गाइने किरा (बाल कविता)
रमेशचन्द्र घिमिरे
लमजुङ्ग, नेपाल
छोप्ने दाउ गरी कुर्नसम्म कुर्यो
छुन पनि नपाई कता उड्यो-उड्यो
जहाजझैँ माथि उडाउने मन छ
पुच्छर समातेर धागो बाँध्छु भन्छ
तर कसो भयो भाग्यो अन्तैतिर
फुच्चे भाइलाई साह्रै पर्नु पर्यो पिर
सुइँको पाइहाल्यो जसै नजर जुध्यो
छुन पनि नपाई कता उड्यो–उड्यो
गाइने किरा छोप्ने फुच्चे भाइको दाउ
त्यसै खेर गयो छैन उसको ह्याउ
मेरोभन्दा पनि उसका तिखा आँखा
सकिएन भन्दै लाग्यो आफै पाखा
अघि यता थियो अहिले उता पुग्यो
छुन पनि नपाई कता उड्यो–उड्यो