गीतकार खेम रिजालको ऊर्जा: पुस्तक समीक्षा
डा. गोविन्द रिजाल
खेम रिजालको नयाँ कृतिऊर्जा मेरो हातमा पर्ना साथ यसको आवरणले मलाई सम्मोहित बनायो । गाढा र हल्का नीला पृष्ठभूमिमा सेतो आकृति र अक्षरहरूको पारस्परिक कन्ट्रास्ट, छुँदा मुलायम आभास दिने खोल भित्र के के लेखिएको होला मनमा कौतुहलता भरियो।
आवरणबाट पुस्तकको मूल्याङ्कन नगर्नु भन्ने रूपक मेरो अघि आयो। तत्काल पन्नाहरू पल्टाउने अवस्था थिएन । यो पुस्तक पढ्ने समय पर्खन मलाई धेरै सकस पर्यो । पशुपति मन्दिर क्षेत्र नजिकैको पालज्ञा होटेलमा गीतकार खेमले सो पुस्तकका आफूद्वारा हस्ताक्षरित प्रतिहरू कवि रमेश गौतम र मलाई थमाएका थिए ।उक्त अनौपचारिक भेला थप रोचक त्यस कारणले पनि थियो कि त्यो क्षण गीतकार खेम रिजालका साथ गायक प्रताप सुब्बा, तेक्वान्दो प्रशिक्षक रत्न बहादुर राई, सङ्गीतकार कर्मा ग्याल्छेनसँगको भलाकुसारीको समय थियो ।
त्यसको केही घण्टापछि म मेरो वासस्थानमा पुगे पछि यो पुस्तकका पानाहरू पल्टाउने योग मिल्यो ।
“जे जे हुनु भैगो अब कुरा नचलाऊ न
आलो यो घाउमा फेरि छुरा नचलाऊ न” (पृष्ठ: १)
गीति सङ्ग्रहको यो पहिलो गीत रहेछ जुन मैले पहिले नै सुनिसकेको थिएँ । मेरा पाठक, ऐले तपाइलाई जस्तो लागिरहेको छ, मलाई त्यस्तै त्यस्तै लागेको थियो। बिस्तारै शब्द समायोजन नियालेँ र अर्थ बुझ्ने गरी फेरि पढेँ । पढ्दा आनन्द लाग्यो । कुनै जमाना थियो जति बेला आवाजलाई अस्थायी र लिखितलाई स्थायी मानिन्थ्यो । आजभोलि आवाजहरूलाई पनि स्थायी बनाउन यन्त्रहरू बनाइएका छन् प्रयोगमा छन् र सुलभ छन्। लेखेर जस्तै आवाजहरूलाई पनि सर्वकालीन बनाउन सकिन्छ आज। गीतकारले दोहोरो सुरक्षा प्रणाली अपनाए छन् । अब आवाज हराए पुस्तक र पुस्तक हराए आवाज, उनले आफ्ना रचनाहरूलाई कालजयी बनाएका छन् ।
यो पुस्तकमा १११ गीतहरू समावेश छन् जसमध्ये पैँतीस वटा गीतहरू विभिन्न गायकहरूको आवाजमा रेकर्ड भइसकेका छन् – डबल सुरक्षा पाइसकेका छन्। अन्य रचनाहरू पनि स्वरको पर्खाइमा देखिन्छन् ।
प्रत्येक गीतहरू पूर्ण कथाजस्तो छन् । कथा बोल्छन् । केही रचनाहरू सौन्दर्यले भरिपूर्ण छन्, केहीले बिछोडको भाका बोल्छन् र अधिकांश गीतहरू वियोगमा रुन्छन् । ईर्ष्या र शङ्काका गीतहरू पनि प्रशस्तै छन् ।
“लुकाएर मनका कुरा नथुनेकै जाती
दोधारमा सपनाहरू नबुनेकै जाती
कुरी रहन्छ्यौ किन आधा बाटो खनी
पुछे हुन्छ सिउँदोको सिन्दूर पनि “ (पृष्ठ: १४)
यो गीति-सङ्ग्रह लयात्मक अनुभूति तथा कलात्मक शब्द संरचनाकोको सँगालो हो । सरल शब्द, गहन परिस्थिति, चोटिला स्थायी र स्थायीलाई न्यायिक प्रमाण दिने तर्कपूर्ण अन्तराहरूको मिश्रणबाट मिठा गीत बनेका छन् ।
“टुटेपछि हाम्रो नाता दुनियाँलाई चासो भयो
मर्ने बाँच्ने ठेगान छैन एक-अर्कालाई पासो भयो ” (पृष्ठ:४१)
पाँच वटा युगल गीतहरू हुन् । युगल बाहेक अन्य सबै गीतहरू दुई हरफको एक स्थायी र चार हरफका दुई अन्तराको कठोर शास्त्रीय अनुशासन भित्र रहेर रचना गरिएका छन् ।
साहित्य परिषद् भुटानको लोगो अन्तर्गत प्रकाशित यो गीति-सङ्ग्रहलाई प्रशंसा गर्नुपर्ने धेरै आधारहरू छन् । गीत लेख्न इच्छा भएका र लेख्न चाहनेहरूले यो गीति सङ्ग्रह पढिसकेपछि पक्कै भन्नेछन् “गीत लेख्न खेम रिजाल बाटै सिक्नुपर्छ ।”
स्वर भरिसकेका गीतहरूको मूल्याङ्कन गायन बाटै गर्नुपर्ने हुन्छ । अन्य स्वरकृत हुन बाँकी गीतहरू भने बीजकै रूप मात्र छन् । सबै गीतहरू अर्थ र भावले पूर्ण छन्, चोटिला लाग्छन् र स्वस्थ देखिन्छन् । जसरी स्वास्थ्य बीजहरू मलजल, स्याहार-सुसार र वातावरण अनुसारको बोट बन्छन्, र तिनमा पाउला पलाउने कोपिला लाग्ने, फूल फुल्ने र फल फल्ने हुन्छ त्यसरी नै बीजको रूपमा रहेका गीतहरू सङ्गीतकार, गायक र श्रोताको लालन-पालनमा भर पर्छन्।
ती सबै गीतहरू चाँडै स्वरबद्ध हुन् मिठासले पूर्ण कोकिल बनुन् र कालजयी भई रहिरहुन् गीतकारले कल्पना गरेको भन्दा धेरै लामो समयसम्म । गीतकारलाई शुभकामना ।