क्षय
रूप पोखरेल
पिट्सबर्ग, अमेरिका
‘हिजो’- मरिसक्यो !
घोर निद्रिल दुनियाँमा
स्मृतिका पाना ओढेर
थोरै स्मरणयोग्य
धेरै बिर्सन योग्य याद रोपेर
इतिहासरूपी छोपो ओढिसक्यो ।
‘आज’- बिरामी छ !
अनिकालले ग्रस्त छ
मजेरीमा मानसिक तनाव अनसन बसेको छ,
बहुसङ्ख्यक आँखामा निन्द्रा रमाउँदैन !
स्लिपिंग ट्याव्लेट अमृत भएको छ,
बबुरो ‘आज’ अर्धमरो बाँचेरै
घडीका काँटातिर टुलुटुलु हेर्छ,
मृत्युशैयाबाटै
नयाँ हिरोसिमा नागासाकी पुनरावृत्तिको
कल्पनामा तल्लीन विश्वलाई
मायावी बाटो नरोज्न
खबरदारीस्वरूप
अन्तिम शंखघोष गर्दै-
बुद्ध भई लुम्बिनी सम्झन्छ
कृष्ण भई द्वारिका सम्झन्छ
मोहम्मद भई मक्का-मदीना सम्झन्छ
इशु भई जेरूसेलम सम्झन्छ,
होडबाजी,अहमता,अविश्वास र बेइमानीरुपी
जञ्जीरले कसेको माखे साङ्लाले
मानव सभ्यताका गलामा
पासो लागेको टुलुटुलु हेरिरहेछ ।
‘भोलि’- गर्भैमा ऋणको थैलो भिरेर
अन्धकार मरुभूमिमा पैदा हुन
प्रसूति-पीड़ामा छट्पटाइरहेछ,
अहमता, त्रास, मपाँइत्व -आधुनिक त्रिदेव !
तमाम निमुखा आत्मालाई
सङ्कटको प्रत्यक्षदर्शी भई उभिन
मिसायलको रिमोट टेबुलमा सजाएर
‘भोलि’को स्वागत गर्न आतुर छन् ।
आधा बाँचेर निमुखा आत्माहरू
न समुद्रमा लुक्न सक्छन्,
या आकाश गङ्गामा खोपो निर्माण गरेर
वायु पिएर बाँच्न समर्थ छन्,
समूल क्षय, मायावी बलवानहरूको
शिलाक्षरै भइसक्यो ।