चाहना/वास्तविकता
डिल्लीराम रेग्मी
ओहायो, अमेरिका
ओहायो, अमेरिका
मैले कैले भने र
मसँगै हिँडौँ न भनेर कसैलाई
अँ, चाहेँ होला जरुर!
म सरह
ठाउँ ठाउँमा फाटेका मेरा जुत्ताका पाइताला
आधी बाटो मै
मेरो बेहाल बनाउने मेरो त्रास
त्यसैले हिँड न मसँगै
कहिले भने र कसैलाई मैले
अँ, चाहेँ होला जरुर!
आधि बाटो मै
थाकेर उभिएका मेरा जुत्ताका डाम
यति चाँडो थाक्ने भए
मसँगको यात्रा किन चयन गर्यौ?
म त अझै धेरै चल्न सक्छु
तिमी तयार भए!
तर,
मेरा जुत्ता जस्तै
म पनि ठाउँ ठाउँमै
पाटेको छु भन्दै मैले
हिँड मसँगै
कहिले भने र कसैलाई
अँ, चाहेँ होला जरुर!
मासिएका मेरा
पाइतालाका डोब
म फेरि पछाडि फर्किएर
पहिला जस्तै बनाउन कहाँ सक्छु र
त्यसैले हिँड मसँगै
कहिले भने र कसैलाई मैले
अँ, चाहेँ होला जरुर
सायद,
आफैँमा उल्झिएको
आफ्नै बाटोको तमासा म
अरू बहेतिर बढ्दैनन् पाइताला मेरा
आफैँ तय गर्नु छ
बाटो आकाश छुने
हौसला बढाउन
आउँदैनन् कोही यहाँ
जहाँ पुग्नु छ
मलाई मेरै साथ पूर्ण छ
हुन सक्छ
दोबाटोमा अल्झिउँला केही बेर
त्यसैले त हिँड मसँगै
कहिले भने र कसैलाई मैले
अँ, चाहेँ होला जरुर!