गलत – सही

Ohio, America

डिल्लीराम रेग्मी
ओहायो, अमेरिका
जो गलत पनि होइन
र सही पनि होइन
यदि सही होइन भने किन होइन?
र गलत हो भने
सही जस्तो किन लाग्छ?
कसले ठम्याउँछ के गलत, के सही?
कसले गर्छ यसको निर्णय?
आखिरमा यो गलत र सहीको फैसला कसले गर्छ?
यदि महिना भरि
घरमा सबै काम गराउनु सही हो भने
महिनावारीमा चाहिँ सबै छुनु गलत किन?
यो सही र गलतको आखिर निर्णय कसले गर्छ?
फैसला कसले सुनाउँछ?
अँगालोमा कसैसँग बाँधिएको बेला
अरू कसैलाई मस्तिष्कमा ल्याउनु सही होला त?
यदि अँगालोमा भएको सही होइन भने
मस्तिष्कमा सम्झिरहेको चैँ गलत कसरी?
यदि मेरो मनले कसैलाई असाध्यै चाहनु
अथवा खुल्ला रूपले माया गर्नु सही हो भने
फेरि उसले मलाई नभएर
अरू कसैलाई उतिकै मन पराउनु
मलाई गलत जस्तो किन लाग्छ?
अनि उ सही हो भने
म गलत कसरी?
सही चाहिँ के हो त?
यो सही र गलतको आखिर निर्णय कसले गर्छ?
फैसला कसले सुनाउँछ?
यदि विपरीत लिङ्ग तर्फ आकर्षक हुनु सही हो भने
सम-लिङ्ग आकर्षण गलत कसरी?
तमाम उमेर आफू सरह मान्छेलाई चाहनु गलत हो भने
सही के हो
यो गलत र सहीको फैसला आखिर कसले गर्छ।
निर्णय कसले सुनाउँछ?
यदि चोरी गर्नेलाई सजाय मिल्छ भने
र सही हो भने
देश बेच्नेलाई सजाय किन मिल्दैन?
देश बेच्ने गलत हो भन्नू गलत किन?
अनि गलत हो भन्नू सही हो भने सजाय किन मिल्दैन?
यो गलत र सहीको फैसला आखिर कसले गर्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *