गिद्धहरू

डिल्लीराम रेग्मी
ओहायो, अमेरिका

मृत्युशय्यामा हुँदा शरीरलाई
एउटा रड जितेझैँ लाग्दो रहेछ
धेरै गिद्धहरूको ठुँगाइबाट
वञ्चित हुन्छ शरीर।
साँच्चै गिद्धले
सानु ठुलो केही भन्दो रहेनछ
जसलाई जहाँ देख्यो, उसैलाई सिकार बनाउँदो रहेछ
मैले गुन्यु चोली पाएको दिन देखि
मृत्युशय्याको दिनसम्म
म धेरै गिद्धे शय्यामा मारिएकी छु
मलाई गुन्यु चोली दिएको दिन
मेरो हर्ष र खुसी
एकै चोटि आफैँ सम्हाल्न नसक्दा
मैले धानका रहर लाग्दा
लहलहाउँदा बालाहरूलाई आफ्नू खुसी साटिरहँदा
र ती बालाहरू मेरो खुसीमा हौसला दिँदै
वर-पर हल्लिएर हावासँगै मुस्काएका थिए
तर,
गिद्धहरूको एक हुलले
हाम्रो हँसिलो मित्रतालाई
छिन्न-बिन्न पारिदिए
तिनै धानका बालाहरूको शय्या बनाएर
ती गिद्धहरू मलाई ठुँगिरहे
मेरो गुन्यु -चोली च्यातिरहे
बेस्मारी गला दबाइएकी म
मेरो चीत्कार यिनै धानका बालाले मात्रै सुने
मलाई भन्दा ती बालाहरूलाई
धेरै पीडा भएको देखेको थिएँ मैले
म वयस्क हुँदा
मेरो जवानी खुबै फुलेको हुनुपर्छ
हैन भने म हरेक दिन
मेरी चञ्चले भैँसीलाई बन्सो काट्न जाँदा
लाजले बन्सो पनि
आफ्नो शिर झुकाएर
भुईँमै नतमस्तक भएको हुन्थ्यो
तर,
यो मेरो, मेरी भैँसीको र बन्सोको
प्यारो मित्रतालाई अर्को हुल गिद्धले
छ्यान्द्रै छ्यान्द्रा पारिदियो
त्यही बन्सोको शय्या बनाएर
ती गिद्धहरू मेरो कुर्ता सुरुवाल च्यातिरहे, फटाइरहे
र मलाई एक नाशले पालै-पालो ठुँगिरहे
बेस्मारी गला दबाइएकी म, मेरो चित्कार
बन्सोले मात्रै सुन्यो
मलाई भन्दा त्यो लहलहाउँदो बन्सोलाई
असह्य पीडा भएको देखेको थिए मैले।
म गृहिणी हुँदा
मेरो, अझ भनौँ हाम्रो, घर खुबै सजेको हुनुपर्छ
घरको मूल ढोका पूर्व फर्किएको थियो
हरेक बिहान, झिसमिसे हुन नपाउँदै,
सूर्य मलाई मेरो ओछ्यानमै लिन आइपुग्थे
मूल ढोकाको छेवैमा रहेको सिकुवामा
मैले आफैँले बुनेको गुन्द्री ओछ्याइएको थियो
यस्तो लाग्थ्यो मानौँ
हाम्रो घरले सबैलाई स्वागत गरिरहेको छ
तर,
हाम्रो यो खुसी परिवारलाई
मेरो उज्यालो घरलाई
फेरि अर्को हुल गिद्धले
तहसनहस पारिदियो, अन्धकार बनाइदियो सधैँका लागि
मैले आफैँले बुनेको गुन्द्री शय्या बनाएर
ती गिद्धहरू मेरो सिन्दूर पुछिरहे
मेरो साडी-ब्लाउज च्यातिरहे, मलाई ठुँगिरहे
बेस्मारी गला दबाइएकी म,
मेरो चित्कार, गुन्द्रीले मात्र सुन्यो
मारिइसकेका मेरो पतिले पनि सुनेनन्
मलाई भन्दा गुन्द्रीलाई
अशक्त पीडा भएको देखेको थिएँ मैले
पूर्ण शरीर एसिडको सिकार भएर
म अहिले मृत्युशय्यामा छु
तर मेरो शरीर खुसीले उन्माद भएको छ।
त्यसैले होला,
मृत्युशय्यामा हुँदा शरीरलाई
एउटा रड जितेझैँ लाग्दो रहेछ
म बरम्बार गिद्धे समाजको,
गिद्धे लडाई लडेर लडेकी छु।
यस्तो लाग्छ,
के अरू ठुला लडाइँमा पनि यस्तै हुन्छ?
एक सर्को सास सबैको भागबाट हरपल घटिरहन्छ,
कोही जिउँछन् जिन्दगीलाई, कसैको काटिन्छ जिन्दगी।

One Reply to “गिद्धहरू”

Leave a Reply

Your email address will not be published. Required fields are marked *