गजल-१७३
रमेश गौतम
नर्वे
पुज्दै छन् रे सबैले नै रोमान्चित आउ पेमा
बुझ्नु धेरै छ है तिम्ले ज्ञानकुन्ज धाउ पेमा |
अझै पनि तिम्रो देशमा टाकिनहरु रोइरा’छन्
बुझ्न सक्छ्यौ कति होलान् यस्तैयस्तै घाउ पेमा ?
प्यारो देशको मानचित्र सानो सानो हुँदैछ है
व्यापारी छ तिमीभित्रै अब सीमा लाउ पेमा |
पूरै डुल्यौ, देख्यौ होला ती रैतीको निश्चलता
तिनको जस्तै निश्चल गीत तिमी पनि गाउ पेमा |
सीमान्तीकृत एउटा झुण्ड अस्तित्वहीन बनिरा’छ
तिनको शीर उठाउने बाचा-कसम खाउ पेमा |
देख्यौ होला लिबियामा रक्त होली चलिरा’छ
यस्तै तुफान रोक्न तिमी यौटा युक्ति दाउ पेमा |
तिम्रो देशबाट “खुसी” भ्रमसँगै बेचिँदैछ
साँचो खुसी जनताको हृदयमा छाउ पेमा |
परीकथा सपनाको “स्वतन्त्रता” हुर्कियौ रे
“बाँच्न” खोज्ने हजारौंको गला नदबाउ पेमा |
तिम्रो बिहे मिडियामा शरणार्थी जताततै
बुझ्छ्यौ होला यो सत्य त अब टाढा नजाउ पेमा |
प्रकृतिको कोमल रुप तिम्रो मुटु आमा बनोस्
सधैं सत्य सत्य रहोस्, बुद्धज्ञान पाउ पेमा |
भूटानी महारानी जेत्सुन पेमाप्रति समर्पित
२३ अक्टुबर २०११
स्टाभाङ्गर, नर्वे
लेखी सारै राम्रो छ. मैले राम्रो पढे. कवि नै हो मान्छे
Excellent bhai! hope it reaches in the ear of those…….. Eager to read more in the forthcoming days.