ग्लोबल बन्यो शरणार्थी साहित्य
कुमार लुइँटेल
दमक
नगण्य रुपमा केही दशक अगाडिबाटै भूटानी नेपाली साहित्यले बामे सर्न शुरु गरेको हो । तर, नब्बेको दशकबाट भुटानी साहित्यले एउटा आस लाग्दो माहौल सृजना गर्यो । भूटानभित्र अहिले पनि साहित्य र पत्रकारितालाई त्यहाँको सरकारले चाहिए जति स्वतन्त्रता दिएको छैन् । स्वदेश भित्रबाट नभएर प्रबासबाट शुरु भएको भूटानी नेपाली साहित्य अहिले समग्र भूटानको प्रतिनिधित्व गर्दै बिश्वव्यापीकरण भइसक्यो यतिबेला । यस्लाई बिश्वब्यापीकरण (ग्लोबल) बनाउन तेस्रोदेश पुर्नवासमा गएका युवाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अमेरिकामा रहेका भुटानी युवा साहित्यकार पुरानाघरे भुटानी साहित्यले बिदेशमा समेत प्रभुत्व जमाएको बताउँछन् । झापा र मोरङका शिविर चिहाउँदै बिकास पथमा लम्किएको साहित्य र भाषा उत्थानको यो अभियानलाई भुटानीले यतिबेला सम्पूर्ण युरोप र अमेरिका भरी छर्न भ्याइसकेका छन् । अहिले भने उनीहरु विश्व स्तरको साहित्य लेखनमा आधुनिक मान्यता र गुणस्तरको खोजि अभियानमा छन । जात, भाषा, धर्म, रहनसहन, पहिचान, संस्कृति र संस्कार नेपालीसँगैं मिल्दोजुल्दो छ उनीहरुको । राष्ट्रियता मात्र फरक हो । नेपालीसँगको यो नज्दिकी सम्बन्धकै कारण भुटानीले नेपाली भाषा र साहित्यको बिकासमा निरन्तर गुन लगाएका हुन् । पूर्वी नेपालमा शरणार्थी शिविर बसेपछि नब्बेको दशकमा गठन भएको नेपाली भाषा परिषद भुटानले भाषा तथा साहित्य उत्थानको जङ्गेपीलर नै ठड्याएको थियो । भूटान गजल मञ्चका अध्यक्ष याम थुलुङ भन्छन्,‘नेपाली भाषा र साहित्य बिकासको गति यतै आएपछि ह्वात्तै बढेको हो ।’
भुटानी शरणार्थीको तेस्रो देश पुनर्वास शुरु नहुञ्जेल शिविर र आसपासका नेपाली बजारहरुसम्म मात्र सीमित थियो भुटानी साहित्य । तर, सन् २००८ बाट भुटानीहरु शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका सहित युरोपका बिकसित देश पुगेपछि छाप्रोबाट शुरु भएको साहित्यिक यात्रा ‘ग्लोबल’ बन्दै छ । अहिले अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत, डेनमार्क, नर्वे, नेदरल्याण्ड र क्यानडामा रहेका भुटानीले उतैबाट साहित्यिक खुराक पस्कदैछन, त्यो पनि आधुनिक प्रबिधिको उपयोग गर्दै । हिजो शिविरमा रहँदा हवाई पत्रिका छाप्नेहरु अहिले इ म्यागजिन चलाउँदै छन् उता युरोप अमेरिकाबाट ।
अमेरिकामा इन्टरनेटमा गजल म्यागजिन् चलाईरहेका साहित्यकार पुरानाघरेले इमेल कुराकानीमा भने,‘आधा दर्जन भन्दा धेरै साहित्य सम्बन्धि साईटले प्रबासका खुराक समेत पस्कन भ्याएका छन् ।’ उनका अनुसार नेपालका शिविरमा रहेका शरणार्थी र बाहिर रहेकाहरुको रचनाले समेत स्थान पाइरहेका छन् यी साइटहरुमा । पुरानाघरे अमेरिका जानु अघि यतै दमकमा हुदाँ पनि साहित्यिक गतिबिधिमा सकृय थिए । उनको प्रलयाग्नीको संघारबाट कबिता संग्रह विसं २०६६ साल आषाढमा दमकबाट प्रकाशन भएको हो जतिखेर उनी तेस्रो देश स्थानान्तरण अन्र्तगत अमेरिका जाने अन्तिम तयारीमा थिए । उनले अमेरिका पुगे लगत्तै गजलको अनलाईन संस्करण शुरु गरेका हुन् । उनी भन्छन्,‘प्रबिधिले यहाँ र शिविरका मानिसलाई एकै ठाउँ जोडिदिएको छ ।’
भाषा र साहित्यको बिकासमा भुटानीले पुर्याएको योगदानको भर्पाइ गर्न नेपालीलाई हम्मेहम्मे पर्ने बताउँछन् दमकका साहित्यकार प्रकास आङ्देम्बे । ‘हामीले गर्ने कतिपय काम उनीहरुले गरिदिए,’ आङ्देम्बे भन्छन्,‘ नेपाली भाषा साहित्यको बिकासमा भूटानले लगाएको गुन तिर्न मुश्किल छ । ’ अहिले पनि शिविरिमा साहित्यको गतिबिधि बाक्लै भइरहेका छन् । पुनर्वासमा जाने र यता रहनेबीच सम्झाउनी बिर्साउनीका लागि हरेक हप्ता साहित्य साँझ हुने गर्छ रित्तीदै गएका शिविरहरुमा । यो साँझमा नेपाल र भूटान दुबैतर्फका साहित्यकारले कविता, गजल, रुबाई वाचन गरेर मनोरञ्जन गर्छन् । बाहिर जानेलाई बिदाई गर्ने अवसरको रुपमा साहित्यिक साँझ नै गर्न शुरु गरिएको आङ्देम्बेले बताएका छन् ।
भुटानबाट लखेटिएर राज्यबिहीन बनाइएका शरणार्थीले अचकाली माया गरेको नेपाली भाषा र साहित्य बिकास यता नेपालतिर भने सन् १९९३ बाट आरम्भ भएको हो । यद्धपि भूटान भित्रै सन् १७१७ देखि नेपाली भाषा र साहित्यको बिकासमा कखरा शुरु भएको थियो । भारतको सिलिगुडीबाट प्रकासित हुने ‘बाडुली’ पत्रिकामा प्रकासित एउटा लेखका अनुसार १७ औं शताब्दीमा भुटानको राजनीतिक, शासक प्रशासक, लडाइँ झगडा, धर्मराजा शाब्ड्रुङ्गको आर्दश व्यक्तित्व र देशभक्ति— राजभक्तिको वर्णन गरिएको छ । यो नै भुटानको सन्र्दभमा पाइएको नेपाली भाषाको नमुना भएको भूटानी अगुवाहरु बताउँछन् । सन् १९३० मा गर्जमान राईको ‘बंशावली’ नै भूटानको पहिलो नेपाली कविता हो । गुरुङले पारुका राजा छिचुलाई भेटगरी दक्षिण भुटानमा रस्तीवस्ती बसाउन आज्ञा लिएका थिए । भूटानी साहित्य सम्बन्धि लिखतका अनुसार सन् १९५० मा गुरुङ्गको बंशावलीमा कविताको अंश यस्तो छ ।
आठ दश हजारको भेटी राखि तहाँ
बिन्ति चँढाया त हजुर महाँ
महाराजाको दर्शन पनि गर्नलाई
इच्छा थियो र महाराजा पनि आज आई ।।
यो पछि साम्चीका जसराज काजीद्वारा लेखिएको राष्ट्रगान नै पहिलो फुटकर कविता मान्छिन् । यसलाई राजभक्ति र देशप्रेमले भरिएको स्तुतिगान मानिन्छ । भूटानमा सन् १९६० को दशकमा देशव्यापी रुपमा आधुनिक शिक्षको पठन पाठन शुरु भएको थियो । यसमा नेपाली भाषा पनि पाठ्यक्रममा समावेश गरियो । त्यसपछि नै नेपालीभाषी भूटानीले आफ्नै मातृभाषामा आफ्ना सन्तानलाई पढाउने अवसर पाएका थिए । सन् १९६४ मा भीमकुमार राई र सुकुमान मोक्तानको सम्पादनमा भूटानको राष्ट्रिय समाचार पत्र ‘क्युन्सेल’ पत्रिका प्रकासन आरम्भ भयो । यो पत्रिकाले पनि साहित्यको बिकासमा टेवा पुर्याउन शुरु गर्यो । सन् १९७१ मा भूटानको पहिलो साहित्यिक पत्रिका ‘अमर भुटान’ हरिप्रसाद अधिकारीको सम्पादनमा बनारसबाट प्रकाशन आरम्भ भयो । त्यसपछि सन् १९७९ मा ‘ड्रूकलोसेल’ पत्रिका प्रकासन भएको थियो । पत्रिकामा साहित्यिक लेख रचना बाहेक भूटानको रहनसहन र सांस्कृतिका विविध पक्षलाई समेट्ने गर्दथ्यो । ८० को दशकसम्म आईपुग्दा हिमाल (कविता संग्रह), शंकर महाकाब्य, कल्पत्रयी खण्डकाव्य, समाज (नाटक), दन्तेकथा (कथासंग्रह), नारी उपन्यास आदि प्रकासित भए । झण्डै ३६० बर्ष अधिदेखि वैधानिक रुपमा भूटानमा बसोवास गर्दै आएका नेपालीभाषी भूटानीले सन् १९९० सम्म आइपुग्दा निक्कै ठूलो बिपत्ती र संकट भोग्नु पर्यो । ‘एक राष्ट्र एक प्रजा’को नीति अबलम्वन गरेपछि नेपालीभषी भूटान सरकारको लखेटाईमा परे । सन १९८९ देखि १९९२ सालसम्म भूटानका सबै स्कुलहरुमा नेपाली भाषामा लेखिएका दशकौंदेखि पढाइएका किताबहरु जालाइयो र नेपाली भाषा पढाउन रोकमात्र लगाइएन अधिराज्यभरि नेपाली भाषा बोल्न, नेपाली संस्कार मान्न, र नेपालीहरुको धर्म पालना गर्न पनि प्रतिब्रन्ध लगाइयो । यसरी भूटानमा नेपाली अस्तित्वको चीरहरण भए पछि यी निरीह भूटानी नेपालीहरुले नेपाली अस्तित्वका अवशेष, र आफ्नो जालइएको भाषाको खरानी बोकेर भूटानबाट रातारात लखेटिनु प-यो ।
‘झापा र मोरङमा शिविर बसेपछि पुनः भूटानीले आफ्ना संस्कार बचाउने अभियान चलाउन आरम्भ गरे,’ भूटान गजल मञ्चका अध्यक्ष याम थुलुङले भने,‘त्यसयता भने पछाडि फर्कनु परेको छैन् ।’ नेपाली भाषा परिषदको भूटानबाट शुरु भएको यो यात्रा अहिले साहित्य परिषद भूटानसम्म आइपुगेको छ । साहित्य परिषद भूटान शरणार्थी पुर्नवासमा गएका प्राय सबै देशका प्रतिनिधि रहेको नयाँ संगठन हो । यो भूटानीहरुले शरणार्थी हुँदा स्थापना गरेको नेपाली भाषा परिषद् भूटानकै विकशित रुप हो । नेपाली भाषा परिषद् भूटान युवाहरुको पहलकदमीमा एक दशक अगाडि नै नेपाली साहित्य परिषद भूटानमा रुपान्तरित भएका हो । अहिले तिनै युवाहरुको सक्रियतामा नेपाली साहित्य परिषद भूटानलाई नै क्षेत्रविस्तार र स्तर उन्नती गरी साहित्य परिषद् भूटान बनाईएको कबि पुरानाघरे बताउँछन । यी भूटानीहरुले साहित्य विकाशमा देखाएको यो मार्गचित्र प्रशंसनीय छ । साहित्य परिषद् भूटानको नेतृत्व अहिले साहित्य र पत्रकारितामा भूटानीहरुमाज अब्बल दर्जा हासिल गरेका युवा भक्त घिमीरेले गरिरहेका छन् । अमेरिकामा रहेका उनले भने,‘पुर्नबासमा आठ मुलकुमा आएका सबै साहित्यकार समेत सदस्य रहने गरी नयाँ समिति बनाएका छौं ।’ यसलाई अमेरिकामा बैधानिक रुपमा दर्ता गर्ने काम समेत शुरु गरिएको घिमीरेले जनाएका छन् । संसारमा जहाँ पुगे पनि आफ्नो भाषा साहित्य र संस्कृतिको जगेर्ना गर्दै रहने यी भूटानी सर्जकहरुको जिकीर भने नयाँ होइन । अमेरिका पुर्नवासमा गएका उनले उतैबाट युरोप सहित ८ देशका साहित्यकारलाई एउटै संगठनमा संगठित मात्र गरेनन पुरानै संस्थालाई पुनरजाग्रित गरेर एतिहासिकताको संरक्षण र अगिल्लो पुस्ताप्रति नतमस्तकता स्थापना गर्नुकय साथै स्थापित माहोलप्रति बफादारिता पनि एकै चोटी जाहेर गरेका छन । यता नेपालका शिविरबाट पनि उत्तिकै सहयोग र सहभागिता भइरहेको उनीहरुको भनाइ छ ।
नेपाली भाषा परिषद भूटान पहिलो पटक शिविरिमा गठन भएको भाषा तथा साहित्य सम्बन्धि संस्था हो । गंगाराम लामिटारे संस्थापक संयोजक रहेको यो संस्थाले शिविरहरुमा कक्षा ४ देखि १० सम्म अनौपचारिक नेपाली भाषा तथा साहित्यको कक्षा शुरु गरेको थियो । सन् १९९३ मा गठन भएको यो संस्थाले शरणार्थी शिविरमा नेपाली पढाउने शिक्षक उत्पादन गर्ने र तिनैलाई प्रयोग गरी बिद्यालयहरुमा नेपाली भाषा पढाउने प्रबन्ध गरेको थियो ।
प्रारम्भका दिनमा यहि संस्थाको पहलमा शिविरका विद्यालयमा साहित्य सम्बन्धि प्रभाकार (कक्षा ४) देखि कक्षा १० सम्म पठन पाठन गराउन पहल भएको थियो । अलङ्कार(स्नातक) सम्मको कक्षाको परीक्षामा बिद्यार्थीलाई भारतमा गएर परीक्षा दिने व्यवस्था पनि मिलाइएको युवा गजलकार तथा साहित्यकार याम थुलुङ बताउँछन् । नेपाली भाषा परिषद भूटानले केही समयपछि नेपाली साहित्य परिषद भुटानमा रुपान्तरित भए पछि आफनो तत्वावधानममा कोपिला नामक मुखपत्र प्रकाशन शुरु गरेको थियो । सन् १९९५ देखि जागरण पाक्षिक प्रकासन हुन थालेपछि साहित्कि गतिबिधिले अझ गति लियो । यो पत्रिका सन् २००७ सम्म प्रकासित भएको थियो । कोपिला भने सन् २००८ मा बन्द हुन पुग्यो ।
यता भुटानी शरणार्थी शिविरबाट पनि सन्देश साप्ताहिक, फुलबारी, सूर्योदय, मानस, बिहानी, चौतारी लगायत पत्रिकाहरु प्रकासित भएका थिए । अहिले युवा मैत्री केन्द्रले निकाल्ने प्रतित मात्र नियमित प्रकासित भइरहेको छ । भूटानी साहित्कार जितेन सुब्बा ‘मुस्कान’ भूटानीहरुले प्रवासबाट गजलको बिकास सबैभन्दा धेरै गर्न सफल भएकोे बताउँदै भन्छन्,‘शिविरले नेपाली साहित्यको पोल्टा भर्न धेरै नै योगदान दिएको छ । यो क्रमलाई बाहिर गएका भूटानीले पनि निरन्तरता दिएका छन् ।’
भूटानी साहित्यकारले राज्यबिहीन बनाइनुको पीडालाई समेत आफ्नो रचनामा उराल्ने गरेका छन् । विशेष गरी गजल र कवितामा भूटानी कवि गजलरकारहरुले यस्ता भावलाई उजागर गर्ने गरेका छन् । कवि जितन सुब्बाको एउटा अंग्रेजी कवितालाई अनुवाद साहित्यमा पनि प्रखरता हासिल गरेका कवि पुरानाघरेले नेपालीमा अनुवाद गरेर आफनो निजी वेभसाइट धधध।उगचबलबनजबचभ।अयm मा प्रकाशन गरेको ए जण्ड राजा कवितामा स्भाविमान र राष्ट्र प्रेमलाई यसरी उद्धेलित गरिएको छ ।
“तिमीले मेरो मुस्कानलाई मुक्का हान्न सक्छौ
मेरो स्वभीमान उच्छेदन गर्न सक्छौ
तिमीले मेरो वीरता घोप्न सक्छौ
मेरा गति—तरंग आख्ता बनाउन सक्छौ
तर कहिल्यै यो समयको गति विथोल्न सक्तैनौ
चेतनाहरुसँग संसर्ग गर्दै हिडिरहेका
मेरा औसरहरु सार्वभौम छन्
वौदिकताले हृदयबाट ढुक्ढुकी उमारिरहेको छ
विविधतामा छलाङ मार्दै
दिमागहरुदेखि दिमागहरु दाखिल गर्दै
अवचेतनहरुको दुनियाँ छिचोल्दै
वायुवेगमा सुस्केरा उराल्दै
झिस्मिसेदेखि उचालिएर मध्यान्नसम्म
जूनको रोशनी चम्किएर चेतनामा …” कवि पुरानाघरे आफुले प्रख्यात साहित्यकार कृष्ण धराबासीको शरणार्थी उपन्यासको अंग्रजी अनुवाद सकेर प्रकाशकको खोजिमा रहेको वताउँछन । शरणार्थी अवस्थाको व्यबहारिक, मौलिक र वौदिक अध्ययन गरेका सर्जक पुरानाघरेले साहित्यकार धराबासीको शरणार्थी उपन्यासकै निरन्तरतामा “शरणार्थीको अन्त्य” नामक उपन्यास पनि तयार पारिसकेको बताउँछन ।
सन् १९९० यताको साहित्यक यात्राको नेतृत्व पनि विस्थापित अवस्थाबाट नभएर देशभित्रैबाट हुँदै आएको भूटानी स्रष्टाहरु बताउँछन् । ‘मृग विलाप’ सन्(१९९२) र तुम्बेहाङ लिम्बुको ‘भग्न पर्खालको सयपत्री’ जेल जीवनमा आधारित भूटानभित्रबाट प्रकाशन भएका प्रतिनिधि कविता संग्रहहरु हुन् । पछिल्लो पुस्ताका कविहरुमा तुम्बेहाङ लिम्बु, पशुपति तिम्सिना, डिल्लीराम शर्मा आचार्य, प्रतिमान शिवा, डेन्जोम राई, शिवलाल दाहाल, डम्बर खरेल, नारद खरेल, डम्बर ओस्ती, पुरानाघरे, सञ्चमान खालिङ, लगायतले देश र बिदेशबाट समेत साहित्यलाई कृतिगत रुपमा अगाडि बढाई रहेका छन् भने झण्डै पाँच दर्जन स्तरीय कवि गजलकारहरु भूटानमा भएको भूटानी साहित्य यात्राका एक माहिर योद्धा याम थुलुङ बताउँछन । थुलुङ अहिले झापाको दमकमा बसोबासो गर्दै छन । थुलुङको धारणालाई शही थप्दै अमेरिका पुगेका कबि पुरानाघरेले भने भूटानमा केही वर्ष अगाडिमात्र पाँच सयको हाराहारीमा गजलकारहरु माहौलवद्ध भएका थिए । यसरी समग्र साहित्यको स्थितिलाई मूल्याङकन गर्दा भूटानी साहित्यले प्रबासबाट गतिलो छलाङ मारेको पाइन्छ । यो प्रगतिलाई भूटानीहरुले दिदै आएको निरन्तरतालाई कायम राख्न सके भूटानको नपाली साहित्यले समग्र नेपाली साहित्यमा गतिलो किल्ला जमाउन सक्ने विज्ञहरुले ठहर गरिरहेका छन ।