गन्धर्वको छोरो
शुकदेव अधिकारी
ओहायो, अमेरिका
दिन हिँडेर डाँडाको टुप्पोमा पुगी पहेँलो देखिन थालेको बेला बुढा गन्धर्व लामो बाटो हिँडी आफ्नो घरको आँगनको पल्लो छेउमा आइपुगेर बस्न खोज्दा खोज्दै पुर्लुक लडे । उनको घर त्यो नभइदिएको भए शरीरले यहाँ ढल्न मान्ने थिएन सायद ।
सिकुवाको डिलमा बसेर खै के गरिरहेकी बुढी दगुरेर त्यहाँ पुगिन् । बुढालाई उठाउन खोज्दा एक्लै सक्दिन भन्ने लागेर होला, छोरालाई बोलाइन् । छोरो आफ्नो स्वर आफैँले सुनेर अनौठो मान्ने भइसकेको रहेछ । करैले आयो ।
आमा छोराले बिरामी बाबुलाई तङ्गर्याउँदै घरभित्र लैजाँदै गर्दा सानी छोरी मझेरीबाट खान बिर्सिएर हेरिरहेकी थिई ।
अगेनाको छेउमा माटाले बनाएको होचो बिस्तरा रहेछ । बडो जतनले आमाचाहिँले त्यहीँ सुताइदिई बुढालाई काठको खुट्टे पिरा सिरानमुनि राखेर ।
तातो पानी तताएर एक मुठी पिठोको ढिँडो मस्काउँदै गरेकी बुढीलाई सोध्यो बुढाले, “ के गर्न लाग्या हो बलेकी आमा ?”
“अलिकति खानेकुरा बनाइदिऊँ भनेर । कहिलेदेखि बिरामी पर्या हो ! खाएको छ कि छैन ! बिसन्चो भई भई किन हिढ्या हो ? अस्ति नै घर आएको भए भइहाल्थ्यो ।”
“बढो सिङ खोज्न हिँड्या । त्यति नगरी मुखमा माड कहाँ‘बाट आउँछ भन्ठान्या छेस् ! यसपालि त दसैँ लाग्या रहेछ । दुईचार रुपियाँ भएको पनि विसन्चो भएर ओखती गर्दै रित्तियो । न विसेक नै भयो । कस्तो विराम लाग्यो लाग्यो । पुरै महिनादिन हुन लाग्यो शरीरमा चैन नभएको । नमिठो प्रकारले छाती दुखिरहन्छ । खान पटक्कै मन हुँदैन । अब म बाँच्दिन होला बलेकी आमा !”
“कस्तो बोलेको साँझको बेला । राम्ररी ओखती गरे त निको भई हाल्छ नि । किन हरेस खाको ?”
“यसअघि पनि कयौँपल्ट बिरामी परियो तर यस्तो कहिल्यै लागेको थिएन ।”
“अब यतै केही गर्नु पर्छ बलेका बा । परदेसाँ कसले हेर्छ र सन्चो विसन्चो । फेरि एकै ठाउँमा बस्न पाउने भापनि एउटा कुरा, चौधै अञ्चल घुमीहिड्नेलाई ………..।”
“यहाँ के गर्नु र ? न खेतीपाती न कुनै सिप । आफूले जानेको भनेको यै सारङ्गी हो । केही गरेर हात मुख जोड्न सकिएको भए पनि यो सारङ्गीको बेस्याहार हुने थियो ! कसरी छोड्न सकिन्छ र ! बाबुबाजेले गरिल्याएको काम !”
“त्यो त हो नै । मलाई त यो सारङ्गी सुन्यो कि भित्रैदेखि कस्तो भएर आउँछ । गर्वले छाती फुलेर आउँछ । जवानीमा यै सारङ्गीको र-याई र-इँमा लठ्ठिएर त मैले तिमीसँग ……। तर सन्चो नभएपछि के लाग्छ र !”
“हेर् बलेकी आमा, अब हाम्रो छोरो बलेले बजाउँछ सारङ्गी । उसलाई एकदुई दिन लगाएर तार चिनाई दिनु पर्यो । दुई दिन जतिमा भाका टिपिहाल्ला, चतुरो छ तेरो छोरो ।”
“खोइ, मलाई त त्यसले बिँडो थाम्ला भन्ने लाग्या छैन । म त्यो बाबु जस्तो बाजा बजाएर गाउँ गाउँ मागी हिँड्ने काम गर्दिनँ– भनेर जैलेनि जिकिर गरिरहन्छ ।”
वर्षदिनमा एकर्दुइपल्ट मात्र आफ्ना घरमा आइपुग्ने र दुईचार दिनको बसाइपछि हिँडिहाल्ने बुढा गन्धर्व छोराका निम्ति भने बाबु नाम गरेको कुनै पाहुना बेलाबेलामा आफ्ना घरमा आउने र केही कोसेलीपनि ल्याउने गर्दछ भन्नेमात्र लाग्दा रहेछन् । उसमा आफ्ना बाबुप्रतिको कुनै मोह छैन । न आवश्यकता नै महसुस भएको छ आजसम्म । बाबुले पनि आफ्नो सन्तान स्याहारिरहँदाको आनन्द, प्रगाढ प्रेम, कठिनाइ, तिनका आँखामा जग्मगाउने सुन्दर भविष्य र जिम्मेवारी बोधको महसुस, चाहेर हो वा नचाहेर, गरेकै छैन । उनी आफ्नो छोरो आफूले सारङ्गी रेटी हिँड्ने गाउँका केटाकेटी सरह नै ठन्दारहेछन् आजसम्म ।
छोराको जन्मपछि उनी सधैँ उसको बाबु हुन्, तर कहिल्यै भएनन् । उनी बाबु देखिए, तर भेटिएनन् । जब शरीरले साथ दिन छाड्यो, औँलाहरूले सारङ्गीका तारलाई राम्ररी ठम्याउन छाडे, गलाले गाइने गीतको लयलाई पक्रन छोड्यो तब उनी आफ्नो छोरो सम्झिएर घर फर्किए । छोराबाट आफ्नो पेसाको निरन्तरताको ठुलो अपेक्षा बोकी रोगले ग्रस्त शरीर लिएर उनी घर आइपुगे
अर्को दिन बुढाले आफ्नो छोरालाई प्यारपूर्ण तरिकाले बोलाए र आफ्ना थाप्लामा थुप्रिएको भार बिसाउन खोजे । “हेर बाबु! अब तैँले यो बाजा सम्हाल्नु पर्दछ ।” आफ्ना छेउमा ठड्याएको सारङ्गी देखाउँदै बुढाले भने ।
“हैट.. ! यस्तो बाजा साजा बजाउँदिनँ म । के के न भन्न आँटेको भन्या त ।” भर्खरै सत्र वर्ष टेकेको बलराम गन्धर्वले विमति जनायो ।
“के भनेको बले तैँले ? आफ्ना बाबुबाजेले गरी ल्याएको काम अब तैँले नगरे कसले गर्छ ? बाबु थलापरेको देखि हालिस् । बिहान बेलुकाको छाक टार्न मुस्किल छ । जवान छोराले खलो नटारे कुन बुढो बाउले गर्छ ?” बुढीले आफ्नो राय पोखिन् ।
“आमा ! यो सारङ्गी बोकेर सात गाउँ डुल्ने काम मबाट हुँदैन भनेर पहिल्यै तपाईँलाई भनिसकेको छु । पहिलो कुरा त मलाई यो सारङ्गीसँग न कुनै मोह छ न आकर्षण । संसार कहाँ पुगिसक्यो, तपाईँ भने सारङ्गीको तार रेट्न कर गरिरहनु हुन्छ । के भन्छन् सथीहरुले ? म त बरु सहरमा गएर काम गर्छु । नभए विदेशीहरूको भारी बोक्छु । यो बाजा चाहिँ बजाउँदिन ।”
“त्यसो नभन् बाबु । म यो सारङ्गी तँलाई नै सिकाउँछु भनेर फर्केको । अब मेरा आँतले हारेर आयो । तैँले सिक्नु पर्छ ।”
“मैले भनिसकेँ, म अरू नै काम गर्छु । म गाउँभरि मागेर खान्नँ । हैन, जीविका गर्नलाई अरू बाटाहरू पनि त छन् ।”
“छन् त छन् होलान् तर मलाई यो सारङ्गी बजाइदिने मान्छे चाहिएको छ । यसलाई जीवित राख्ने मान्छे चाहिएको छ । हेर, मेरा पुर्खाहरू सबै मरे तर यो सारङ्गीलाई मर्न दिएनन् । उनीहरूले यसलाई बचाइ राखेका हुनाले आजसम्म यो जीवित छ । म पनि त्यै चाहन्छु कि मेरा छोरा नातिले यसलाई बचाइ राखुन् अनन्तसम्म ।”
“लौ, कस्तो कुरा गरेको ? सारङ्गी पनि जीवित र मृत हुन्छ ? यो नबजाए के हुन्छ र ?”
बुढा केही बेर मौन रहे अनि बोले, रुन्चे आवाजमा, “लौ, बाबै अब जे गर्” । उनी भित्तामा अडेस लागेर बसिरहेका थिए, लामो खोकीसँगै पल्टिए ओछ्यानमा । आँखाका दुवै डिलबाट राता आँसु पल्टिरहेका देखिन्थे । छोरो चाहिँ उठेर हिँड्यो । बुढी चाहिँ घरी बाबुको घरी छोराको अनुहार हेरिरहेकी थिइन् अहिलेसम्म । बुढाको छेउमा सरेर हातहरू मिची दिँदै बोल्न थालिन् ।
“मैले भने नि बलेका बा, यो बलेको सङ्गतै अर्कै छ । हुन पनि आजकलका ठिटाहरूलाई केको सारङ्गी मोह ! कस्ता कस्ता आधुनिक बाजा आएका छन् सहरका बजाराँ । फेरि गाउँमा, जुल्पी पाल्ने र कानमा मुन्द्रा लगाएर हिँड्ने चलन आछ ठिटाहरूको । तिनैलाई देख्दो हो । आफूपनि त्यसरी नै हिँड्न पाए हुन्थ्यो भन्दो हो । के समाउँथ्यो सारङ्गी ।”
बुढा केही बोलेनन् । मनमनै भनिरहे– ‘ढिला भएछ । सानैदेखि उसलाई सारङ्गीको तार चिनाएको भए, कहिले काहीँ आफूसँग लिएर हिँडेको भए आज यो जिम्मेवारी उसमाथि राखी दिन कुनै गारो हुने थिएन । यही बेला उनी सानो छँदा आफ्ना बाबुसँग सानो सारङ्गी बोकेर पछिपछि हिँडेको सम्झन्छन् । गाँउलेहरुले सानो गन्धर्व भनेर जुरुक्क जुरुक्क उचाल्थे । आफूपनि फुर्लुक फुर्लुक उफ्रिएर सारङ्गी बजाउँदै नाच्थे । कस्ता रमाइला थिए ती दिन । ती दिन गए । उनका बाबुबाट यो बाजा बजाउने पूर्ण जिम्मेवारी कहिलेबाट उनमा आयो थाहै पाएनन्’ ।
जीवनलाई कहाँबाट कसरी हेर्नु पर्ने हो, उनले बुझेनन् , उनले सारङ्गी बुझेका छन् । उनले गरे भने सारङ्गीकै तारमा आफ्ना जीवनभित्र आउने अप्ठ्याराको प्रतिरोध गर्ने शक्ति सञ्चित गरे होलान् । हरेक पल्ट सारङ्गीको तार खिएर चुटिँदा सायद उनलाई थाहा थिएन जीवनको तारपनि त्यसरी नै खिएर चुटिनेछ एक दिन । समय बितेपछि थाहा भयो । घर फर्किए । जीवन र मृत्यु बिच खेलिने सानो बाँच्नुको एकाकी सिधिन लागेको खबर पाएर उनी घर फर्किएको हुनु पर्छ ।
बलेकी आमाले अखण्डै गर्दा पनि बुढा मानेनन् । पर्सिपल्ट होला, सारङ्गी बोकेर लर्खरिँदै निस्किए घरबाट उनी । भनिरहेका थिए, “यो सारङ्गी कसले बजाउला अब ?”
बुढीलाई नराम्ररी चोट पर्यो । बिलाप्न थालिन् – “यी बुढा कहाँ पुगेर ढल्ने हुन् । किन एकोहोरो लाग्या हुन् । कस्तो कस्तो भुक्तमान लेखिदिया रहेछ चित्रेले यो खप्पराँ ! जीवनभर त सँगै हुन दिएन दिएन, मर्ने बेलाँ पनि छुट्ट्याइदियो, असतीले । यो छोरो पनि कस्तो निष्ठुरी जन्मिएछ । बाबुआमाको इच्छा कुल्चिएर के गरिखाला यसले ।”
“हे..य ,आमा किन गन्गनाइ रहेकी, आइ हाल्छन् नि फर्केर ।”
“आ….ए फर्केर ! त्यस्तो शरीरका मान्छे । तेरा बाबु अब कहिल्यै आउँदैनन् । बरु तँ जा पछिपछि । गइहाल । जहाँ पुग्दा ढल्छन्, उठाएर ले ।”
“नचाइने कुरा गर्नुहुन्छ आमा पनि । आइहाल्छन् नि । त्यत्रो हिँड्न सक्ने मान्छे ।”
“बाबुको अन्तिम अवस्था हो बले, मैले थाहा पाएकी छु । उनी लर्तरो रोगबाट हरेस खाने मान्छे नै होइनन् । तैँले सारङ्गी सारङ्गी केही पनि बजाउनु पर्दैन । अरुनै काम गर्लास् । तर यस बेला बाबुको हेर बिचार गर्नु पर्छ । तेरो कर्तव्य हो छोरा । जा नानी जा …!”
आमाले धेरै कर गरेपछि बिस्तारै उ निस्कियो घरबाट र बाटो लाग्यो बाबु हिँडेको धेरै बेर पछि । करिब दुई घण्टा जति उक्कालो हिँडेर तेर्सो बाटामा पुग्यो । केही बेर तेर्सै तेर्सो हिँडेपछि बाटो ओरालो लाग्यो । ओरालो बाटाको थाप्लोमा एउटा ठुलो ढुङ्गो छ आराम गर्ने । बले यहाँसम्म पहिला पनि आएको छ । अब उसले यहाँभन्दा अघि बढ्न चाह्यो भने, यसउताको यात्रा बिल्कुल नयाँ हुन्छ उसलाई । ढुङ्गामा बस्यो । आफू निरर्थक यात्रा गरिरहेको छु को तरिकाले आङ बटार्यो बलेले ।
कल्पना शून्य अवस्थामा त्यहाँ बसिरहँदा तल कतै मान्छे खोकेको आवाज आइपुग्छ ऊ भए ठाउँमा । लामो तर बिच बिचमा धेरै ठाउँ च्यातिएको आवाज आफ्नै घरबाट हिँडेका बुढाको हो । थाहा पायो । चनाखो भएर हेर्यो । ढुङ्गाबाट ओर्लिएर ओरालो बाटो हिँडेर करिब पचास फड्का नाघिसक्दा निक्कै तल बुढालाई देख्यो । रोकियो र छलियो रुखमा ।
बुढा उठेर हिँडे । देखिरहेको छ उसले । ऊ पनि हिँड्यो । आफ्ना बाबुसँगको दुरत्व सानो तर दीर्घ समयको अन्तर लिएर ऊ हिँडिरह्यो । डेढ दुई घण्टाको हिँडाइ पछि एउटा फाँटिलो गाउँमा पस्यो बाटो । बस्ती निकै घना देखिन्थ्यो । बुढा गन्धर्व गाउँका छेउमा पुग्ना साथ केटाकेटीहरूको हुलले स्वागत गर्यो । हुलमा केटाकेटी मात्र नभएर युवा युवती र एक दुई वयस्क पनि देखिन्थे । कसैले बुढाका हातमा समाएका थिए । कसैले दौराको फेरमा र कोहीले कम्मरमा हात राखेर हालखबर सोध्दै अघि र पछि हिँडिरहेका थिए । बुढाको शारीरिक अवस्था कमजोर भएकोमा धेरैले चिन्ता व्यक्त गरेको पनि सुनियो ।
बुढा जति जति गाउँभित्र छिर्दै गए उति उति उनका अघि पछि भिड थपिँदै गयो । भिडकै पछिल्तिर बुढाको छोरो बडो चकित भएर हिँडी रहेको थियो । अघिसम्म कायम गरेको आफ्ना बाबुसँगको दुरत्वलाई अझ छोटो पार्दै । कसैलाई नमस्कार गर्दा वा फर्काउँदा हात नजोडेर जदौ …. भन्दै, कुनै गोलाकार बस्तु समाएर उठाए जस्तो गर्दा रहेछन् उसका बाबु, त्यो थाहा पायो बलेले ।
बिदा पछि मान्छेहरू सम्भवतः गाउँका माझमा पर्ने एउटा घरको फराकिलो आँगनमा पुगेर अडियो भिड । घरवालाकी स्वास्नी होलिन् तिनी, एउटा गजरा ल्याएर ओछ्याइदिइन् सिकुवाका डिलमा । बुढा त्यहीँ बसे आँगनतिर फर्किएर । भिड उनकै अगाडि थच्याकथुचुक्क बस्यो आँगनमा जे भेटिन्छ तानेर । तीन चारजना केटाकेटी भने बुढाकै वरिपरि झ्यम्मिरहेका थिए । आँगनकै एक कुनामा, मान्छेहरूका पछाडिपट्टि बलेपनि टुसुक्क बस्यो लगभग छेलिएँ भन्ने आभासमा ।
छेउमा भएको अम्खोराबाट अलिकति पानी तन्काएपछि काँधमा भिरी राखेको सारङ्गी झिके बुढाले । एकदुई पल्ट ख्याक्कख्याक्क खोकेर बिस्तारै तार रेट्न थाले उनी । भिड शान्त भयो । मधुरोबाट क्रमशः टड्कारो बन्दै उठेको सारङ्गीको र्याई -याइँसँग बुढाको ठाउँठाउँमा फाटेको अल्पकम्पित स्वर मिसिएर पोखिई रहँदा उनी वरिपरिको एउटा वृत्ताकार क्षेत्रभित्रको हावाका कणकणमा सङ्गीत भरिएर फैलिएको तरङ्गले वरिपरि मन्त्रमुग्ध बसेका श्रोताहरूका शरीरमा एक प्रकारको अनौठो कम्पन उत्पन्न गरेर बाहिरिन्थ्यो । बलराम गन्धर्वलाई भने आफ्नो शरीरमा स्पर्श गर्न आएको साङ्गीतिक तरङ्गले बेस्सरी गाँजिरह्यो । उसको आङ कयौँ पटक जिरिङ्ग जिरिङ्ग भइरह्यो । आँखा भने एकटकले ती बुढा मान्छेलाई हेरी रहेका थिए आश्चर्यको परम उत्कर्षमा डुबेर ।
एउटा लय वा गीत सिद्धिएपछि लामो खोकी खोकेर एक तुर्को पानीले घाँटी भिजाउँथे गन्धर्व बुढा ।
त्यस्तै सवाघण्टा जतिको रेटाइपछि जदौ….. भन्दै हात उठाए बुढाले । सारा मान्छेहरूले पनि लगभग आधा उठेर हात उठाए । नजानिँदो मुस्कान कुद्यो बुढाका पुराना ओठहरूमा एकपल्ट । अरुबेला यसरी सारङ्गी बजाउँदा, बजाउन थाल्नु भन्दा अघि एउटा मामुली कपडाको टुक्रो अथवा गाम्चा कि त टोपी आफूअगाडि फिँजाउँथे उनी, जहाँ मान्छेले यथासक्या दानदक्षिणा वा भेटी चढाउँथे । भुलेर हो वा अब उनलाई पैसाले केही गर्न सक्त्तैन भन्ने लागेर हो आज त्यो कपडा थिएन उनका अगाडि । तर मान्छेले सधैँ जसरी नै आफूसँग भएको पैसा बुढाका अगाडि राखी दिए । कसैले हातैमा दिए । कसैले गोजीमा हाली दिए । पैसा नबोकी आएका एकाध मान्छेले बुढाका कानमा फुल सिउरिएर हातमा ढोगी दिए । झन्डै झन्डै बुढाकै उमेरकी होलिन्, एउटी महिलाले अक्षताको टिको लगाएर आशीर्वाद दिइरहेकी थिइन् उनलाई ।
यी सारा घटनाहरू बलराम गन्धर्वका आँखाबाट दिमागतिर दगुरी रहेका थिए, पत्याइ नसक्न तर यथार्थ दृश्य बनेर । आफ्ना बाबुमा यतिको कला र सामर्थ्य भएको रहस्य पहिलोपल्ट थाहा भएपछि उसलाई ठुलो ग्लानि भयो । आत्माग्लानीले भरिएको शरीरले मनदेखि नै बाबुप्रति कृतज्ञता व्यक्त गरिरह्यो । श्रद्धा गरिरह्यो । अर्कातिर यतिका मान्छेले देखाएको सारङ्गीप्रतिको मोह र बुढाप्रतिको सम्मानमा ऊ निकै मज्जाले आकर्षित भयो ।
अब त्यहाँबाट हिँड्ने बेला भयो । सबै मान्छेसँग बिदा माग्दै बुढाले भने–“लौ है इष्टमित्र हो, यो बुढो फेरि आउला नआउला, अहिलेलाई चाहिँ बिदा” ।
धेरैले बडो हार्दिकताका साथ अँगालो हालेर बिदा गरे उनलाई । बुढाका आँखा टिलपिल भरिएका देखिन्थे । सबैका आँखा रसाएका थिए । बिदापछि मान्छेहरू आ–आफ्ना घरतिर लागे । बुढा गन्धर्व भने गाउँ छिचोल्दै, दिन ढल्नै लागेको बेला, सुनसान जङ्गलको बाटो लागे ।
बलराम गन्धर्वलाई अहिलेसम्म कसैले ख्याल गरेन । हुन त सारङ्गी बजाइरहँदा उसका बाबुले उसलाई देखेको पनि हुन सक्छ । तर अब आफू आफ्ना बाबुबाट नदेखिइनु पर्ने कुनै जरुरी ठान्दैन बले । ऊ, भरसक चाँडो आफ्ना बाबुका नजरमा पर्न चाहन्छ । खुट्टामा समाएर, आफूले गरेको व्यवहारप्रति क्षमा दिनुहोस् भन्न चाहन्छ । आशीर्वाद थाप्न चाहन्छ ।
चुपचाप, आफ्ना बाबु गइरहेको जङ्गलको बाटो समात्छ । बाबुछोरा बिचको दुरी साँगुरिँदै गइरहेको छ बाटामा, भावनामा । गाउँका गोठालाहरूको गोधूली आवाजले दिनको आयु सकिएको सङ्केत गरी रहेको छ । उनीहरू आफ्नो वासस्थान फर्की रहेका छन् । बाबुछोराको यात्रा भने अनिश्चित दिशातिर बढिरहेको छ, जङ्गलै जङ्गलको बाटो भएर । रुखमा गुँड लगाएका चराहरू आफ्नो घर फर्किएर खैलाबैला गरी रहेकाछन् । बुढा गन्धर्व खै कसरी हो एउटा खुड्किलो नाघ्न खोज्दा कुप्लुक्क लडे । उनी उठ्न खोजी रहेका थिए, सकी रहेका थिएनन् । बलराम गन्धर्व दगुरेर गयो, बुढाका दुवै पाखुरामा समात्दै भन्यो,– “बाबा, उठ्नुहोस्” । बुढा जुरुक्क उठे । जीवनमा पहिलो चोटि आफ्नो सन्तानले ‘बाबा’ सम्बोधन गरेर बोलाइँदा बुढा हर्षले विभोर भए, आफ्नो छोरालाई बेस्सरी अँगालो हाले । साँझ जङ्गलमा पोखिई रहँदा बाबुछोराका मिलनका आँसु साटिई रहे, भावनाहरू साटिई रहे । जङ्गली साँझले स्वागत गरी रह्यो ।
आज यतिका वर्षपछि आफैँले जन्माएको सन्तानको अगाध प्रेममा डुबेर बेस्मारी रोए बुढा । पितृवात्सल्यको अर्थ बुझेर फेरिपनि रोए उनी ।
केस नमिलेको, सम्भवतः नकोरेको, च्याक्से तर साँगुरो होइन, फराकिलो अनुहारको, निधारको एकापट्टिको कुनामा मुसो निस्किए जस्तो तर अलि ठुलो मासुको डल्लो भएको, हाँस्दा तल्लापट्टिको एक लहर दाँत देखिने त्यस मान्छेबाट आज आफ्नो बाबुको प्रेम पाएर बलराम पनि मज्जाले रोयो ।
बाटैबाटो अलि पर पुग्दा एउटा ठुलो रुखको फेदमा फराकिलो ढुङ्गो सुतेको भेटियो ।
“अब यहीँ बास बस्नुपर्छ नानी, आज ।” बुढाले भने ।
गाउँलेले हालिदिएको खाजा रहेछ झोलामा । बाबुछोराले बाँडी खाए । बाबुले त्यति खान सकेनन् । बलेलाई भने निकै भोक लागेको रहेछ खायो । त्यही झोला सिरानमा राखेर सर्लक्क पल्टिए बुढा ढुङ्गामाथि । आफूसँग भएको गाम्छा सिरानमा राखी दिँदै बुढाले भने, “सुत् बाबु” ।
दिनभरिको हिँडाइ, अस्वस्थ शरीर, बुढा भुसुक्क निदाए । रात छिप्पिँदै जाँदा जून आइ पुग्यो त्यस जङ्गलमा । कसरी–कसरी बुढाका आँखा खुले । झलमल्ल उज्यालोमा बलराम चाहिँ आफ्ना बाबुले रुखमा ठड्याइ राखेको सारङ्गी आफ्ना हातमा लिएर तारहरू राम्ररी नियालिरहेको थियो । आफ्नो छोरालाई सारङ्गीको तारमा लठिइ रहेको देखेपछि उनले आँखा बन्द गरे । मनमनै भने, ‘मेरो इच्छा पुरा भयो, अब यो सारङ्गी मर्ने छैन । मेरो आत्माले शान्ति पाउने भयो’।
कुन्नि कति बेला हो बलराम पनि सारङ्गी त्यहीँ ठड्याएर निदाएछ ।
बिहान आइ रहेको खबर लिएर एक पोको चिसो हावा कानकै छेउबाट जाँदा पो उसका आँखा खुले । आँखा खुल्दा उसले जे देख्यो त्यो सुन्दर थिएन । सँगै सुतेका उसका बाबु श्वास फेरि रहेका थिएनन् । उसले बाबुका हातहरू माडमुड् पार्यो, छातीमा हात राखेर हेर्यो, अहँ खबर सुन्दर थिएन । उसले आफ्ना बाबुका अनुहारमा राम्ररी हेर्यो अनि छेउमा भएको सारङ्गीमा हेर्यो । हेरी रहँदा उसका हातहरूले सारङ्गी टिपे । बडो श्रद्धाले छात्तीमा टाँसियो, कयौँ पटक ओठहरूमा चुमियो सारङ्गी ।
बाबुको प्राण कसरी निस्किएर गयो, कता गयो त्यो उसले थाहा पाएन । आफ्ना बाबुको आत्मालाई शान्ति मिलोस् भनेर हो वा भावनामा भक्कानिएर हो आफू भन्दा सिधा माथिको अनन्त आकाशमा हेरिरह्यो उसले । हेरिरहँदा जूनको उज्यालो सरेर गइरह्यो उसका आँखामा आँसु छोडेर ।