चिठी
धर्मेन्द्र तिम्सिना “क्षितिज”
ओहायो, अमेरिका
एकताका मैले चिठी लेखेको थिएँ
कतै रगतले पोतिएको चिठी
त कतै आँसुले भिजेको चिठी
सायद चिठी खोलिएन होला
सायद चिठी पढिएन होला
र त समस्या झन् जटिल बन्दै गइरहेछ
र त समस्या अझै समस्या नै बनिरहेछ ।
मेरो रगतको चिठीले
कसैको पाप पखाल्नु थिएन
कसैको घरको बत्ती निभाउनु थिएन
थियो त मात्र
समाधान खोज्नु थियो
लाखौँ मान्छेको आँसुलाई
खुसीमा बदल्नु थियो
मुस्कानमा परिणत गर्नु थियो ।
म रोएको थिएँ
सयौँ पटक
त्यही चिठीलाई हेरेर
मैले लेखेको एउटा चिठीलाई हेरेर
कहिले रुखमुनि बसेर रोएको थिएँ
कहिले खुल्ला आकाशको छहारी लिएर रोएको थिएँ
मेरो पीडा मिसिएको चिठी थियो त्यो
मेरो इतिहास मिसिएको चिठी थियो त्यो ।
कहिले आगोमा पिसोल्टिएर लेखेँ चिठी
कहिले जाडोले काँप्दै लेखेँ चिठी
कहिले आधा पेट खाएर लेखेँ चिठी
कहिले भोकै बसेर लेखेँ चिठी
अनि पठाएको थिएँ
उसैको नाममा
उसैको घरमा पुग्ने गरी
तर सायद खोलिएन
सायद पढिएन
र त अझै समस्या जिऊँ का तिउँ छ
र त समस्या जटिल बनिरहेको छ ।
अहिले त चिठी च्यातियो होला
अहिले त चिठी हरायो होला
सायद अब भेटिन्न पनि
त्यसैले मजस्तै अर्को चिठी लेख्ने जन्मनुपर्छ
त्यसको घरभित्रै
जसले चिठी सबैलाई पढेर सुनाउनेछ
जसले लङ्गडालाई हिँड्ने बनाउनेछ
आँखा नदेख्नेलाई देख्ने बनाउनेछ
सुतेकालाई ब्युँझाउनेछ अनि
लाटालाई बोल्ने बनाउने छ
अनि हुनेछ समाधान
सधैँका लागि,
सदा सदाका लागि । ( फेब्रुअरी २/२०१९ ) शनिवार