गजल-९२
सयपत्रीले झ्याल अनि ढोका सिँगार्दै होलिन्
यति बेला दिदी भाइको बाटो निहार्दै होलिन्
रसाएका आँखा देख्दा सोध्दा हुन् भिनाजु
कसिंगर परेछ हजुर भनेर टार्दै होलिन्
संझनामा बाहेक टीका लगाउन नपाउँदा
आफैंलाई पटकपटक पक्कै धिक्कार्दै होलिन्
गाउँभरि सेलको वास्ना चल्दा खप्न नसकेर
मेरै आसमा दिदी तेल ताईमा सार्दै होलिन्
लक्ष्मीजीको स्वागत गर्न घरभरि सह भर्न
भँडारबाट झिकी घडा ढोकासम्म झार्दै होलिन्
झिलमिल हुँदा वरपर आफैं निभे जस्तो हुँदा
बालिराख्न मनको दियो मनै निथार्दै होलिन्
6th Nov 2010