गजल – ४९०
रमेश गौतम
नर्वे
तिमी आयौ – वसन्त रूप चर्काउँदै आयो
मनैभरि कोइली पनि धुन फर्काउँदै आयो।
निरीह नयन नजिकबाट नियाल्दैथे न्यानोपना
त्यही बेला तिम्रो रूप मोह लर्काउँदै आयो।
मनै त हो सधैँभरि मादकता खोज्दै थियो
त्यही बेला मिठो बिम्ब कम्मर मर्काउँदै आयो।
कति भिन्न दृष्टिहरू ! शङ्काहरू रोपिँदैथे
कोमल लाग्ने तिम्रो मुटु ढोँग सर्काउँदै आयो।
मुटु जल्नै लागेकोथ्यो शङ्काहरू साकार भए
पाखण्डले रङ्गित माथ श्रद्धा तर्काउँदै आयो।
३ अप्रिल २००४
शनिश्चरे