गजल – ४३०

विशु निछा
मेल्बर्न, अष्ट्रेलिया

जीवनको बाटो सजिलो छैन काँडा पनि छ भिर पनि छ
ओठको मुस्कान बिर्साइदिने मनभरिको पिर पनि छ ।

माया बिना संसारमा कोही बाँच्न सक्दैन भन्छन् तर
मायामा नै मान्छेको मुटु छिया: पार्ने झीर पनि छ ।

खै! के भयो आज उसलाई कुन व्यथाले छोयो कुन्नि
हँसिलो मुहारको नयनमा पीडाको मौन नीर पनि छ ।

आँखा चिम्लेर हल्ला गर्नेहरू आँखा खोलेर हेर यहाँ
ढुङ्गाको चिहानमात्र हैन देउताको सुन्दर मन्दिर पनि छ ।

तिम्रो इच्छा बमोजिम तिम्रो फैसला तिमी आफैं गर
उड्नलाई प्वाँखहरू र बाँधिनलाई जन्जिर पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *