गजल-४३१ (सवाल-जवाफ)

माया भट्टराई
केन्टकी, अमेरिका

(दुर्गाप्रसाद रिमालको सवाल र माया भट्टराईको जवाफ गजलका शेरहरुमा ।)

सवाल
राख्न नमिल्ने  भो  दुवैलाई  अनि गल्ती भयो
आमाकै स्थान माग्यौ तिमीलेपनि, गल्ती भयो ।

तपाईँको  बस्ती  टेकेर  पर्देशिए, माफ  पाऊँ
सम्झनु  भएकै’थ्यो आफन्त र’नि गल्ती भयो ।

चिन्नु  पर्थ्यो   परिवार  सुरुमा चिन्न सकिएन
आज आयो आफ्नै दुश्मन बनी, गल्ती  भयो ।

भुटानी हुँदै नेपाली अनि अष्ट्रेलियन  बनियो
लेख्नेले नमिलाई लेख्यो जीवनी, गल्ती भयो ।

बस्नु पर्थ्यो  जमिनमा सबैले  स्पर्श गर्ने थिए
बस्नु थियो आकाशमा ए चाँदनी, गल्ती भयो  ।

(—दुर्गाप्रसाद रिमाल, अल्बेरी अस्ट्रेलिया)

 
जवाफ

सँगै अटाएर  दुवैलाई  राख्न  सके गल्ती  हुँदैन
‘यो माया हो’ जति धेरै  बाँड्न सके गल्ती हुँदैन ।

तिम्रो बाध्यता हो, रहरमा  कसैले  देश  लुटाउँदैन
‘नेपाली जाती हौँ हामी’, जान्न सके गल्ती  हुँदैन ।

जीवन सुन्दर बनाऊ आफ्नाहरूको अहम्ता  झर्नेछ
अनि परिवारलाई मिलाएर बाँच्न सके गल्ती हुँदैन ।

देश नहुनु एउटा दुर्भाग्य, धेरै देश हुनु अर्को भाग्य
तिनै  देशलाई  छातीमा टाँस्न  सके गल्ती हुँदैन ।

अरू जाँ/जाँ पुगुन्, तिमी धर्तीमै बस, धर्तीमै बाँच
सबैको मायामा रुन सके, हाँस्न  सके गल्ती हुँदैन ।

(–माया भट्टराई, केन्टुकी अमेरिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *