चाटुकारिता

कुबेर कुईकेल(भुवानेटारे)
मासाचुसेट्स

छ चाटुकारिता यहाँ दिशा दिशा तयार त्यो
मिठास घस्छ तेलको उ छट्टु चाटुकार हो
लिएर राम नाम त्यो छुरा उ धस्छ पीठमा
चलेर तेल जाल त्यो विशिष्ट मेच खोजमा

सुयोग्य काम कर्ममा हतार हात हाल्दछ
घडी र घाम इष्ट छन् सँगी गफी उ खोज्दछ
छ सुस्त कामचोर त्यो हतार गर्छ देखमा
र आलटाल जाँचकी ठगी छली अदेखमा

कमाइ ख्याति भ्रष्ट हो अगाडि सर्छ सर्छ त्यो
गुमाइ योग्यता कतै इमानदार मर्छ त्यो
सुकर्म गर्छ दीन त्यो कुकर्मि दास सोज्दछन्
दलाइ खान्छ काममा हजार चाप नाप छन्

अगाडि लाग्छ इष्टको पछाडि ईश मालिक
सुसार गर्छ दास झैँ इमान मात्र मौखिक
कुरा निकाल्छ तेलले बजार राख्छ चाकरी
ठगी छली छुचा कुरा हितेच्छु देख्छ नोकरी

झुकेर पाउ मोल्नुमा विवेक सोच ध्यान छ
खराउ धुन्छ हातले कुकर्म साथ ज्ञान छ
छिटो अगाडि सर्नुमा सुसार अस्त्र चाप्लुसी
छिटो छ बैँस अस्त्र त्यो र नोट दारुमा खुसी

बिराम ढाकछोपमा सुयोग सूत्र चाकडी
पदोन्नती र ओहदा सुधार मार्ग चाकडी
छ योग्यता जकड्नुमा अदम्य त्यो खुसामदी
परिश्रमी र पौरखी इमानदार डस्छ ती

परिश्रमीहरू मिले सचेत न्याय खोजमा
विकल्प मिल्छ मिल्छ त्यो कुनीति ढल्छ अन्त्यमा
सुदार हुन्छ मेदिनी सुदार हुन्छ देशमा
डरेर हुन्न मित्र हो जुटौँ निसाफ खोजमा

पञ्चचामर छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *