गजल-३२७

गजलकार
गजलकार

टेक भण्डारी
एडिलेड, अस्ट्रेलिया

नौ महिना कोखको पीडा जोखेर आएको मान्छे म
जन्मभूमिलाई चोखो माया छोडेर आएको मान्छे म।

गर्भको ढोका खोली बस्त्र बिनै हरियाली धर्तीमा
फुल्नलाई स्वप्नील रंगहरु घोलेर आएको मान्छे म।

आमाको काखमा लुकेर अमृतसरि स्तनहरु चुसेर
दस धारा दूधको ऋण बोकेर आएको मान्छे म।

दुनियाँ यो रंगमन्चमा सृष्टिको नौलो रोशनी लिएर
माया र ममताको इतिहास कोरेर आएको मान्छे म।

पाएका ती पीडा र दर्द अनि ती कष्टहरु आमाकै
पिठ्युँमा सुतेर आँफैले भोगेर आएको मान्छे म।

Don't have a Facebook account? Please, use the form below with other options!