खरायोको चिठ्ठी सिंहलाई
देवी पोखरेल
एड्लेड, अष्ट्रलिया
ए! सिंह
म त्यही खरायो हुँ
जो कालान्तरदेखि
तेरो जंगलमा बसेको छैन
अर्कै स्वर्गरूपी जंगलमा
आनन्दपूर्वक जीवन जीईरहेकोछु
सबै जनावरहरुलाई
मेरो सम्झना तथा दीर्घायूको कामना।
यहाँ त सिंह पनि छ
बाघ-भालु, चितुवा गैंडा,
हात्ती स्याल सबै छन्
अनि धेरै नयाँ जनावरहरू पनि भेटेको छु
सबैसँग मित्रता गाँसेको छु
सबैको माया मोह पाएर
कहिलेकाहीँ धेरैको बुई पनि चडेको छु।
त्यहाँ मलाई दौडमा जित्ने कच्छुवाका
सन्ततिहरु र अन्य थुप्रै जनावरहरु
यहाँ र मेरो छिमेकी जंगलमा
घस्रिँदै संघर्षमय जीवन यापन गरिरहेछन्
केहीसँग गला मिलाएँ त,
कसैलाई सहयोग पनि गरेकोछु
केहीले मसँग मुण्टो लुकाउँदै
एक-दुई चोटी भनेका छन् –
हेर खरायो भाई!
हामी जंगल फर्केर जान्नौं।
मैले किन भनेर
सोधेको पनि छैन
फेरी जाओ भनेर कर पनि गर्दिन
किनकि त्यस जंगलको अवस्था त्यसो त नजाओ भन्ने
मलाई राम्ररी थाहा छ
मेरो आँट पनि छैन।
कहिलेकाहीँका गफमा केहीले
भनेका छन्-
त्यहाँ हाम्रो स्वतन्त्रता
कुण्ठित पारियो, पारिँदैछ र पारिनेछ
त्यसैले हामी जनावरको भविष्य
अन्धकार र भयानकताको संघारमा छ,
हाम्रो स्वच्छ हराभरा जंगलमा डढेलो लगाईँदैछ,
जंगल फोरी बग्ने निर्मल नदिहरु
धमिलो बनाईएकाछन्, दुर्गन्धित तुल्याईएकाछन्
यस जंगलको परंपरा र अग्रगामी
अवस्था बुझेर मसँग भन्दछन्-
हाम्रो जंगल संक्रमणकारीलाई
सस्तो भाउमा लिलाम गरिंदैछ
अनि फेरी हामी
त्यो पृथ्वीको स्वर्ग
कहिल्यै वापस पाउने छैनौ।।