गुरुजी ट्याक्सीमा छुस छ ?

विश्वासदीप तिगेला / बेलायत

केही समय अघिको कुरा हो । निक्कै लामो समय परदॆशमा बिताएर सम्भवतः मेरो जीवन अवधिमा आएको एकमात्र अवसर संविधानसभाको चुनावको लागि घरदेश पुगेको थिएँ । धेरै कुरा उमेरमा निर्भर रहन्छ भन्ने हाम्रो मान्यताअनुसार यसपटक मलाई मोटरबाइकमा मनखुशी हुँइकिन मन लागेन । काठमाण्डौको अस्तव्यस्त ट्राफिक व्यवस्थाले त झन राजधानी एकैछिन पनि नबसुँ झैं लाग्यो । चुनावताका साँच्चै नै काठमाण्डौ राज्यविहीन थियो । कुनै व्यक्तिले कसैको कतैको डर मान्ने गरेको पाइनँ । स्वयं जोगिनु नै सबैभन्दा ठूलो उपलब्धि जस्तो लाग्थ्यो ।
देशकै एउटा राजनैतिक महोत्सव भनौं संविधानसभा निर्वाचनकोबेला बाध्यात्मकवश धेरैपटक अर्थात कहिलेकाहीँ दिनभरजस्तो ट्याक्सीमा हिड्नु पर्थ्यो । एउटै दूरीको एउटै बाटोमा ट्याक्सी भाडा फरकफरक उठ्थ्यो । यतिसम्म की कहिले त पत्यारै नलाग्ने भाडा उठ्थ्यो । ट्याक्सी हँकाइ पनि फरकफरक हुन्थ्यो । काठमाडौको ट्राफिक त्यसमा कतै कतै बिग्रिएको बाटो अनि ड्राइभरको हँकाइ धेरै अनौठो लाग्थ्यो ।
झण्डै डेढ महिनाको काठमाण्डौ बसाईमा सधैंजसो ट्यासी चलाउनु मेरो नियति थियो । कहिले ट्याक्सीको धनी नै ड्राइभर काम गरेर हिँडेको भेटें र प्रायःजसो मालिकको ट्याक्सी चलाउने ड्राइभरहरुलाई भेटें । ती ड्राइभरहरु कोहि पाका हुन्थे कोहि तन्नेरी र कोहिचाहिं दादागीरी गर्नेजस्ता भेटें । विभिन्न ट्याक्सी ड्राइभरहरुसँग भलाकुसारी गर्ने क्रममा चाहिँदो नचाहिँदो धेरै कुराहरुको जानकारी मिल्थ्यो । ट्याक्सीसँगको उनीहरुको जीवन निक्कै कष्टप्रद देखें । हुन त राजनैतिक अस्थिरताले सारा देशवासी नै मारमा परेको बेला उनीहरुको मात्र त्यो समस्या थिएन । जो ट्याक्सी चलाएरै काठमाण्डौमा स-परिवार बसेका थिए, उनीहरुलाई नानी पढाउने, घरभाडा तिर्ने, हातमुख जोड्ने समस्या विरक्त्त लाग्दो थियो ।
एक साँझको कुरा, नयाँ बानेश्वर चोकबाट ललितपुर आउनु पर्ने भयो । हतारको कारण म सिधै ट्याक्सी चढेँ । बाटोमा ट्राफिक खासै थिएन । असाधारण तरिकाले उसले ट्याक्सी हाँक्यो । बेलाबेला हर्न पनि लगाउँथ्यो । म स्वयंलार्इ पनि ड्राइभिङको बारे थोरबहूत ज्ञान भएकोले त्यो ड्राइभरको हँकाइप्रति शंका लाग्यो । त्यसदिन मैले केही सोधिन । अर्को पटक एउटा पातलो ज्यान भएको ड्राइभर थियो, उ अलि बोलाइलो थियो र भर्खरैदेखि मात्र यो काम गर्न शुरु गरेको रहेछ । उसलाई मैले सोधें- ए भाई यो ट्याक्सीहरुले एउटै दुरीमा किन फरकफरक मिटर भाडा उठाउँछ हँ ? उसले भ्याटै मुख खोल्यो l थियो होला निः दाइ- सेटिङ नै त्यस्तो । अब मेरो जिज्ञासा बढेर आयो- कस्तो हो त्यो सेटिङ ?
अर्कोपटक अर्कै ट्यासीमा फेरि बाटो काट्ने गफ झिक्दै-ए दाइ ट्याक्सीमा पैसा धेरै उठ्ने मिटरको सेटिङ हुन्छ रे नि-हो ? मैले भनें । खै सर हामीलाई त थाह भएन, उमेरले निक्कै पाको ड्राइभरले जवाफ दियो । फेरी अर्को पटक अलि हल्ला गर्ने ड्राइभर भेटें । ए भाइ, त्यो तिम्रो मिटरमा पैसा धेरै उठ्ने सेटिङचाहिं नहाल है- मैले भनें । ए दाइले छुस (अर्थिङ) को कुरा गर्नुभएको, त्यो त नाइट ट्याक्सीमा हुन्छ दाइ, यो त मेरो आफ्नै गाडी हो, त्यस्तो यसमा छैन । अर्को पटक ठमेलबाट अबेर घर फर्कनु पर्ने भयो । ट्याक्सी समातें । निर्धक्क साथ भने –भाइ, मिटरमा छुसचाहिं नथप है, यहाँबाट मेरो घर पुग्न कति लाग्छ मलार्इ थाहा छ । यसपटक उसलाई कुरा लुकाउने मौका भएन र बोल्न थाल्यो-दाइ, तेल महँगो छ, साहूको गाडी हो, प्रत्येक दिनको पैसा मालिकलाई दिनैपर्छ । टिप्स भनेजस्तो लाग्दैन । परिवार यहिँ छ, पाल्नै पर् यो । यसो अलिअलि त छ सर । मैले भनें- ए तिमी त बद्मास रहेछौ । उसले जवाफ दियो-होइन सर यहाँको ९५ प्रतिशत ट्याक्सीमा छुस हुन्छ । ट्याक्सी घरअगाडि पुग्यो । भाडा अघिल्लो पटकको भन्दा अलि बढि उठ्यो तर, उसको दुखेसो र जानकारीको कारण मेरो मन प्रसन्न भयो र खुशीसाथ तिरें ।
अब मलाई ट्याक्सी जीवनको बारेमा निक्कै जानकारी भयो । ट्याक्सी चढ्नेबित्तिकै पुन सोधिखोजि गर्न थालिहाल्थें । ए भाइ, आजचाहिं तिमीले छुस लागाउनुपर्छ है- ड्राइभर मुसुक्क हाँस्यो । साँच्चै भनेको भाइ, छुस लागाउनु l अनि पैसा बढी उठ्छ निः । त्यो तिर्नुहुन्छ ? प्रतिप्रश्न गर्यो ड्राइभरले । ल म पैसा तिर्न राजी छु, छुस लागाउ-मैले भनें । उसलाई पनि नौलो लागेछ, छुस लगाएर देखायो, म रोमान्चित भएँ । ए भाइ, ल भन अरु कुनकुन ठाँउमा छुस राखेको हुन्छ ? दाइ, मेरो चाहिं दाहिने कुहिनाले छुने गरी ढोकाको भित्रिपट्टि नदेखिने तवरले राखेको छु । अनि अरुहरुले चाहिं कता राख्छन् त खोइ दाइ ! अरुले यो हर्न लगाउने ठाँउनेर राख्छन्, कसैले खुट्टाले छुन मिल्ने गरी एस्किलेटर नजिक राख्छन्-यति भनेपछि मैले ठाँउमा पुग्न अगावै पुन छुस लगाउन लगाएँ । उसले छुसलाई कुहिनाले छोयो, अगाडि राखिएको मिटर फनन घुमेर ७५ रुपैयाँबाट एकैचोटि ९५ पुग्यो । ठाउँ आयो, म उत्रिएँ र भनें- ए भाइ तिमीहरु त बद्मास हुँदा रहेछौ । दाइले भनेर मात्र मैले देखाएको, अब के कुरा दाइ, मिटरमै पनि त डेढी हिर्काउने बनाएका हुन्छन् ।
यो ड्राइभरलाई खुशी बनाएर अरु धेरै कुरा लिनुछ । त्यसैले कुरा उठान गाउँ, परिवारदेखि लिएर उसको प्रेम कहानीसम्म पुर् याए र एकप्रकार उसको मनको कुरा लिएपछि पुनः त्यही छुसको कुरासँगै थपिएको डेढी मिटरमा लगें । यो मिटरहरु दाइ, नेपालमा इटालियन, कोरियन र अमेरिकन बढी चलाइन्छ । त्यसमा कोरियनचाहिं अलि सजिलो छ डेढी बनाउन । अनि डेढीचाहिं कहाँ बनाउने नि ? त्यो दाइ, हामीले नापतौलमा मिटर लैजानुपर्छ, त्यतिखेर नै एकदुइ सय दिएपछि उनीहरुले नै एक किलोमिटर गुढेबापत २० रुपैयाँ हुनुपर्ने ठाँउमा २४ रुपैयाँ उठ्ने बनाइदिन्छ । अनि टाँचा लगाइदिन्छ । अब जति हिर्काउने मिटरको काँटा बनाउन चहानुहुन्छ त्यतिनै हान्ने पनि बनाइदिन्छ । बढी काँटा हान्ने बनाएमा धेरै समस्या आउँछ दाइ । लौ भाइ, मलार्इ भन कस्तो बेला र कसरीचाहिं ट्याक्सीले बढी भाडा लिन्छ ? दाइ, पहिलो नम्बर तपार्इंलाई यहाँको ठाउँको बारेमा थाहा छ-छैन, त्यो विचार गर्छन् । यदि तपर्इंलाई थाहा छैन भन्ने थाहा पाएमा अत्यधिक छुस लगाउँछन् । ल भन त ड्राइभरले छुस लगाउँदैछ भनेर चाहिं कसरी थाहा पाउने ? हेर्नुहोस दाइ, यदि ट्याक्सी राम्रो बाटोमा पनि कुनैबेला स्पीडमा कुदाउछ, हर्न बजाउँछ अलि बढी हल्लाउँछ भने त्यसबेला छुस थप्दैछ भनेर शंका गरे हुन्छ । किनकि त्यसबेला ड्राइभर चाहन्छ प्यासेन्जरले ध्यान चलिरहेको मिटरमा नभई आफैं सम्हालिनमा ध्यानदेवस ।
मेरो गन्तब्यस्थान आइपुग्यो । हितैषी ड्राइभरको फोन नम्बर टिपे र फेरि भेट्ने वाचा गर्दै ट्यासीलाई छाडिदिएँ ।
यसपटक म साथिसँग छु । हामी जुनसुकै ट्याक्सी ड्राइभरलाई मनले जितेरै छुसको बारे कुरा झिकेर इल्लिबिल्ल बनाउन थालेका छौं । हामी नारायण गोपाल चोकबाट बागबजार आउनु थियो । ट्याक्सीमा चढ्दा चढ्दै ड्राइभर दाइ, हामीलाई त तपाईंको मिटरमा सरर छुस चढेको मनपर्छ । ट्याक्सी अगाडि गुड्यो । ट्याक्सीको मिटर पनि इटालियन, राम्रो रहेछ । यो मिटर त लक्षिनको हुन्छ, पैसा भुरुरुरै झार्छ । हाम्रो हल्ला पनि बढ्दै गएको थियो । हामीलाई कुन प्रकारको गाडी, कस्तो ड्राइभर वास्तै थिएन । अन्ततः हाम्रो हल्ला र पेलाइले ड्राइभर हामीतिर फर्केर बोल्यो–ए भाइहरुलाई छुस भएको ट्याक्सी चाहिने रहेछ, मेरोमा त छुस छैन, लौ यतै ओर्लिनुहोस । निक्कै लामो दुरी हिँडीसकेको ट्याक्सी पनि रोकियो । सधैं ट्याक्सी ड्राइभरलाई जित्दै आएको हामी त्यसबेला हार्यौं । ड्राइभर दाइ– भद्र र बुढा थिए । ट्याक्सी पनि कालो कार थियो । जर्मनी गाडी झैं देखिन्थ्यो भाइ, यो इलाकामा मैले ट्याक्सी चलाएको २५ वर्ष भयो, छुट्नु अघि बुढाले अर्को डाइलग थपे । लाग्यो यो क्षेत्रमा सज्जनवर्ग पनि अवश्य छन् ।
बढी उम्लिएपछि पोखिएझैं छुसको बारे चर्चा अलि कम हुनथाल्यो । निर्धक्क बोल्न नसक्दा त छुस हान्दै गर्छन् । छैन पनि भन्छन् अनि त्यो पैसा पनि तिराउँदा रहेछन् । तपार्इंले सोध्नुहोस त–उनीहरुले पहिलो कुरा ‘हुँदैन’ भन्छन् । दोस्रो नम्बर मेरोमा चाहिं छैन भन्छन् । तेस्रो नम्बर म त्यस्तो होइन भन्छन् । आखिरमा चाहिं सबै ट्याक्सीमा हुन्छ भन्छन् । त्यसो भए म पुलिसलाई रिपोर्ट गर्छु भन्नुहोस । उनीहरु भन्छन्, यो कुरो तपार्इंले भन्नै पर्दैन, पुलिसलाई राम्ररी थाहा छ । उनीहरुले पनि खान पर्यो निः भन्छन् ।
अलि रिस उठाउँदा अरुकुरा आउला कि भनेर म भन्छु– ए भाइ, काठमाण्डौमा त सबै बदमास छन् हगि ! तिमीहरु ट्याक्सी ड्राइभरले मिटरमा पनि तोकिएको मापदण्डभन्दा बढी उठाउँछौ, छुस पनि लागाउँछौ । यसो भगवानसँग डर लाग्दैन ? जवाफ आउँछ– दाइ, पहिलो नम्बर मलाई भन्नुहोस, कस्तो मान्छे ट्याक्सी चढ्छ । अनि दाइ, नर्बिसनुहोस यो नेपाल हो, विदेश होइन । मैले भनें–लौ ड्राइभर भाइ, तिम्रै जीत भो ।
biswasdip@ymail.com
२ नोभेम्बर ०८, वेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *