खइ के नै गर्‍यौ र…!

भक्त घिमिरे / अमेरिका

खइ…आफैंलाई बड़प्पनको
खास्टो ओड़ाएर लज्जाजनक
दुई शब्दहार अलाप्दै
पश्चातापको गीत गाउँदा,
बिरे, धने र कमला-बिमलालाई
तिम्रो आशयबाट के राहत होला र…?
अतीत…?
अतीत सम्झनामा, भविष्य कल्पनामा र
वर्तमान योजनामा छ…
अतीतबिना न वर्तमान छ
न त वर्तमानबिना भविष्य…
न नै भविष्यरहित वर्तमान र अतीतको
कुनै नामो-निशान सम्भव छ !
ए…अस्तिकै पाटोमा जीवनको गति
बिसर्जन भएको बुझ्नेहरू…
गर्न त के नै सक्यौ र तिमीले पनि
दोष पन्साउँदै श्रेय हसुर्नबाहेक,
कुन चट्टान फोर्‍यौ र तिमीले,
आकाश कुनचाहिं उचाल्यौ ?
के नै उखेल्यौ र तिमीले,
मरेको बाघको जुँगाबाहेक !
नवसिर्जनाको बहानामा
कागजका महल र
अक्षरका बाघहरू बनायौ,
भावनामा मानवता र परोपकारका
महासागरहरू धेरै बगायौ,
कागजकै तराजू र ढक बनायौ,
न्याय, इमान र दासता जोख्ने पल्ला
कागजकै खोस्टामा देख्यौ शायद !
त्यसैले त आफ्नै आत्मा लेख्यौ,
हृदयको ग्लानिपूर्ण स्पन्दन पोख्यौ आज,
लज्जाको झलकसहित पश्चातापभरि
र,
लायौ दोष त्यो अमूर्त मानव आकृतिलाई…
छाति छामेर विचार गर न…
आफूले निः
मान्छेलाई कति घोड़ा बनायौ,
आस्थाहरू जलाएर महल सजायौ,
न्यायको तराजु पनि कागजमै बनायौ,
तर व्यवहारमा… !
लाछी र कायर बनी
इतिहास सधैंलाई धमिलो बनायौ ।
दायित्वबाट पलायन भई
सन्तानलाई गाली गरायौ…
पौरखी हातहरू सधैंलाई
धातुका यन्त्रझैं बनायौ ।
अब यी हातहरू जहिल्यै,
जुनसुकै हालतमा,
चल्छन् साहुका लागि,
तिम्रा उनका र हाम्रा हातहरू
अब त चल्दैनन् शायद कहिल्यै,
आफ्नो पसिनाको भाउका लागि !
अझै तिमी इमानको रित्तो डोको बोक्दैछौ ?
किन बोक्छौ यो थोत्रे डोको
भो ! राख अब र लाग…
हत्केलामा ठेला उठाउन…
इतिहासले नासो छोड़ेको
अन्याय र दासताको चट्टानमाथि
मार हतियारका मारहरू,
मेहनती हातहरूले
फाँड़ सबै समस्याका जड़हरू…
त्यसरी नै तिमी जाग अब उठ,
उचाल सूर्य नयाँ बिहानीको
तब,
छाउनेछ प्रकाश सर्वत्र,
हुनेछ सिद्धि पुर्खेली वीरताको,
भन्नेछन् पुर्खाले…,
इतिहासको चिहानबाट सोझै उठेर,
बल्ल त तिमीले ऐतिहासिक
वीरताको ‘जात जनायौ’,
नवयुगको जग बसाल्यौ…
नयाँ बिहानीको ढोका खुलायौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *