गजल-३३७
राकेश कार्की
लस एन्जेलस, अमेरिका
नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय
छाती चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय
दुख्दै दुख्दै बगेर झर्दै झर्दै मिठा याद
खोल्सो खहरे हुँदै समुद्र नै भर्छ प्रिय
आँसु ढिका ढिकामा यसो ऐना हेर्दै आफ्नो
त्यही प्रतिबिम्बले रुन्चे हाँसो छर्छ प्रिय
गुमे पछि सँगैका पाइलाका दुई डोब
एक्लो पाइला अगाडि कसोगरी सर्छ प्रिय
ढाकिएर फैलिँदै गड्याङ गुडुङ कालो मेघ
खुसी उडाई पानी दर्किएर पर्छ प्रिय
विश्वासको आधारलाई च्याम्पट्टी झैँ घुमाएर
चित् खुवाई कसैले किन सुख हर्छ प्रिय