घमण्ड
ओम पोख्रेल
विन्डसोर, क्यानाडा
हा हा हो हो धेरै मच्चाउनेहरू, मान्छन् ठुलो सज्जन
आधा मात्र भरिएका छन् भने ती, गर्छन् ठुलो गर्जन
आँफु सँग के छैन भन्छ त्यो मनु, ईश्वर आफैँ झैँ गरी
मान्दैन अरूले सही भने कुरा, उ आफैँ सर्बोपरी
उ मात्र हो ठुलो विद्वान भनेझैँ, गर्छ ठुलो सेखी त्यो
बोक्रै मात्र भए पनि गुदी हो यो, भन्छ लेखी-लेखी त्यो
किन यो दुनियाँ उचालिन्छ उँभो, उँधो खाडल भए नि
छैन आँफुसँग पर्याप्त उ भने, माड.नु थोरै भए नि
मै हुँ सर्ब विधि विशाल गुनी यो, म नै ठुलो सागर
भन्ने भ्रम बोकी-बोकी यो दुनियाँ, लेख्छ कुनामा गर
अरूको उचाइ ननापी किन हो, माथि हुन खोज्ने
त्यो अग्लो हिमाल भए पनि बरु, शिरै छुन खोज्ने
हिँडेर पुगिँदैन आफू भने त्यॉं, नगर्नु है बल् जफत
जान्ने कोसिस गरे सहज हुनेछ, हुँदैन एक्लो फगत
सिँगौरी खेल्ने र जोरी खोज्ने, पशु झैँ जुध्न जाने
पशुत्व नै जनाउने भए यहाँ, गोठै हो त्यसले जाने
पैसा हो सब थोक आज भनी यो, देखावटी लौ किन
पैसा मै लुकेको दुनियाँ भने यो, नाता छ भन्नु किन
एक्लिँदै छ अझ दुनियाँ यसरी, अर्कै हो दोषी भनी
आफ्नो नि गल्ती देखिएन भने, कसले पो पुज्छ अनि
म थेँ त्यो ठुलो शुरम्य पदमा, भनी त्यो धाक लाउने
ढोग्नै पर्छ भनी मलाई यहॉं नि, सम्मान मै धाउने
बिचरा बबुरो घमन्ड भरेर, बस्थ्यो बडो आसन
सबैले बुझेर छोडिदिए अब, साथ नाता नै मास्न
आफ्ना नि पोलिएछन् आज जननी, अर्कोको छ आउने
भत्केको मुटु भित्र पसी सहजै, मलम त्यो लाउने
अझै फुट्नु फुटेर झुर्र भयो त्यो, आफ्ना नै बैरी हुँदा
गर्ने हुती हुँदैन पानी मरूवा, सन्तान धर् धर् रुँदा