गीत
गंगा अधिकारी
एडिलेड, अष्ट्रेलिया
सम्झनामा टोलाउँदा, बेहोशीमा कराउँदा
साथ दिनू तिमी मलाई, आँधीबेह्री आर्इदिँदा ।
दोबाटोमा अल्मलिँदा, अन्धकारमा रुमलिँदा
हात दिनू तिमी मलाई, अन्योलमा अतालिँदा ।।
काम गर्ने जोस आउँदा, जिउँछु भन्ने आशा छाउँदा
आँट दिनू तिमी मलाई, पाइला अघि बड्न खोज्दा ।
लड्दै-पड्दै हिड्न खोज्दा, चौतारीमा थकाई मार्दा
साथमा हुनू तिमी मेरो, सफलताले ओठ चुम्दा ।।
सम्झनामा टोलाउँदा, बेहोशीमा कराउँदा
साथ दिनू तिमी मलाई, आँधीबेह्री आर्इदिँदा ।
एक्लोपनमा हराउँदा, साथ खोज्दै भौंतारिँदा
नजिक आई बस्नू तिमी, सपनीमा भेट्न आउँदा ।
साँझपख जून हेर्दा, अँधेरीमा एक्लै कुर्दा
हात मेरो थामी दिनू, जीवन जिउने साथी रोज्दा ।।
सम्झनामा टोलाउँदा, बेहोशीमा कराउँदा
साथ दिनू तिमी मलाई, आँधीबेह्री आर्इदिँदा ।