गजल: २०६
लोक नाथ भण्डारी
पर्दैन भो देख्दा मलाई, घरको दैलो थुन्न अब
हाटबजार, चोक, गल्ली, कतै पनि हुन्न अब
साँचो प्रेमको बदलामा, उपहास सहुँ कति
तय गर मार्ग आफैं, दिएँ मौका चुन्न अब
सुख-दुःख आँसु-हासो, त्यसैले त जिन्दगी छ
जति पीर परोस् अझै, आँसुले मन धुन्न अब
सोचेजस्तै सप्तरंगी, हुन्न जीवन थाहा पाएँ
सस्तो छैन आँसु मेरो , सम्झिएर रुन्न अब
ढुक्क भई हिँड तिमी, छेक्ने छैन बाटो कहिल्यै
सत्य-सत्य धरोधर्म, तिमीलाई छुन्न अब
औंसीमात्र कहाँ होला, पूर्णिमा नि आउँछ पक्कै
विरहका मेरा भाका, पर्दैन भो सुन्न अब
होलान् दुःख तिम्रा पनि, मुटुभित्र चोट अनेक
छाडिदेऊ षडयन्त्रका, अनेक ताना बुन्न अब