गोप्य राख्नु पर्ने कुराहरू

मधु घिमिरे
पेन्सिलभेनिया,अमेरिका

पैसाको अथवा इमान पदको हानी भएका कुरा
पत्नीको पतिको र प्रेम पथमा हिँड्दै गरेका कुरा
कोहीले अपमान ज्ञान गुणको हर्दम् गरेका कुरा
आत्मामा अति गोप्य राख्नु जहिल्यै सम्पूर्ण यस्ता कुरा १

जो हुन् मन्त्र र तन्त्र नित्य जपिने रक्षार्थ छन् प्राणका
आफ्ना छन् जति योजना निकटका सम्मानका मानका
आफ्नो रोग उमेर औषधि तथा खाता कुनैं बैंकका
आत्मामा अति गोप्य राख्नु जहिल्यै सम्पूर्ण यस्ता कुरा २२

सेवा दान र धर्म कर्म गरिने यज्ञादि पूजा विधि
जो छन् ती घरका अनेक लफडा मिल्ने नमिल्ने गिदी
आम्दानी र कमाइ हुन्छ कतिको कस्तो छ भन्ने कुरा
आत्मामा अति गोप्य राख्नु जहिल्यै सम्पूर्ण यस्ता कुरा ३

आफ्ना ती कमजोर छन् यदि भने भन्दै नभन्नू कतै
यस्ता यी कमजोर आदत लिई हानी दिनेछन् जतै
धामा पौरख कर्म धर्म मनले छन् धेर गर्ने कुरा
आत्मामा अति गोप्य राख्नु जहिल्यै सम्पूर्ण यस्ता कुरा ४

शार्दूलविक्रीडित छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *