घाम नउदाएको दिन 

Norway
Founder and Managing Editor - Bhutaneseliterature.com
Publication Director - Literature Council of Bhutan

कथाकार
कथाकार

रमेश गौतम
नर्वे

“माफ गर्नु होला, सिट नं. २० ए मेरो होइन र?”, आफ्नो हातको टिकट हेर्दै मैंले उक्त सिटमा बसिरहेकी युवतीलाई सोधेँ।

“हजुर, मेरो २० बि हो। तर के म यहीँ बस्न सक्छु? मलाई प्लेन ल्याण्ड गरेको हेर्न मन छ।” आँखामाथि झरेको आफ्नो कालो कपाल पन्छाएर मलाई हेर्दै उसले भनी ।

“ए भइहाल्छ नि ! बस्नुहोस् न”, मैंले भनेँ र छेवैको सिटमा बसेँ।

ओस्लोबाट उडेको स्कानडिनेभियन वायुसेवाको यो हवाईजहाज ट्रोम्सोबाट थप यात्रुहरू लिएर स्वालवार्डतर्फ उड्न लाग्दै थियो। लामो यात्राको मानसिक तथा शारीरिक थकानका कारण शरीर भारी महसुस भइरहेको थियो। अघिल्लो दिन मात्र म नेपालबाट ट्रोम्सो आइपुगेको थिएँ। र आज लगत्तै विश्वविद्यालयबाट सबै सहपाठीहरूसँगै म तीन दिने सम्मेलनका लागि स्वालवार्डतर्फ लागेको थिएँ। मध्यान्नको फ्लाइट भए पनि हिउँदको समय, त्यसमा पनि जनवरी महिना भएकाले ट्रोम्सो चारैतिर अँध्यारो थियो। उत्तरी नर्वेको यो पर्यटकीय सहरभन्दा करिब १००० किलोमिटर उत्तरमा रहेको टापुहरूको समूह स्वालबार्डको यो यात्रा मेरा लागि एउटा अद्वितीय यात्रा थियो।  ७४ देखि ८१ डिग्री उत्तर अक्षांशमा फैलिएको यो क्षेत्र पृथ्वीको यस्तो खण्डमा पर्दछ जहाँको राजधानी लङइयरव्यीयनमा हिउँदमा ११० दिन ध्रुवीय रात्रि अनुभव गर्न सकिन्छ भने गृष्म-वर्षा ऋतुमा १२३ दिन मध्यरातमा सूर्य देखिन्छ। अर्थात् मेरो यो बसाइका क्रममा मैंले स्वालबार्डमा सबै दिन चौबीसै घण्टा रातको अन्धकार मात्र अनुभव गर्न पाउने छु। यस केटीलाई जस्तै मलाई पनि दिउँसै रात्रिकालीन अन्धकारमा छिपेको स्वालबार्डमा प्लेन ल्याण्ड गरेको हेर्न मन थियो।  यद्यपि थकानका कारण डेढ घण्टा लामो यो यात्रामा म राम्ररी निदाउन चाहन्थेँ।

“एक्स्क्युज्मी”, उसको बोलीले झकाउन लागेको म झसङ्ग भएँ।

“तपाईँ कहाँसम्म हिँड्नुभएको?”, आफ्नो हाते झोलाबाट अलिकति स्विटर बुन्ने जस्तो ऊनीको धागो र काँटा निकाल्दै उसले सोधी। सायद ऊ केही बुन्न लाग्दै थिई।

“मेरो नाम रमेश”, आफ्नो हात ऊतर्फ अघि बढाउँदै मैंले आफ्नो परिचय दिएँ र थपेँ, “म लङ्इयरब्यीयन जाँदैछु।”

“म अनुष्का, अनुष्का शर्मा,” हात मिलाएर उसले आफ्नो परिचय दिई र अलिक भ्रमित आँखाहरूले मलाई हेर्दै भनी, “लङ्इयरब्यीयन, मतलब?”

उसले एयरपोर्ट भएको ठाउँको नर्वेजियन नाम लङ्इयरब्यीयन हो भन्ने बुझिनछे भन्ने सोचेर मैंले आफू स्वालवार्डस्थित विश्वविद्यालय केन्द्र (युनिस) मा हुन लागेको सम्मेलनमा जाँदै गरेको कुरा बताएँ। “यो विज्ञान तथा प्रविधिका क्षेत्रमा पछिल्लो समयमा हुँदै गरेका विकाशमा केन्द्रित एउटा प्राज्ञिक सम्मेलन हो,” मैंले भनेँ।

उसले मलाई पुलुक्क हेरी अनि मुसुमुसु हाँस्दै भनी, “कस्तो संयोग, म पनि त्यहीँ  हिँडेकी।”

“तपाईँ कहाँबाट आउनु भएको?”, मैंले सोधेँ।

“अहिले त ओस्लोबाट,” उसले छोटो जवाफ दिई।

“स्थायी रूपमा कहाँ बस्नुहुन्छ?”, मैंले फेरि सोधेँ।

“अमेरिका। म कोलोराडोमा बस्छु।”

“तपाईँको थर के नि?”, केही बेरपछि उसले फेरि सोधी।

“गौतम”, मैंले स्क्यानोरामाका पृष्ठ पल्टाउँदै जवाफ दिएँ।

“तपाईँ नेपाली ?”, आफ्ना आँखा ठुला बनाएर मलाई हेर्दै उसले नेपाली मै सोधी।

म झसङ्ग भएँ। अनुष्का त नेपाली पो रहिछे।

“म भूटानी, नेपाली मूलको।” मैंले उसलाई पनि मलाई आफ्नो परिचय सोध्ने अरू सबैलाई जस्तै रेडिमेड जवाफ दिएँ। अब नेपाली मै बातचित सुरु भइसकेको थियो।

“तपाईँ रमेश गौतम !”, लामो सास तानेर अचम्म मान्दै उसले मलाई एकोहोरो हेरिरही।

मलाई अलिक अप्ठ्यारो लाग्यो। अचम्म पनि लाग्यो। संसारको यो एउटा विकट क्षेत्रको यात्राको क्रममा प्लेनमा भेटिएकी यो केटीले मलाई चिनेको हुनु पर्छ भन्ने अन्तर्मनको तर्कमा मैंले सही थाप्न सकिनँ।

“किन र, तपाईँ कुनै भूटानी रमेश गौतमलाई चिन्नुहुन्थ्यो?,” उसका आँखामा हेर्दै मैंले सोधेँ।

“होइन, होइन त्यस्तो केही होइन”, उसले भनी तर ऊ अझै सशङ्कित छे भन्ने कुरा उसले आफ्नो अनुहारबाट लुकाउन सकेकी थिइन।

“तपाईँले चिनेको कुनै रमेश गौतम नर्वेमा छ भने हामी मिलेर खोजौँला न,” जिस्किएको भावमा मैंले भनेँ।

“होइन, छोडिदिनुस्। त्यस्तो कोही छैन। बरु भन्नुहोस् न युनिसमा तपाईँ कति दिन बस्नुहुन्छ।” उसले कुरा अन्तै मोड्ने प्रयास गरी।

यात्राभरि गफ भयो। उसले आफू नेपाली भएको, लामो समयसम्म अमेरिका मै बसेको र अहिले कोलोराडो स्कुल अफ माइन्समा अनुसन्धानरत रहेको बताई। यसभन्दा धेरै आफ्नो परिचयका विषयमा कुरा हुँदा एक वा अर्को कुरा गरेर गफलाई अर्कोतर्फ मोड्न ऊ जहिल्यै सफल भई।

“तपाईँले अन्यथा मान्नु भो होला। यी सबै विषयमा हामी युनिसबाट फर्कँदा कुरा गरौँला। अहिलेलाई मलाई सेमिनारको विषयमा केन्द्रित हुन मन छ,” केही बेरको सन्नाटालाई भङ्ग गर्दै उसले भनी। यति बेला ऊ काँटा चलाउने काम छोडेर एउटा किताब हेर्दै थिई।

“त्यस्तो केही होइन। तपाईँ अलिक फरक खाले नेपाली हुनुहुँदो रहेछ भनेर म ताजुब मात्र भएको,” मैंले भनेँ।

“छोडिदिनुस् यी सबै कुरा,” उसले सिट बेल्ट अलिक खुकुलो बनाएर मतिर फर्कँदै भनी र थपी, “यसो गरौँ, म तपाईँलाई रमेश दाइ भनेर बोलाउँछु। तपाईँ उमेरले मभन्दा ठुलो नै हुनुहुन्छ।”

मलाई निक्कै अप्ठ्यारो लाग्यो। युनिभर्सिटी डिग्रीलाई योग्यताको मानक मान्ने हो भने इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत मभन्दा ऊ निक्कै अगाडि छे। मलाई ऊसँग अङ्ग्रेजीमै बोल्न सजिलो हुन्थ्यो।

“भइहाल्छ नि,” आफ्नो अनुहारमा देखिएको अप्ठ्यारोपनलाई लुकाउने प्रयास गर्दै मैंले भनेँ।

ऊ कोलोराडो स्कुल अफ माइन्समा वायु मण्डलीय कार्बन डाइअक्साइडलाई कब्जा गरी भण्डारण गर्ने प्रविधिमा केन्द्रित रहेर अनुसन्धान गर्दिरहिछ। मैंले पनि यही विषयमा विशेषज्ञता हासिल गर्ने योजना बनाएको हुँदा ऊसँगको छलफल मेरा लागि निक्कै महत्त्वपूर्ण हुने कुरामा कुनै शङ्का थिएन। मैंले यो अवसरलाई सदुपयोग गर्ने निर्णय गरेँ।  वास्तवमा यही विषयमा कार्यपत्र प्रस्तुत हुन्छ भन्ने कुराले मलाई  आज स्वाल्बार्डतर्फ तानेको थियो। विश्वविद्यालयले आफ्नो सहभागिता सम्बन्धी निर्णय म नेपालमा भएको बेला गरेको हुनाले यस सम्मेलन सम्बन्धी विस्तृत जानकारी मलाई थिएन। अझ यसो भनौँ, मैंले नेपालमा रहँदा यस सम्बन्धी सबै इ-मेलहरू पढ्न भ्याएको थिइनँ।  म यत्ति जान्दथेँ कि यो एउटा निक्कै महत्त्वपूर्ण सम्मेलन हुनेछ।

अनुष्कासँग यस्तो प्राज्ञिक विषयमा छलफल हुँदैगर्दा उसको विद्वताले, उसको विषयगत ज्ञान र त्यसलाई सम्प्रेषण गर्ने अद्भुत प्रस्तुति कलाले मलाई उसको उमेर, उसको जातित्व वा ऊ को हो भन्ने सबै कुरा बिर्सन बाध्य बनायो। आफूले अघि ऊसँग युनिसको सम्मेलनका बारेमा उसले न सोधिकन गरेको बयानलाई सम्झिएर म लज्जित भएँ। मैंले यस विषयमा विशेषज्ञता हासिल गर्ने निर्णय गर्दासम्म पनि म दिग्भ्रमित थिएँ; म आफू केही जान्दिनँ जस्तो लाग्थ्यो। मलाई यो कार्य कोठाको कसिङ्गर बढारेर ढोकाको कतै च्यापमा थुपारेर लुकाउनु सरह हो जस्तो लाग्थ्यो। तर पनि म यही विषयमा अध्ययन चाहन्थेँ।  अनुष्कासँगको छलफलले यो विषयप्रतिको मेरो कौतुहलता अझ बढाइदियो।

समय कति छिटो बितेछ। प्लेन ल्याण्ड गर्न थालिसकेछ। अनुष्का झ्यालबाट तल हेर्दै थिई। आफ्नो हातमा भएको सानो क्यामराले दृश्य कैद गर्न पनि प्रयत्नरत थिई। मलाई उसको माया लाग्यो। अन्धकार यति थियो कि प्लेनले धर्ती छुनै लाग्दा पनि धावनमार्गसमेत राम्ररी देखिएको थिएन। मैंले मनमनै उसले एक चोटि जुन-जुलाई महिनामा यहाँ आएर मध्यरातमा सूर्य स्नानको अनुभव लिए हुन्थ्यो भन्ने सोचेँ।

एयरपोर्टबाट स्पिट्सबार्गेनमा रहेको हामी बस्ने रेडिसन ब्लु पोलर होटेल पुग्दा बेलुकाको झन्डै ५ बजेको थियो। अनुष्कालाई तत्काल बाहिर निस्कन मन थियो। ऊ स्वाल्बार्डको प्रकृति हेर्न चाहन्थी। ऊ यस क्षेत्रको वातावरणीय दुर्लभता, पर्यावरणीय भेद्यता, प्राकृतिक जोखिमता अनि भौतिक दुर्बलता सबै एक साथ अनुभव गर्न चाहन्थी। यो उसको अनुसन्धानको क्षेत्र थियो। मलाई भोक लागेको थियो, थकाइ लागेको थियो; उसले भोक लागेको बिर्सिएकी थिई, थकाइ लागेको बिर्सिएकी थिई।

हामी यहीँको एउटा अत्यन्तै प्रसिद्ध “स्वालबार” नामक बारमा पस्यौँ। दिउँसोको खाना खाने समय अझै सकिएको थिएन तर स्वालबार अघि नै भरेको रात्रिजीवनको तयारीमा जुटिसकेको थियो। बारभरि धिमा तर चमकदार निलो बत्ती बलेको थियो। सबै टेबलहरूमा मैनबत्तीहरू जलिरहेका थिए। सिलिङमा टाँसिएका धेरै वटा “लाउडस्पिकर” बाट मधुरो ध्वनिमा मार्विन ग्येको “लेट्स गेट इट अन” बजिरहेको थियो। पर भित्तामा रहेको ९० इन्चको स्मार्ट टिभीमा “क्रस कन्ट्री स्की” को अभ्यास खेलका खेलाडीहरू एक महिनापछि हुने हिउँदे विश्वकपमा जित हासिल गर्ने सपना सँगाल्दै अभ्यासरत थिए।  छेवैको टेबुलमा वेनिल्ला आइसक्रिमसँग नर्वेली न्योग्ना इम्पेरियल स्टाउट बियर पिउँदै प्रेम आलिङ्गनमा मस्त थिए एक जोडी प्रेमचरीहरू। अनुष्काले लजाए जस्तो गरी मलाई पुलुक्क हेरी।  मैंले आफू खानाको मेनु हेर्न मै व्यस्त रहेको स्वाङ पारेँ। मैंले चिकेन करी र रोटी मगाएँ। अनुष्काले शाकाहारी पाई र फलफूलको सलादको अर्डर दिई । हतार हतार खाएर हामी घुम्नका लागि बाहिर निस्कियौँ। माइनस चौँतीस डिग्री सेल्सियसको त्यो मुटु कपाउने जाडोमा धेरै बेर बाहिर बस्न सक्ने कुरै भएन। हामी होटेल फर्कियौँ र गफ गर्न थाल्यौँ।

निक्कै लामो समयसम्म गफ भएछ। अनुष्काका विषयगत कुरा बुझ्न त्यति गाह्रो थिएन। यस क्षेत्रमा उसको लगनशीलता कति दह्रो छ भन्ने कुरा ऊसँगको साधारण गफ मै थाहा हुन्थ्यो। तर अनुष्काभित्र खै केको हो एक प्रकारको छटपटी थियो। ऊ निक्कै विचल्लित छे जस्तो लाग्थ्यो। गफ गर्दैगर्दा उसले धेरै चोटि धेरै वटा असान्दर्भिक कुरा गरेकी थिई। यस्तो लाग्थ्यो कि यी कुराहरूको सोझो सम्बन्ध उसको जीवनसँग छ। दोहोर्‍याएर सोध्दा ऊ झसङ्ग हुन्थी र “आ छोडिदिनुस् ” भन्थी। मलाई यो उसको स्वभाव नै हो जस्तो लाग्न थालिसकेको थियो। मैंले उसको “आ छोडिदिनुस्” लाई प्रतिकार गर्न कहिल्यै चाहिनँ।

मध्यरात कटिसकेछ। अब सुत्नु पर्ला भन्ने सोच्दै थिएँ म। उसले सुत्नु पर्छ भन्ने पनि बिर्सिई कि क्या हो एउटा किताब हेरिरहेकी थिई।

“मेरा दुई वटी आमा छन् जसका बारेमा मैंले मज्जाले खोज्नु छ, एउटी पृथ्वी आमा जो सबैकी आमा हुन् अनि अर्की मलाई जन्म दिने आमा जसले मलाई धेरै माया गर्नुहुन्थ्यो। ” उसले बेहोशीमा जस्तै गरेर भनी।

“अनुष्काकी आमा यो संसारमा छैनन् कि क्या हो”, मैंले मनमनै सोचेँ तर झट्ट केही सोधिनँ।

“तपाईँले यस यात्राको निक्कै लामो दूरी सफलतापूर्वक पार गरिसक्नुभा छ र मलाई लाग्छ कि बाँकी दूरी पार गर्न तपाईँ लाई त्यति चुनौतीपूर्ण हुने छैन,” मैंले भनेँ। ऊ अलिकति मुस्कुराई तर केही बोलिन।

अनुष्का अझै केही लेख्नु छ भन्दै थिई। “भोलि भेटौँला है त” भनेर म  आफ्नो कोठातिर लागेँ।

भोलिपल्ट कार्यक्रमको दोस्रो खण्डमा कार्यपत्र प्रस्तुत गर्ने पालो अनुस्काको रहेछ भन्ने कुरा मैंले सम्मेलन भवनमा कार्य तालिका हेरेपछि मात्र थाहा पाएँ। उसको क्षमताका बारेमा जानकार मलाई उस्तो अचम्म लागेन। मैंले यस क्षणलाई एउटा गौरवमय क्षणका रूपमा लिएँ। नेपाली मूलकी एउटी कलिली ठिटी संसारको यो दुर्गम भागमा विशेषज्ञका रूपमा उभिएर युरोपका धेरै प्रसिद्ध विश्वविद्यालयहरूबाट आएका अध्येता-अनुसन्धाताहरूको प्रश्नको उत्तर दिँदै थिई। एउटा विवादास्पद विषयमा कार्यपत्र प्रस्तुत गर्दासमेत उसमा देखिएको आत्मविश्वासले मलाई चकित तुल्यायो।

आज बेलुका ऊ निक्कै व्यस्त हुने कुरा फोन गरेर उसले मलाई भनेकी थिई। “तर पनि सुत्नु अघि तपाईँलाई भेट्न मन लागेको छ,” उसले थपेकी थिई। सबै साथीहरू आज स्वालबार्डको रात्रिजीवन अनुभव गर्न भन्दै पबतिर लागे। मैंले कोठा मै बस्ने निर्णय गरेँ। बेलुका अबेर अनुष्कालाई फोन गरेर होटेलको क्यान्टिनमा आउन भनेँ। आजको सम्मेलन र उसले प्रस्तुत गरेको कार्यपत्रको बारेमा कुरा भयो। मैंले एस्प्रेस्सो कफीको चुस्की लिँदै उसले प्रस्तुतिकलाको प्रशंसा गरेँ; उसको अद्भुत आत्मविश्वासले आफूलाई प्रभावित गरेको कुरा बताएँ। उसले खुसी हुँदै “धन्यवाद” भनी। ऊ टोलाउँदै भारतीय हर्बल चिया पिउँदै थिई।

“कार्यपत्र प्रस्तुत गर्दै गर्दा मैंले धेरै चोटि आमालाई सम्झिएँ। जब जब म मेरी आमालाई सम्झन्छु, मलाई संसार जित्ने मनोबल प्राप्त हुन्छ। आमाले मलाई ठुलो मान्छे बन्नु भन्नुभएको थियो।” होटेलको बाहिरी ढोकाको छेउमा रहेको हिमभालुको आकृतिलाई एकोहोरो नियाल्दै उसले भनी।

“यस्ती ओजस्वी छोरीकी आमा कस्ती हुनुहुन्छ होला!” उसको भावुक अनुहारमा हेरेर मैंले भनेँ। ऊ केही बोलिन।

मलाई सोध्न मन लागेको थियो उसको बेचैनीको बारेमा, उसले बारम्बार छोड्ने गरेका उच्छ्वासका बारेमा, उसको अनुहारमा यदाकदा देखिने गरेका निरसताका बारेमा अनि विशेष गरी सोध्न मान लागेको थियो उसकी आमा र उसको परिवारका बारेमा। तर मैंले केही सोधिनँ। मलाई थाहा थियो उसले यस पाली पनि “आ छोडिदिनुस्” भन्ने थिई।

हामीले धेरै बेर गफ गर्‍यौँ। उसको विद्यार्थी जीवन, कोलोराडोको उसको बसाइ, मेरो पढाई अनि जागिरको सम्भाव्यता आदि इत्यादि। म अबेर कोठा फर्किएँ।  भोलि बिहानै उठेर स्वाल्बार्ड स्याटलाइट स्टेसनमा अवस्थित भूउपग्रहहरू हेर्न जाने योजना थियो।  त्यसपछि त्यहीँ रहेको कोइला खानीको अवलोकन गर्नु थियो।  यी दुवै अवलोकन हाम्रो भ्रमणका अनिवार्य योजना थिए।

बिहानको नास्ता गर्दै गर्दा अनुष्कालाई यताउति खोजेँ। कतै देखिनँ। यसो घडी हेरेँ। नास्ता गर्ने समय सकिन लागेको थियो।

“सुन्नुहोस् न, ढिला हुन लागिसक्यो। मैंले त खान पनि भ्याइनँ। अब हिँड्न पर्छ।”, छेवैमा आएर अनुष्काले भनी।

चहकिलो रातो रङ्गको बाक्लो क्यानडा गुस ज्याकेटमा सजिएकी ऊ निक्कै आकर्षक देखिन्थी। उसले हेल्ली हान्सेनको “ह्विंडब्रेकर ट्राउजर” अनि टिम्बरल्याण्डका “आइस ग्रिपर बुट” लगाएकी थिई। हातमा हेल्ली हान्सेन कै काला पन्जा थिए अनि गलामा गुलाबी रङ्गको सल बेरेकी थिई। हातैले बुनेको ऊनीको गाडा निलो रङ्गको टोपीबाट राम्ररी बाटेको उसको लामो चुल्ठो बाहिर निस्किएको थियो। सबै “ब्रान्डेड” सामानले भरिएकी अनुष्कालाई मरिचे बुट्टा हालेर नेपाली पाराले बुनेको यो टोपी मज्जाले सुहाएको थियो। सायद प्लेनमा ऊ यही टोपी बुनिरहेकी थिई। मलाई अनुष्कालाई आफ्नो योजना छोडेर मसँगै स्याटलाइट स्टेसन जान मन लागेछ भन्ने लाग्यो।

“तपाईँ पनि हामीसँग जाने हुनु भो?”, मैंले सोधेँ।

“होइन, तपाईँ मसँग जाने हो। ” ऊ मलाई हेरेर हाँसी।

अब मलाई थाहा भयो कि अनुष्काले एकोहोरिने बानीका कारण मैंले हिजो राती भनेका कुरा सुनिनछे। मैंले उसलाई मेरा आजका भ्रमणहरू विश्वविद्यालयले निर्धारण गरेका अनिवार्य भ्रमण भएका कारण आफू ऊसँग स्नोस्कुटर सफारीमा जान नसक्ने कुरा बताएको थिएँ। मैंले फेरि सम्झाउनु पर्‍यो। उसलाई मेरा लम्बे चौडा कुरा सुन्न समय थिएन। उसले ब्यागबाट आफ्नो आइडी कार्ड र मोबाइल फोन झिकी अनि आफ्नो ब्याग मलाई दिँदै भनी, “यस्तो ब्याग बोकेर पनि कोही सफारीमा जान्छन्? यो ब्याग तपाईँ राखिदिनुस् है। म कति हुस्सु छु भन्ने त तपाईँले थाहा पाइसक्नुभा छ नि।” मेरो उत्तरको कुनै प्रतीक्षा नै नगरी ब्याग मेरो छेउको कुर्सीमा छोडेर “भरे भेटौँला है” भन्दै ऊ कुदिहाली।

मलाई उसको ब्याग कोठामा राख्न जाने समय मिलेन। आफ्नो सानो ब्याक प्याकमा उसको ह्यान्ड ब्याग राखेर म अरू साथीहरूसँगै आजको कार्य तालिका पुरा गर्न निस्किएँ।

स्याटलाइट स्टेसनमा निक्कै लामो समय खर्च भएछ। स्टेसनबाट कोइला खानीतर्फ जाँदै गर्दा उच्च धुनको सङ्गीतसँगै हल्ला गरिरहेका सहभागीहरूको ध्यान आफूतर्फ खिच्दै युनिसका प्रोफेसर थोमस याकोब्सनले पूर्वी तटतर्फ लागेका स्नोस्कुटर सफारीका सहभागीहरू हिम पहिरोमा पुरिएको खबर आएको बताए। “यस टोलीमा हाम्रा केही पाहुना पनि थिए,” उनले निक्कै चिन्तित स्वरमा भने। “उनीहरूलाई केही नहोस्  भनी हामी भगवानसँग प्रार्थना गर्छौँ”, मेरा नर्वेली सहपाठीहरूले औपचारिकता पुरा गरे।  मेरो हृदय डरले काँप्यो। मुखमा थुक सुक्यो। हतार हतार मोबाइल खोलेर सबै अनलाइन हेरेँ, अहिलेसम्म कुनैमा पनि त्यस्तो दुर्घटनाको समाचार छापिएको थिएन।

केही बेरको चकमन्नतालाई भङ्ग गर्दै फेरि प्रोफेसर याकोब्सन बोले, “दुर्घटनामा दुई जना घाइते भएछन्, एक जना टुर गाइड र एक जना विदेशी।”

कोइला खानीमा के हेरियो मलाई केही थाहा भएन। मैंले केवल अनुष्कालाई सम्झिएँ।  उसलाई केही नभइदेओस् भनी मैंले आफूले विश्वास नगर्ने भगवानसँग कैयन चोटि प्रार्थना गरेँ। अनुष्कालाई उत्तरी ध्रुवतर्फ अन्त्यहीन फैलिएको हिमनदी हेर्ने रहर थियो। मानव सभ्यताभन्दा धेरै टाढा हिम भालुहरूको यो एकान्त प्रदेशमा उसलाई आफू नितान्त एक्लो भएको अनुभव गर्न मन थियो।  उसलाई हिउँ कोट्याएर खाना खोजिरहेका जरायोहरू अनि आमाका पछिपछि कुदिरहेका अबोध भालु शावकहरू हेर्ने चाहना थियो। अनुष्का यस पालीको यात्रामा क्षितिजभरि फैलिएको उत्तर ध्रुवीय आभा नियाल्न चाहन्थी।

एकै छिनमा हवाई एम्बुलेन्स ट्रोम्सोतर्फ उडेको देखियो। कमसेकम एम्बुलेन्स त आइपुगेछ।  मन अलिकति खुसी भयो। फेरि मोबाइल खोलेर सबै अनलाइनहरू हेरेँ। अझैसम्म कतै समाचार थिएन।

बेलुकाको खाना खाने बेलामा प्रोफेसर याकोब्सनलाई भेटेँ। उनले कुनै नयाँ कुरा थाहा नभएको बताए। साथीहरूको आवाजमा इटालियन ह्विस्की, रसियन भोड्का आदिको तेज सुनिन थालिसकेको थियो। मेरो खाना अझै आइसकेको थिएन। फेरि समाचार हेरेँ। भेगे (एउटा अनलाइन) मा भर्खरै यहाँको दुर्घटनासम्बन्धी समाचार छापिएको रहेछ। एउटा टुर गाइड र एउटी अमेरिकन अनुसन्धानकर्तालाई ट्रोम्सोस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको कुरा लेखिएको थियो। समाचारका अनुसार ती अमेरिकी महिलाको अवस्था निक्कै गम्भीर थियो। आफ्नै आँखालाई विश्वास गर्न सकिनँ।  फेरि पढेँ।  त्यही कुरा लेखिएको थियो। यो महिला अनुष्का नै हुनुपर्छ भन्ने कुरामा म निक्कै विश्वस्त थिएँ। सफारीको लागि पूर्वी तटतर्फ लागेको त्यो टोलीमा अमेरिकन अनुष्का मात्र थिई। मलाई आफू बसेको कुर्सी भासिए जस्तो लाग्यो। खाना आइपुग्यो। खान मन लागेन। काउन्टरमा पैसा तिरेर कोठा फर्किएँ। रातभरि निद्रा लागेन। अनुष्काको अनुहार घुमिरह्यो कोठाभरि, हृदयभरि। ओछ्यानमुनिबाट आफ्नो ब्याक प्याक तानेर अनुष्काको ह्यान्ड ब्याग निकालेँ। उसको कुनै नजिकको आफन्तको बारेमा जान्न मन लाग्यो। खोलेर हेर्न आँट आएन। फेरि त्यसै राखेँ।

आज स्वालबार्ड छोड्ने दिन। जति सक्दो छिटो उड्न मन लागेको छ। ट्रोम्सो पुगेर सिधै अस्पताल जान पाउनेछु भनेर मन अलिक शान्त भएको छ। अनुष्कालाई भेटेर ऊ छिट्टै निको हुनेछे भन्ने जान्न पाउँदाको आनन्दानुभूति यस्तो हुनेछ भनेर म अहिले कल्पनासमेत गर्न सक्दिन।

अनुष्कालाई आकस्मिक कक्षमा राखिएको रहेछ। “अहिलेसम्म होस आएको छैन तर उसको अवस्था स्थिर छ, डाक्टरले भनेको”, मलाई उक्त कक्षकी नर्सले भनिन्। अनुष्काका बारेमा अरू धेरै कुरा भन्न नमिल्ने बारेमा उनले मलाई अघि नै सजक गराएकी थिइन्। म अनुष्काको छेउमा बसेँ। “उसको अवस्था स्थिर छ”, नर्सको यही बोली बारम्बार गुञ्जिरह्यो मेरा कानमा। उसका बन्द आँखाहरूमा हेर्दै सोचेँ, “छिट्टै अनुष्का निको हुनेछे अनि ऊसँग विस्तृतमा गफ गर्नेछु। अब अनुष्काले “आ छोडिदिनुस्” भन्न कहिल्यै पाउने छैन।”

भोलिपल्ट बिहानै फेरि अस्पताल पुगेँ। रिसेप्सनबाटै थाहा भयो कि अनुष्का उक्त आकस्मिक कक्षमा छैन। बिदा भएर “नर्मल” ओछ्यानमा सरिछे क्यारे भन्ने सोचेँ। “ऊ कहाँ छे होला?,” फेरि सोधेँ। गार्डले रिसेप्सनलाई यो जानकारी नभएको र मैंले पहिला कै आकस्मिक कक्षमा गएर जानकारी लिन सक्ने बताएपछि म आकस्मिक कक्षतिर लागेँ।

अनुष्काको होस अझै आएको थिएन रे। थप उपचार गर्नका लागि भनेर आज बिहानै उसलाई स्विडेनको स्टकहोल्मस्थित कारोलिन्सका शिक्षण अस्पताल लगिएछ। उसलाई फेरि भेट्न नपाएकोमा धेरै दुःख लाग्यो। त्योभन्दा बढी उसको ब्याग उसैका हातमा दिन नपाएकोमा दुःख लाग्यो। अब कोठा पुगेर उसको ठेगाना खोजेर सामान पोस्ट गरिदिन्छु भन्ने सम्झिएर म फर्किएँ।

कोठा पुग्नुअघि पोस्ट बक्स खोलेर हेरेँ। आज पोस्ट छिट्टै आएछ। पठाउनेको कुनै ठेगाना न भएको एउटा चिठी थियो। लिएर गएँ।

कम्प्युटर खुल्दै गर्दा चिठी पढ्न मन लाग्यो। खोलेर हेरेँ। लेखिएको थियो-

“मेरा डायरीका यी पाना आफ्नो हातमा चिठीको रूपमा आइपुगेको देख्दा तपाईँ आश्चर्यचकित हुनुहुनेछ। तपाईँले मलाई पुरै बिर्सिसक्नु भएकोछ। मेरो पनि सम्झनाबाट तपाईँको अनुहार मेटिँदै गएको रहेछ तर मलाई विश्वास छ कि यो सबै पढिसकेर तपाईँले मलाई मज्जाले चिन्नुहुनेछ; हामी फेरि एक अर्कालाई राम्ररी चिन्ने हुनेछौँ। कहाँबाट सुरु गरौँ या के लेखौँ म असमञ्जसमा परेकी छु। मेरो नाम पवित्रा बस्नेत हो। पवित्रा भन्दा तपाईँले के चिन्नु हुन्छ र ? पवित्रा नाम गरेका कति केटी तपाईँको बाटो भएर आए होला, गए होला र तपाईँले बिर्सनुभयो होला मलाई जस्तै गरेर।

अब सजिलोतिर लागौँ। मैँले पढेकै स्कुलमा तपाईँले पढ्नुभयो। मैंले पढेकै स्कुलमा तपाईँले पढाउनुभयो। तपाईँले मलाई पनि पढाउनुभयो; अर्थात् तपाईँ मेरो शिक्षक, म तपाईँकी विद्यार्थी ! धेरै वर्ष बितेछन्। बितेका दिनहरूलाई ताजा बनाउँदा कति मिठो हुँदो रहेछ। धेरै मान्छेहरूका बन्द रहिरहन चाहने अतीतका बाकसहरूमा यस्तै मिठो सम्झनाहरू मात्र कैद भइदिने भए कति मिठो हुन्थ्यो होला है ! हाम्रो कक्षाकोठा हेडमास्टरको अफिसकै छेउमा थियो। तपाईँ घण्टी लाग्ने बित्तिकै आउनुहुन्थ्यो। भर्खर १२ कक्षा सकेर पढाउन आएको फुच्चे शिक्षक। आउनुहुन्थ्यो। पढाउनुहुन्थ्यो। जानुहुन्थ्यो। म दोस्रो बेन्चमा बस्थेँ। साह्रै कम बोल्थेँ। मलाई धक लाग्थ्यो।  मलाई डर लाग्थ्यो। मन जहिल्यै अस्थिर हुन्थ्यो। मानसपटलभरि वर्तमानका सम्मोहनहरूले मेट्न नसकेका अतीतका भयावह दृश्यहरू आइरहन्थे। मेरा आँखा अगाडि तपाईँ वा अरू शिक्षकहरूले धुलौटे चकले कालोपाटीमा लेखेका स्पष्ट अक्षरहरूभन्दा अर्कै कुनै आकृति नाचिरहन्थ्यो।  म परेसान हुन्थेँ। तपाईँ प्रश्न सोध्न डराउनु पर्दैन भन्नुहुन्थ्यो। एक वर्षको अवधिमा आफूले कुनै प्रश्न सोधेको मलाई याद छैन।

अब चिन्नु भयो होला। म र मेरा साथीहरू एस्. एल्. सी सकेर हिँड्यौँ। तपाईँ शिविर छोडेर हिँड्नुभयो। पढ्न वा पढाउन वा कमाउन।  तपाईँलाई मैंले फेरि कहिल्यै भेटिनँ, कहिल्यै देखिनँ। किन देखिनँ, मलाई थाहा छैन।

मैंले पुरा समय खर्चेर, आमाको सपना र हजुरबाको लगानीलाई साक्षी राखेर भद्रपुर क्याम्पसबाट भौतिक शास्त्रमा स्नातकसम्मको पढाई पुरा गरेँ। पढाई लगत्तै तेस्रो देश पुनर्वास कार्यक्रममार्फत अमेरिका जाने चिट्ठा पर्‍यो। हामी अमेरिका पुग्यौँ। जीवन पुरै बदलियो। सोच बदलियो। तर सपना कहिल्यै फेरिएन। डेढ दशकभन्दा लामो समय शरणार्थी शिविरमा बिताएको तितो अनुभव जीवन बँचाइका लागि ऊर्जा बनेर उम्लियो। यो देशमा चुनौती धेरै छन्। तर चुनौतीभन्दा धेरै अवसर छन्। यी अवसरलाई कसरी प्रयोग गर्ने भन्ने कुरा मात्र ठुलो हो।  अर्थपूर्ण जीवन बाँच्न सिकाउने एउटा विशेष दर्शनको कहिल्यै ननिभ्ने दियो बोकेर मेरा अघि अघि हिँड्ने मेरा अनपढ हजुरबाको साथमा जीवन जहिल्यै इन्द्रेणी जस्तै लाग्छ। जीवन बाँच्न जान्नु पनि एउटा कला नै रहेछ।

तपाईँ अचम्मित हुनुभयो होला म किन यी सबै कुरा लेखिरहेछु भनेर। मैँले जीवनमा ठुला सफलता हासिल गरेँ भन्ने लाग्छ। तर आफूभित्र दबेर रहेको एउटा भयावह कटु सत्यलाई मैंले कहिल्यै जित्न सकिनँ। मेरो जीवन एउटा लामो कथा हो। म जन्मनु अघिको मेरो भ्रूण मेरी आमाको गर्भमा उहाँले चाहेर बसेन। मेरो जन्म मेरी आमाका लागि एउटा बाध्यता थियो। एउटी हजार सपना सँगालेकी नवयौवना युवतीको जीवनमा आएको भूकम्पले मलाई जहिल्यै आहत बनाइरहन्छ। आमाले भोगेको युगको बर्बरताविरुद्धको ज्वाला मेरा नसाहरूमा दन्कन्छ। म केही गर्न सक्दिन।

मेरी आमाको बिहे भएको महिना दिन बितेकै थिएन। समाजमा इज्जत कमाएको एउटा सानो परिवारकी छोरी उहाँ। भर्खर बीस वर्ष लागेकी। थोरै भए पनि पढेकी। समाजले सुशील  मानेकी केटी। गाउँले असल मानेको केटा। ठुलो घर। सम्पन्न परिवार। आँखाले भ्याएसम्म देखिने टारी खेत। सुन्तला बगान। अलैँची बगान। बारीभरि पहेँलपुर फुलेका तोरीका फूल जस्तै असीमित सपना फुलाउनुभयो मेरी आमाले हृदयभरि आफ्नो यो सानो संसारलाई स्वर्ग जस्तै बनाउँछु भनेर। काङ्लुङ कलेजमा उच्च शिक्षा हासिल गर्दै गरेका मेरी आमाका पतिले मेरी आमाले सानै उमेरमा गाउँमा कमाएको नाम र इज्जत कै कारण उहाँसँग बिहे गरेका रे।

मेरी आमा कान्छी बुहारी। दाजुहरू सबै छुट्टिइसकेका अनि दिदीहरू आफ्नो घर गइसकेका थिए रे। गाउँ मै रहेको माइत-ससुराल गएका सासू ससुराले पल्ला घरे अन्तरेलाई आजको रात उतै बसेर बिहानको खाना खान आइपुग्ने समाचार पठाएका रहेछन्। मध्यरातमा कसैले ढोका मज्जाले ढकढक्यायो। डाँडाघरे पण्डितका साइँला छोरा रहेछन्। उनीसँगै भूटान आर्मीका केही जवान पनि थिए। उनी घर देखाउन मात्र आएका। उनीहरू आउने बित्तिकै मेरी आमाका श्रीमानलाई “ङोलोप” भन्दै नराम्रोसँग पिटे। पाता कसेर खाँबामा बाँधे अनि आमातिर फर्किए। आमाको करुण पुकारले केही काटेन। उनीहरूले पालैपालो आमाको इज्जत लुटे। श्रीमानको बिन्ती कसैले सुनेन। उनी “मलाई बरु गोली हान्नुहोस्, उनलाई छोडिदिनुहोस्” भन्दै थिए। अग्निलाई साक्षी राखेर आफ्नी श्रीमतीको रक्षा गर्ने कसम खाएका उहाँका श्रीमानले बाचा पुरा गर्न सकेनन्। आमा बेहोस हुनुभयो। कति जनाले के के गरे थाहा पाउनु भएन। ब्युँझँदा ती राक्षसहरू त्यहाँ थिएनन्।  आफ्ना श्रीमान् पनि त्यहाँ थिएनन्।

यो गाउँको पहिलो घटना थियो। आमाले आफू बलात्कृत भएको कुरा कसैलाई भन्ने आँट गर्न सक्नुभएन। प्रत्येक दिनको प्रभातसँगै पति आउँछन् भन्ने आशा उदाउँथ्यो र त्यसै अस्ताउँथ्यो। उनी कहिल्यै फर्किएर आएनन्।  हप्ता दिनपछि उनको लास आयो। उनीहरूले आफ्नो छोराले जेलमै आत्महत्या गरेको स्वीकार गरी लास बुझ्न बाबालाई दबाब दिए। उहाँले हस्ताक्षर गर्न अस्वीकार गर्नुभयो। “राजद्रोह” को आरोपमा उहाँ जेल चलान हुनुभयो। अब यस्ता अनेकौँ घटनाहरू सुनिन थालेका थिए। गाउँबाट धमाधम लोग्ने मान्छेहरू गिरफ्तार हुने र आइमाईहरू बलात्कृत हुने क्रम बढेको थियो। आर्मीको गाडीमा चढ्नु अघि उनले आफ्ना सम्धीसँग भनेका थिए, “सम्धीज्यू, कसो गरेर बचेकी छिन् यी मेरी फूल जस्ती बुहारी।  अब यिनी तपाईँको जिम्मामा छिन्।  यिनलाई जसरी भए पनि बँचाउनुहोला।”

म आमाको पेटमा हुर्कँदै थिएँ। आमालाई थाहा थियो म उहाँलाई धेरै माया गर्ने श्रीमानकी अंश थिइनँ। मेरो पिता त्यही बलात्कारी नरपशु समूहको एउटा राक्षस थियो।  उहाँलाई मेरो गोत्र थाहा थिएन, मेरो थर थाहा थिएन। मेरी आमाको “आमा” हृदयले मलाई मार्न सकेन। आमाहरू देश छोडेर भाग्दै गर्दा काली खोलाको जङ्गलमा म जन्मिएँ। आफ्नी छोरीलाई ज्ञानको दीप सम्झिएर ज्ञानदीपा नाम राखेका मेरा हजुरबाले मलाई पवित्र सम्झनुभयो। मैँले आमाकै थर पाएँ- बस्नेत। यो नब्बे सालको कुरा।

शिविरमा आएपछि पनि आमाले आफ्नो जीवनमा घटेको त्यो दारुण यथार्थ बिर्सन सक्नु भएन। उहाँ अर्धपागल जस्तै हुनुहुन्थ्यो। कहिले राम्रा कुरा गर्नु हुन्थ्यो;  कहिले आफूलाई लिन श्रीमान् आउँदै गरेको कुरा सुनाउनुहुन्थ्यो। आफूले यो सत्यता परिवारबाट छिपाएकोमा उहाँ धेरै आहत हुनुहुन्थ्यो। आमाले फेरि कहिल्यै आफ्नो परिवार भेट्न पाउनु भएन। आमाका ससुरा जेलमा भएका कारण उहाँहरू आमाहरू जसरी देश छोडेर भाग्न सक्नु भएन। पाँच वर्षपछि उहाँका ससुराको जेल मै मृत्यु भएको खबर आयो। यस्तो दुखद परिस्थिति भोग्न बाध्य मेरी आमा मात्र हुनुहुन्नथ्यो रे।  अरू धेरै परिवारले पनि यस्ता हृदय विदारक दुर्घटनाहरूको सिकार हुनु परेको थ्यो रे।  यसका बारेमा मभन्दा तपाईँ नै धेरै जान्नु हुन्छ।

म हुर्कनु थियो; हुर्कँदै गएँ। तपाईँलाई शिविरको रामकहानी सुनाइरहनु पर्ने कुनै आवश्यकता छैन। खै के कुरा खेल्थ्यो मेरी आमाको मनमा। मलाई कहिलेकाहीँ मिठो भाषामा सम्झाउनुहुन्थ्यो।  कहिले आफैँ हराउनुहुन्थ्यो। टोलाउनुहुन्थ्यो। खाना बनाउँदै गर्दा हात पोल्नुहुन्थ्यो। औषधी लगाउन मान्नु हुन्न थ्यो। मेरो बाल्यकाल आफ्नी आमाका यी सबै अर्ध सिल्ली क्रियाकलापहरूको साक्षी भएरै बित्यो। साथीहरूले खिल्ली उडाउँथे। म अभ्यस्त भइसकेकी थिएँ। मेरी आमा अझै नवयौवना जस्तै देखिनुहुन्थ्यो। उहाँ धेरै राम्री हुनुहुन्थ्यो। कहिले रमक्क परेर हिँड्नुहुन्थ्यो। कहिले “आमा आज चाहिँ नुहाउनु पर्छ है” भनेर मैँले सम्झाउनु पर्थ्यो। मैँले भनेको मान्नुहुन्थ्यो। प्रत्येक महिना दिनमा विराटनगरबाट शिविर आउने मानसिक रोग विशेषज्ञ डा. शेरचनलाई भेट्न जानुहुन्थ्यो। आमाले डा. शेरचनलाई आफ्नो अतीतका बारेमा कहिल्यै बताउनु भएन रे। म कहिलेकाहीँ उहाँलाई पछ्याउँदै जान्थेँ। कहिले थाहा पाउनुहुन्थ्यो, कहिले पाउनुहुन्नथ्यो। एक दिन आँखाभरि आँसु पारेर उहाँले डाक्टरसँग भन्नुभयो-“डाक्टर साब, म पागल होइन। मलाई छिटो निको बनाइदिनुस्। अतीतमा जे भयो म त्यो सबै भुल्न चाहन्छु। मेरी एउटी मायालु छोरी छे। उसलाई मेरो माया चाहिएको छ। म उसलाई ठुली मान्छे बनाउँछु।” मैंले बाँसका भाटाको बारबाट चियाएर हेरेको। डाक्टरले “तपाईँ कुन अतीत बिर्सन चाहनुहुन्छ?” भनेर सोध्दा उहाँ बोल्दै बोल्नु भएन। डाक्टरले उहाँलाई बोलाउन सकेनन्।

मेरी आमा पुरै पागल हुनुहुन्थ्यो भन्ने कुरा म अहिले पनि इन्कार गर्छु। उहाँ विक्षिप्त हुनुहुन्थ्यो। हजुरबुवा आमाको अवस्थाको कारण ममा कुनै मानसिक असर नपरोस् भन्ने कुरामा आवश्यकता भन्दा बढी नै सचेत हुनुहुन्थ्यो। उहाँ आमाको परिवारमा घटेको घटनाका बारेमा मलाई बताउनुहुन्थ्यो।  म समयभन्दा अगावै वयस्क भएँ जस्तो लाग्छ अहिले !

म कक्षा सातमा पढ्थेँ त्यति बेला। मेरी आमा घरबाट हराउनुभयो एकाएक। सबै लागेर खोजे सबैतिर, सिसौ घारी, चिहान डाँडा, डाँस खोला, नजिकैको जङ्गल सबैतिर। मेरी आमाले आफ्नो जीवन लीला समाप्त गर्नुभएछ। एउटा सानो रुखमा झुन्डिएर मर्नुअघि शरीरभरि चोट लगाउनु भएछ। ब्लेडले चिरेका जस्ता देखिने लामा गहिरा खुन सुक्दै गरेका घाउहरू ! यी सबै कुरा मैंले पनि आफ्नै आँखाले देखेको।

मेरी आमा अर्धबेहोसीको अवस्थामा पनि केही लेखिरहनु भएको हुन्थ्यो। अलिक ठुली भएपछि “के लेख्नु भएको आमा” भनेर मैंले सोध्दा “आफ्नै जीवनकथा नानी” भन्नुहुन्थ्यो। एक दिन होस आएको बेला “कुनै बेला यो सबै कथा तँलाई खुल्ला छोडिदिन्छु” भन्नुभएको थियो आमाले।  उहाँको एउटा सानो बाकस थियो। उहाँको सम्पूर्ण जीवन त्यही बाकसमा कैद थियो। आफ्ना गरगहना, शैक्षिक प्रमाणपत्र, आफ्ना फोटाहरू अनि सबैभन्दा महत्त्वपूर्ण उहाँको श्रीमानको एउटा फोटो र उहाँको आफ्नो डायरी। यो बाकस सधैँ बन्द हुने गर्थ्यो। यसको साँचो उहाँसँग मात्र थियो।  घरका कसैले पनि उहाँको “यो व्यक्तिगत जीवन” सँग आपत्ति जनाउनु भएन। आमाले आफैँलाई समाप्त गर्ने सोच बनाएर हिँड्नुपूर्व त्यो बाकसको साँचो मेरो स्कुले फ्रकमा राख्नु भएको कुरा आमा गएको १५ दिनपछि स्कुलमा थाहा पाएँ मैंले। यो सबै कहानी मैँले आमाको डायरीमा पढेको।

अब हामी बिस्तारै यी सबै दर्द, युगीन पाशविकता, त्यो दमन, त्यो शोषण बिर्संदैछौँ। हामीलाई नयाँ जीवन प्राप्त भएको छ। यो सौखिन जीवनमा त्यो दर्दनाक कहानी पोतेर के हुन्छ र? तर मैंले सकिनँ। संसारले मेरी आमाहरूको कथा सुन्नुपर्छ जस्तो लाग्छ। म जता जान्छु मेरी आमाको आकृति मेरैसामु आइदिन्छ। म तड्पन्छु। म विचलित हुन्छु। मेरी आमाको सत्यता जान्ने मसिवाय अर्को जीवित मान्छे यो संसारमा छैन। ऊ जीवित छ छैन मलाई थाहा छैन। जिउँदै भए पनि त्यो बलात्कारी नरपिशाचलाई म मान्छे मान्दिनँ। मलाई बाँच्नका लागि योभन्दा बढी शैक्षिक योग्यताको आवश्यकता छैन। अब म मेरी आमाको युगतर्फ फर्कन चाहन्छु। तपाईँ मेरो गुरु भएकाले मेरो कथा सविस्तार तपाईँलाई सुनाउन मलाई कठिन भएन । तपाईँले मलाई खोतल्न हर सम्भव प्रयास गर्नुभएको छ। तपाईँ लेखक मान्छे। मैँले मेरो जीवनका सबै गतिशील-अगतिशील पानाहरू तपाईँसामु खुल्ला छोडिदिएकी छु। तपाईँ कथा लेखिदिनुहोस्। त्यो मैँले मेरी आमाका लागि समर्पित गरेर बनाउने डकुमेन्ट्रीको स्क्रिप्ट हुनेछ।

तपाईँले अपरिचित मान्छेहरूको कथा जति सहजै लेख्नुहुन्छ त्यति नै सहजै आफ्नी विद्यार्थीको कथा पनि लेखिदिनुहुनेछ। म तपाईँ सँगै हुनेछु। तपाईँका हात काँप्ने छैनन्। मैँले विशेष प्रयोजनका लागि आफ्नो नाम फेरेकी छु। तपाईँले थाहा पाइसक्नु भएकोछ। अर्को सम्मरमा म तपाईँसँगै नेपाल जानेछु। जुनसुकै सङ्कट मोलेर भए पनि म मेरी आमाको गाउँ पुग्नेछु। मेरो डकुमेन्ट्रीमा मेरी आमाको गाउँको सजीव चित्र उत्रने छ। आशा छ तपाईँले स्विकार्नु हुनेछ।

मेरो यस पालीको व्यवहारलाई तपाईँले अन्यथा लिनु हुनेछैन। यति महत्त्वपूर्ण सम्मेलनका लागि अर्काको पैसामा नर्वे आएकी म मेरो बसाइलाई आफ्नो भावुक कहानीभन्दा टाढा राख्न चाहन्थेँ। म खुसी छु, यस कुरामा म सफल भएकी छु।

फेरि भेट्ने बाचासहित,

अनुष्का”

अनुष्काका डायरीका पाना पढ्दै गर्दा म लामिडाँडा पुगेँ। उति बेलाको मेरो बाल मस्तिष्कले खिच्न भ्याएका दृश्यहरू मेरा वरिपरि घुम्न थाले।  मेरो स्कुल, मङ्गलबारे बजार, जोर पोखरी, बोजोघारी, नौबागडाँडा, लामिडाँडा गोली काण्ड, हाम्रो घरको भान्सा घरमा लतपतिएको एक जना घाइते गाउँले युवाको रगत, राती घरमा कहिल्यै नबस्ने मेरो बुवा, घर रित्याउँदै भागेका छिमेकीहरू अनि आफ्नै एउटा उति बेला रोमाञ्चक लागेको लामो यात्रा जुन यात्राले मलाई बिसौँ वर्षसम्म परिचयहीन बनाइदियो, भूगोलहीन बनाइदियो। पवित्रा, तिमीले भने जस्तै यो तिम्रो मात्र कहानी होइन, यो ज्ञानदीपाको मात्र कहानी होइन। यो आम भूटानीको कथा हो, पीडा हो, दर्द हो। अनि यो वर्तमानका उज्याला दिनहरूले मलमपट्टि बाँध्दै गरेको र खाटो बस्दै गरेको तर कहिल्यै नमेटिने एउटा घाउको कथा हो।

शारीरिक रूपमा घाइते भएर अस्पतालको शय्यामा लडिरहेकी अनुष्काले मलाई मानसिक रूपमा घायल बनाएर गई। मैँले तीन दिन सँगै बस्दा पनि आफैँले पढाएकी त्यस केटीलाई चिन्न सकिनँ। उसले चिनेर पनि मलाई चिनाइन। यो कस्तो बाल हठ अनुष्का !

अब मलाई उसको ठेगानाको आवश्यकता छैन। अबकी अनुष्का गजबको प्राज्ञिक व्यक्तित्व भएकी एउटी नेपाली केटी मात्र रहिन। ऊ सोझी, लजालु अनि मेहनती पवित्रा बस्नेत हो। ऊ मेरी विद्यार्थी हो। उसको र मेरो एउटै जातित्व छ, एउटै इतिहास छ, एउटै कथा छ, एउटै दर्द छ, समवेत समयको चाल छ, गति छ। अब म अनुष्कालाई ऊ अमेरिका फर्कनु अगावै जसरी भए पनि भेट्नेछु।

आजै स्टकहोल्म पुग्न केही गरेर पनि सम्भव नहुने भयो।  भोलि बिहानैको टिकट गरेँ।

तीन घण्टा लामो ट्रान्जिटको क्रममा ओस्लोमा बस्दा फेरि मोबाइल कोट्याएँ। अपडेट छापिएछ भेगेमा। समाचार पढिनसकी संसार फेरि अँध्यारो भयो। मैँले असीमित पीडा महसुस गरेँ। अनुष्काले स्मरण गुमाइछ। “सेरेब्रल हाइपोक्सिया”का कारण गुमेको उसको स्मरण शक्ति वापस आउन नसक्ने सम्भावनासमेत रहेको कुरा डाक्टरले जनाएको उल्लेख थियो। यो सबै घटनाक्रम एउटा नमिठो सपना थियो भनेर भुल्न मन लाग्यो। यी नाटकीय दृश्यहरू एकपछि अर्को गर्दै दिमागमा घुम्न थाले। यो कुनै सपना थिएन। यो कुनै वियोगान्त चलचित्र पनि थिएन। अनुष्काका शब्दहरू मेरो हृदयमा युद्ध गरिरहेका थिए। ऊ नब्बे सालमा भएको बलात्कारपछि जन्मिएकी केटी हो। उसलाई एउटा डकुमेन्ट्री बनाउनु थ्यो। उसलाई आफ्नी आमाहरूको कथा संसारलाई सुनाउनु थ्यो। समाचार फेरि एक चोटि पढ्न मन लाग्यो। अनुष्काको विश्वविद्यालयको अनुरोधमा उसलाई आजै ११ बजेको फ्लाइटमा अमेरिका लगिने कुरा उल्लेख गरिएको रहेछ समाचारमा। घडी हेरेँ। १० बज्न लागेको थियो। अब मैंले अनुष्कालाई स्विडेन मै भेट्न सक्ने कुनै सम्भावना थिएन अनि स्टकहोल्म जानु पर्ने पनि कुनै औचित्य थिएन।

अनुष्काले भने जस्तै हाम्रो जीवन त कथै कथाको एउटा गह्रौँ समस्या पो रहेछ। कति धेरै कुरा छन् अनुसन्धान गर्न बाँकी हाम्रो आफ्नै जीवनमा ! भारी मन लिएर दिनभरि टोलाउँदै एयरपोर्ट मै बसिरहेँ। राति अबेरको फ्लाइटमा उसको आफ्नो स्मरणबाट गायब भएको उसैको अतीतको पोको बोकेर म ट्रोम्सो फर्किएँ।

One Reply to “घाम नउदाएको दिन ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *