकै कोरोना चेक गराउन जान्छन् । आफूदेखि सबै तर्किएको देखेर निराश र हताश देखिन्छन् । तर कसले के गर्ने ? घरमा पुरै शून्यता छायो ।छरछिमेकहरू कोही आउँदैनन् , आउन् पनि कसरी ? चिन्तै चिन्ताले भरिएको परिवार भाव विह्वल भएका छन् । आफ्नो भन्दा पनि बडी बाबुको चिन्ता छ । छोराछोरीलाई बाबुको मुख हेर्ने मन छ , भेट्ने आशा छ तर मिल्दैन । भगवान् भरोसा । अलिकति धर्यता बटुलेर घरेलु उपचारमा लाग्छन् । धिरजले कति चोटि स्वास्थ्य चौकीमा फोन गर्छन् तर सम्पर्क हुन सक्दैन । एकैचोटी तीन दिनपछि मोवायलको घण्टी बज्छ । धिरज थर-थर हात कमाउँदै फोन उठाउँछ । सबैलाई कोरोना पोजेटिभ भएको जानकारी आउँछ । सतर्क रहन र नआत्तिन आदेश दिन्छन्। परिवारमा अझै सन्त्रास थपिन्छ । स्वास्थ्य विभागले नआत्तिन भने पनि दिनहुँ हजारौँ हजार मानिसहरूको मृत्यु भइरहेका बेला कसरी मन समालिने र ! जति धैर्य गर्न खोज्यो उति हृदय चर्कन्छ । यो बेला कतैबाट सान्त्वना मिल्दैन । घरमा कोही आफन्त सम्म आउँदैनन् ।

 रात नपर्दै फेरि कल आउँछ । बिहान झैँ धिरज डराउँदै फोन उठाउँछ । “धिरज हो ?”  उत्तरमा “हो ।” म धनवीरको डाक्टर हो ‘ यो भनाइमा न कुनै साहस थियो न सुधारतको सन्देश, थियो त केवल स्थितिको सामना गर्ने प्रयास । डाक्टरले सम्झाउँदै भन्छन् , “हाम्रो हर प्रयास भए पनि निमोनियाँले फोक्सो र श्वास नली खराब भएका कारण तिम्रो बाबु धनवीरलाई बँचाउन सकिएन ।ऐले तीन तिस बजे निधन भएको छ।”  सबै स्तब्ध हुन्छन् ।धाति न गुहारी कसैको केही लाग्दैन । आखिर दैवको बज्र खसेरै छाड्यो , कसैको बोल्ने साहस देखिँदैन केही बेर पछि फोन आफैँ काटिन्छ । बिरामी भएकै दिनदेखि परिवारमा कसैले मुख सम्म देख्न पाएनन् । यस्तै थियो कोरोना कहर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *