गर्जमान गुरुङसंग सम्बन्धित एक वंशावलीको संक्षिप्त चिनारी

लेखक

शिवलाल दाहाल
खुदुनाबारी

भूटान नेपालीभाषी मानिस बसो–बास गरेको पुरानो मुलुक हो । सन् १६२४ देखि नेपालीभाषी मानिसहरु बसोबास गर्दै आएको कुरा इतिहास बोल्दछ । यद्यपि नेपाली भाषा र साहित्यको विकासका दृष्टिले भूटान कान्छो मुलुक मान्नु पर्छ । झण्डै चार सयवर्षको हाम्रो इतिहास, एउटा अन्धकार खाडलमा रुमल्लिएको छ । भूटानमा नेपालीभाषी मानिसहरु एकै समयमा प्रवेश गरेको भने अवश्य होइन । यस सन्दर्भमा गर्जमान गुरुङसंग सम्बद्ध यो वंशावली एक ऐतिहासिक र दुरगामी महत्वको कृति हो । यो साहित्यका दृष्टिले भन्दा पनि राजनीतिक दृष्टिले अझ बढी महत्वपूर्ण छ । यो सानो पुस्तिकाको शुरु र अन्त्यका केही पृष्ठ हराएका हुँदा लेखकको नाम पत्ता लाग्न सकेको छैन । यस कृतिबाट तत्कालीन समयको नेपाली भाषाको रुप र नमुना आँकलन गर्न भने सजिलो हुन्छ । यो कृति कवितात्मक शैलीमा लेखिएको छ । अन्त्यानुप्रास मिलाइएको तथा भानुभक्तीय रामायणको शैलीलाई अनुसरण गर्न खोजिएको छ तर छन्दको नियमलाई भने पूर्णरुपमा पालना गरिएको छैन । जेहोस् लय र अनुप्रासिकता हेर्दा चाँहि केही कवितात्मक गुण अवश्य पनि खोज्न सकिन्छ । चार पंक्तिको एक श्लोक देख्न सकिन्छ । केही श्लोक लामा र केही छोटा रहेका छन् । यस कृतिको उपदेयता वंशावलीमा मात्रै सीमित छैन । मुलरुपमा भने यसमा गर्जमान गुरुङको पुख्यौली व्यक्त्याइएको छ । यस पुस्तिकामा गर्जमान गुरुङ, उनका पिता–पूर्खा, नातेदार, कर्मचारी र मण्डलहरुको नाम, चरित्र विश्लेषणका साथै ठेक्का–बिघा गर्दै दालचन गुरुङ (गर्जमान गुरुङका पिता) भूटानको अम्मल भन्ने जग्गामा वि.सं.१९३४ सालमा पुगेको कुरा उल्लेख छ । त्यहाँ फेरि ठेक्क–बिघा गरी धेरै सुन–चाँदी आर्जन गरे । त्यसपछि जग्गा लिने बिचार गरेर वि.सं.१९३९ सालमा केही सहयोगी साथमा लिएर दालचन गुरुङ पारुका महाराजा छिचुलाई भेट्न गए । त्यस टोलीमा दालचनका भाइ कान्छा नरविर, कुलमान, भतिजा श्यामलाल र हितैसी मित्र बलभद्र कान्छा, राबजु मुक्तियार आदि थिए । पारुका महाराजालाई दर्शन भेट गर्दाको प्रसंग यसरी खुलाइएको छ –वंशावलीमा ।

आठदश हजारको भेटि राखी तहाँ
बिन्ती चढाया त हजुर महाँ
महाराजको दर्शन पनि गर्नलाई
इच्छा थियो र महाराज पनि आज आई ।। (२१)

महाराजले सोधे कुन काम महाँ
आयौ तिमिले यति दुर महाँ
बाटो पनि यो अति बिकट भयाको
काम केइ होला तिमि यहाँ आएको ।। (२२)

औसर माफ भया तै पनि केहि यहाँ
बिन्ती गरदो हउ हजुर महाँ
भनुला माहा जछ केहि धोका
इच्छा हुनाले आयाँ हजुरका ढोका । (२३)

उनीहरु १० दिनसम्म पारुमै रही अत्यान्तै महत्वपूर्ण सम्झौता गरेका थिए । जसमा ठेक्कामा जिएको जमीन र बसाइएको रस्ती–बस्ती कहिल्यै पनि नखोसिने ( सम्झौता उल्लंघन नगर्ने) स्पष्ट उल्लेख गरिएको छ ।

यो बिन्ती सुनी खुप खुसि हुन गया पारु महाराज पनि
राजा काजीहरुले बातचित ग-या दिनु छ जोग्यै भनी
महाराजले पनि खुसि भै कन दिया बेसै भनेउ भनी
खुसी भैकन रस्ती बस्ती गरनु भन्ने हुकुम भो पनी ।। (२५)

फेरी बिन्ती चडाउनु पनि भयो सामान्य अगाडि यहाँ
पक्का लाल मोहोरै गरी दिनु हवस दया गरी मन महाँ ।। (२६)
……………………………………………………………..
तेस्तै रीतको धरम पत्रिका पनि भयो पुस्ता न पस्ताको भनि
कैल्यै कुनै दिनमा पनि नखोसिन्या यस्तो माहोर भो पनि । (२७)
दशदिन ताहिँमा मुकाम भयो पनि ताहाँ बातचित बहुतै भया
राजा काजीहेरु पनी सब जना खुप छक्क पर्दा भया ।।

यस वंशावलीमा तत्कालीन समयमा तोकिएको साध सिमाना पनि उल्लेख छ । दक्षीण भूटानमा रस्ती–बस्ती बसाउने सम्झौता गरेपछि प्रशासनिक कार्यका लागि साम्चीको सौरेनी भन्ने ठाउँमा बाउन्न ढोकाको कोठी निमार्ण गरी राजकाज चलाएको कुरा पनि वंशवालीमा उल्लेखित छ । कोठीको वर्णन गर्दै लेखिएको तलको पंक्ति हेरौँ ।

कचहरी धेरै पनि तिनका अच्छा
हेर्दा कुनै काम पनि छैन कच्चा
वरीपरी खिर्कि बिचै कोठा छन्
चौकी र खाट पाटहरु बेस तहाँ छन् । (४२)

छन्द नमिलेको भएता पनि यी पंक्ति लयात्मक छन् । श्री गर्जमान गुरुङको व्यक्तित्वको वर्णन यसरी गरिएको छ –
जीवै हेर्दा पनि त भारी छ बहुत ज्योति उज्यालो पनि
भर्खरको उमेर ज्योति मनिका सूर्य समानको भनि
शास्त्रै ध्यान र दानमा त बहुतै मनै लगाउँथ्ये यहाँ
माता पनी दिव्य रुपकि लक्ष्मी सहित की तहाँ ।। (३२)

उनी अत्यान्त दानी र पराक्रमी भएको कुरा पनि वंशावलीमा उल्लेख गरिएको छ –
साधुसन्त आउने छिन–छिन घरीमा
साठी असि दान पुन हुने दिन भरीमा
………………………………………
यस्तो दयावन्त कतै देखिदैन
झुटो बात मइले पनि लेखिन । (५०)

यस वंशावलीमा तत्कालीन कर्मचारी र मण्डलहरुको पनि नामावली समावेश गरिएको छ । जस्ले गर्दा वंशावली कुन समयमा लेखिएको हो भन्ने कुरा अनुमान लगाउन सकिन्छ । उल्लेखित नामहरुको आधारमा हेर्दा उक्त वंशावली सन् १९३० को दशकमा लेखिएको हुनुपर्छ । वंशावलीका अन्त्यतिर ब्रम्हाणहरुको चालचलन र स्वभावको आलोचना गर्दै उनीहरुको कर्तव्य बोध समेत गराइएको छ –

बेद पढ्नु द्वीजले सदा दिन दिनै ध्यान ईश्वरैको गरी
जोग सास्त्रादीहरुको बात बताउनु सबै घटै उज्यालो गरी ।
मंस भक्षे गर्ने जन ति कुन रीतले जान्छन् पार तरी
आचार यो नबुझि र जीव नचिनि मिठै भनी पेट भरे । (९५)
मंस भक्ष गरेर देवताहरु भनुन ति कुन कुन तरे
नीन्दा गरेको ता होइन बुझ यो शास्त्र बिधानको कुरो ।
………………………………………………………

गाउँले बोलीचालीको भाषामा लेखिएको यस वंशावलीमा ठेट नेपाली, हिन्दी, संस्कृत शब्दहरुको प्रयोग भएको देखिन्छ तर ह्रस्वदीर्घको नियम पालना गरिएको देखिँदैन । भानुभक्तको रामायणको लयलाई पक्रिएर लेखिएको देखिन्छ तर छन्दको पूरा नियम पालना भएको छैन । सन् १९३० को दशकमा लेखिएको यो बेनामी लेखकको वंशावली भूटानको सन्दर्भमा पाइएको पहिलो नेपाली कृति हो ।

रचना :  वेशाख २०, २०६७

2 Replies to “गर्जमान गुरुङसंग सम्बन्धित एक वंशावलीको संक्षिप्त चिनारी”

  1. Sanchaman Khaling

    म भन्न सक्छु कि, शिवलालजीले जुन अनुसन्धनात्मक अध्यायन गर्नुभएको छ भूटानी नेपाली भाषा र साहित्यको, यो अति महत्वपूर्ण सामग्री हो, जुन अहिलेसम्म हुन सकेको थियो जस्तो मलाई लाग्दैन, त्यसै कारण उक्त सामग्रीलाई संग्रहित गरेर राख्न अति अति जरुरी छ l थाहा छैन भोलिको दिनमा शिवलाल जी जस्तो गहन र वैज्ञानिक तरिकाले यो कुरोको अध्यायन अनुसन्धान गर्ने व्यक्ति पाइन्छ पाइन्न वा त्यस्तो परिस्थिति हुन्छ हुन्न l
    शिवलाल जी धेरै धेरै धन्यवाद, कार्य व्यस्तताको बाबजुत पनि भगिरतीय तपश्य जुन भूटानी नेपाली भाषा र साहित्यको लागि दिनुभएको छ l
    Sanchaman Khaling

  2. Buddha Dhakal

    म साम्चीमा बस्दा D B गुरुङ संग गेस्ट हाउस छेउमा भेट हुन्थ्यो| म किताब लेख्दैछु भन्थे | तर उनको किताब पुरा भयो या भएन, केहि थाहा भएको छैन | इतिहासका यस्ता घटनाक्रमको आम भुटानीलाइ जानकारी गराउन सके उत्तम हुनेथियो.| शिवलालजी, साम्चीका गुरुङ खलकसंग वा कलिम्पोंगतिर खोजि गर्दा त्यो किताबको अंस भेटिन्थ्यो कि ?

    राम्रो अनुसन्धान |

Leave a Reply

Your email address will not be published. Required fields are marked *