गाइलाई गधा भन्नुपर्छ

गङ्गा लामिटारे
काेलम्बस्, अमेरिका      

घाँमलाई जुन र
जुनलाई घाम भन्नसक्नुपर्छ
हात्तीलाई घोड़ा र
घोडालाई हात्ती भन्नसक्नुपर्छ
चामे ,
नत्र तिमीलाई चावासुमले
घेराबन्दी गर्नेछ !
त्यहाँ रातलाई दिन र
दिनलाई रात भन्नसक्नुपर्छ
त्यहाँ दासता र गरीविलाई
जहिले चपाउनसक्नुपर्छ ।
होसियार चागे,
नत्र जीवनभर झेलमा सड्नुपर्ला !
खुसी र सपनालाई
जहिले त्तिलाञ्जलि दिनुपर्छ
छात्तीमाथि ढुङ्गा राखी
तिमीले हाँस्नसक्नुपर्छ !
नत्र जङ्गे,
जीवनभर देशद्रोही र ङलोप बन्नुपर्ला !
टोपी र फहरियालाई
जहिले श्रद्धांजलि दिनुपर्छ
नत्र गौंथली,
दौरा र चौबन्धीले संधैं च्यातिनुपर्ला !
श्रम चल्छ, पसिना चल्छ
तर,चामे तिम्रो बोली चल्दैन
बैस चल्छ,सहवास चल्छ
तर गौंथली तिम्रो फरिया चल्दैन
कस्तो विडम्वना,
र पनि तिमी त्यसलाई महान छ,भन्छौ
प्रकृति रून्छ, मानवता मर्छ
शान्तिको गर्छ,जहिले पलायन
जनता रूँदा सगुन ठान्छ
हास्नखोज्दा झन् अपमान
नहाँस्न सक्यो न रूनै सक्यो
जाम्बे, तिम्रो स्वाभिमान !
कति सहन्छौ, चागे !
अझ् मानवता विरूद्धको अपमान !
देशभन्दा उच्च जाम्बे ,
तिमीले जहिले सिंहाशनलाई मान्यौ
अनि त ,आत्मसम्मान र स्वाधिनतालाई
जहिले तिमीले फाल्यौ।

गरिवी र निमुखामाथि
किन जहिले ,दाउपेच ?
चागे,
मान्छे मान्छे कै बीच किन हुन्छ विभेद ?
श्रमजीवि र निमुखाको
छाप्रोमा कहिले चुलो जलेन
मात्र गफ झिलिमिलीको,
तर अंध्यारो कहिले गएन
आँसु र दरिद्रीलाई
नासो कहिलेसम्म मान्ने ?
शत्रु कुन् हो स्वाधीनताको
त्यसलाई तिमीले कहिले चिन्ने ?
मने ,
छात्तीमाथि ढुङ्गा राखी
तिमीले हाँस्नसक्नुपर्छ
भाषा र संस्कृतिलाई
तिमीले जहिले तिरष्कार गर्नुपर्छ !
नत्र जङ्गे,
तिमीले जहिले देशद्रोही र ङलोप बन्नुपर्ला !
गाईलाई गधा भन्नुसक्नु पर्छ
विना बादल तिमी वर्षन सक्नुपर्छ,
चागे !
नत्र राष्ट्रीयता खल्बलिन्छ ।
गधालाई गाई नै भनिदिनुपर्छ
नत्र विरे,तिम्रो अस्तित्व माथि
संधै गोलीबारी भइरहनेछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *