चिताको आगोभित्र सौन्दर्य खोज्ने कविता
शिवलाल दाहाल
केन्टकी, अमेरिका
रचनागत दृष्टिले कवि रमेश गौतमले कविता लेखनमा दुई दशकको समय व्यतीत गरेका छन् । उनका सन् २००० देखि हालसम्म लेखिएका २५ वटा कविता Bhutaneseliterature.com मा छापिएका छन् । त्यसमध्ये केही कविता भने अन्य पत्रिकामा प्रकाशित, पुनप्रकाशित भएका हुन् । संख्यात्मक रुपमा यो परिणाम ठूलो नभएपनि गुणात्मक रुपमा गौतमका कविता पठनीय र अनुसन्धेय छन् ।
उनका कविता व्यक्तिगत जीवन भोगाइका अनुभूतिको सानिध्यमा वैश्विक चिन्तन,परिवेश र समकालीन समयका अन्तर्विरोध, मानवीय पीडा र त्रासदीको समिचिन चित्र प्रस्तुत् गर्दछन् । आजको मानव समाज अनेक प्रकारका समस्याबाट ग्रसित छ, पीडित र प्रताडीत छ । सामाजिक, राजनीतिक र आर्थिक समस्या मात्र होइन मानीव प्रवृत्ति– स्वार्थी मनोवृत्ति, शक्तिको होडबाजी, उपभोक्तावादी संस्कृति र असहिस्णु व्यवहारले विश्व मानवजगत आक्रान्त छ । केही समस्याहरु प्रकृति सिर्जित भए पनि अधिकांश समस्याहरुको जड मानिस हो, उसका क्रियाकलाप र अन्तर्क्रिया हुन् । मानिस आफैँले निर्माण गरेको त्रासदी भोगेर बाँच्न विवश छ । आजको युग, आजको शताब्दी भयक्रान्त र जर्जर छ । यो कुनै निश्चित भूगोलको सन्दर्भ होइन, सर्वभौम चरित्र हो ।
त्रसित-त्रसित एउटा विस्तृति
बाँचिरहेछ
शताब्दि-सन्दर्भहरु।
(‘बिदाइको बेला’बाट)
रमेशका कविताले उठाएको सवाल र सरोकार समकालीन समयको सरोकार, चिन्ता र दृष्टि हो । चाहे त्यो राजनीतिक, सामाजिक, आर्थिक वा पर्यावरणीय जे होस् । निषेधित राजनीति, जातीय तथा लैङ्गिक विभेद,आर्थिक असमानता, गरिवी, भोक, युद्ध, आनुष्ठानिक हत्या र विस्थापनले मानवीय मूल्य, प्रतिष्ठा, स्वतन्त्रता र जीवनका सर्वभौम आकांक्षा, आशा र अभिलाशाहरुलाई वहिस्कृत र अवमूल्यान गरिदिएको छ । यही जर्जरता, विषमता र वितृष्णाहरुको बोधले कविलाई विद्रोह बोल्न लगाउँछ – मानवीय मूल्य, आस्था र अस्तित्वको खोजीका लागि ।
आफैँलाई
स्वनिर्मित कारागारमा कैद गरेर
अलिकति भिख याचना गरिरहेछु
मूल्यहरूको !
आस्थाहरूको !!
अस्तित्वहरूको !!!
(‘लाखौँ सलामी दिएर वर्तमानलाई’ बाट)
कवि त सम्वेदनाको एक पृथक सत्ता हो । मान्छेले भोगेका यातना, यात्रणा र चित्कारहरु उसलाई सह्य हुँदैन । मानिसका कारुणिक चित्कार र दर्दले भरिएका भोगाइहरुप्रति कवि असम्पृक्त रहन सक्तैन, ऊ त सहानुभूति र संवेदनाले भावनाले आप्लावित हुन्छ ।
मलाई आँसु पीडादायक लाग्छ
अझ असह्य लाग्छ
म संवेदनाले भरिएको मान्छे ।
(‘तिमी र एक्लो म’बाट)
यस किसिमका विविधता,बौद्धिकता र चिन्तनको सघनता बोकेका कविता बुझ्न कविको प्राज्ञिक पृष्ठभूमि र अध्ययनका बारेमा जानकारी हुन जरुरी हुन्छ । पहिला त, रेमश गौतम गणित र विज्ञानका विद्यार्थी हुन् । दास्रो सामाजिक शास्त्रका अध्येता । तेस्रो, ऊ समयको एउटा कालखण्डमा (अहिले पनि कतिपय अवस्थामा) विस्थापन, अभाव,राज्यविहीनता र परिचय संकटको स्थिति भोगेर बाँचेको व्यक्तिसत्ता हो । त्यसकारण यहाँ अध्ययनले निखारता दिएको बौद्धिक व्यक्तित्व मात्रै छैन, भुक्तभोगि व्यक्तिसत्ता पनि छ जसको संयुक्त प्रभाव उसको काव्यचिन्तनमा स्पष्ट देख्न सकिन्छ । यी सबै कुराभन्दा पर कवि रमेश गौतम भित्र एउटा अदृश्य कलाकार छ, जो कविता साधनामा कुचीको सहारा खोज्छ र प्रकृतिको रङ् घोलेर सिर्जनामा सौन्दर्य सृष्टि गर्न उद्धत हुन्छ ।
अनन्त आकाशको क्यानभासमा
बादलका रङहरू पोत्दै
कलासधनामा लीन हुन्थ्यो
एउटा अदृश्य कलाकार ।
(‘तिम्रो तस्वीर’बाट)
रोमान्टिक भाव–चेतना बोकेका कवितामा प्रणय संवेदनाको सुन्दरतम् अभिव्यञ्जनाका साथै प्रकृतिको चित्रात्मक प्रस्तुति पनि छ । प्रेमलाई प्रेम संवेगको प्रकटीकरणका लागि, प्रकृतिलाई प्रकृति चित्रणका लागि प्रयोग गर्नु कवि गौतमको उद्देश्य होइन । त्यसभित्र सन्निहत अर्थ भिन्न र व्यापक छ – विच्छेदनको पीडा, क्षयवोधको भावना, पर्यावरणको विनाश, अस्तित्व सङ्कटको उद्घाटन या त तुलनात्मक यथार्थको बिम्बिकरण । सतहमा हेर्दा रतिरागात्मक लाग्ने ‘तिम्रो तस्बिर’ जस्ता कविताले जलवायु परिवर्तन हुँदै गएको अवस्थामा प्रकृतिको वैधक्यता, सुन्दरता र समृद्धि नै समाप्त हुने सम्भावनालाई मुखरित गरेको छ ।
कि तिम्रो त्यो तस्बिर
सम्झनालाई पुनर्जागृत गर्ने
अन्तिम औजार हुनेछ मेरो !
अन्तिम चिनो हुनेछ तिम्रो !!
(‘तिम्रो तस्वीर’बाट)
पर्यावरणको विनाश र जलवायु परिवर्तन आजको विश्वका प्रमुख समस्या हुन् । प्रकृतिको मौलिक स्वरूप, विशेषता र आकर्षण दिनानुदिन बदलिएको छ । वर्तमानमा जल, जमिन र वायु सबै प्रदूषित छन् । जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास ल्याउने, पृथ्वीको तापमानमा वृद्धि गर्ने, पशुपंक्षीको वासस्थान नष्ट हुने, मौसम गडबडी गर्ने, ध्रुवीय हिमपिण्ड पग्लिने, समुद्री तटीय क्षेत्र डुबान हुने जस्ता अनेक दूरगामी समस्याहरू निम्त्याउँदै छ । यी विनाशकारी कार्यहरूको कर्ता मानिस स्वयाम हो । मान्छेले प्रकृतिप्रति गरेको हमलाको परिणाम धर्ती चितामय बन्दै छ र मानवीय अस्तित्वमाथि नै खतरा उत्पन्न भएको छ । त्यस कारण कवि व्यङ्ग्य गर्दछन् ‘चिताको आगो साँच्चै तातो हुँदोरहेछ’ । मानव जाति र प्रकृति बिचको अन्तरसम्बन्धमा देखिएको असन्तुलन र त्यसले निम्त्याउन सक्ने विध्वंसकारी परिणामप्रति कविको चिन्ता र चासो छ ।
तिमी प्रत्येक पल मर्दैछ्यौ
लाखौँ वर्षदेखि
तिम्रो चिताको आगो तापेर म
आहत भएको छु
रक्तरञ्जित छ मेरो परिवेश !
(‘चिताको आगो साँच्चै तातो हुँदोरहेछ’बाट)
आफ्नो उपकारक प्रकृतिप्रति मानिस कृतघ्न बन्नै गएको छ । मानिस र प्रकृति बिचको सौहार्दता, प्रेम र अन्तरसम्बन्ध समयक्रमसँगै भत्किँदै, बिग्रँदै आएको छ । विश्व बजारीकरणको यस युगमा प्रकृतिको संरक्षणतर्फ ध्यान नजाने हो भने कुनै दिन धर्ती बन्जर हुने छ, मरुभूमिकृत हुने छ र जीवनको अस्तित्व समाप्त हुने छ । यसरी कवि आफू बाँचेको धर्ती र पर्यावरणको संरक्षण तथा जैविक अस्तित्वको रक्षाका लागि काव्यात्मक वकालत गर्दछन् – कहिले विद्रोह बोलेर, कहिले भयक्रान्त स्थितिको दारुण चित्र प्रस्तुत गरेर त कहिले वर्तमान युग–व्यवहारप्रति वितृष्णा प्रकट गरेर ।
मानव जीवन अव्याघात छैन भन्ने कुरा कवि स्वीकार गर्दछन् । यसभित्र चुनौतीहरू छन्, समस्याहरू छन्, दुरहताहरु छन्, कठिनाइहरू छन् । बिघ्न,बाधाहरू छन् । विसङ्गति र विद्रुपताहरु छन् । तथापि पलायनले जीवनमा प्राप्ति दिलाउन सक्तैन । जीवनप्रतिको अस्वीकृतिपूर्ण स्वीकृति नै कविको अस्तित्व चिन्तनको मूल तत्त्व हो । भोगाइको सम्पूर्णता खण्ड–खण्डमा विभाजित हुनसक्छ । एक–एक खण्ड, एक–एक सत्य हो । जीवन भोगाइ अविच्छिन्न सत्य होइन । यो त खण्ड–खण्डमा विभक्त छ –दुःखको, सुखको,कुरूपताको र सुन्दरताको ।
थिचेको छु
कैयन चोटि आफैँलाई
लघुताभासले
च्यातेको छु
कैयन चोटि आफ्नै हृदय
परीक्षाका कठोरताहरूले
यद्यपि
बाँचेको छ एउटा पल
मरुभूमिको एक ग्लास पानी
एउटा अमूर्त मुस्कान
अगम्य-अस्पष्ट स्वर्ग सुखानुभूतिहरू
दूर क्षितिजमा चम्कने तारा-सुन्दरताहरु
खण्ड-खण्ड बाँचेका छन्।
(‘बिदाइको बेला’बाट)
रमेश भित्रको कवित्वलाई जातीय पीडा, अस्तित्व र पहिचान सङ्कटको बोधले पिरोल्ने गरेको छ । खास गरी भारत र भुटानमा बसोबास गर्ने नेपाली भाषीहरूमा जातीय पहिचानको सङ्कट छ । अझ भूटानीहरू नेपालको शरणार्थी शिविर हुँदै विश्वका अनेक देशमा छरिएपछि यो पहिचान सङ्कट झन् टड्कारो रूपमा देखापरेको छ । हुन त पहिचान निर्माण गर्ने सवालमा जाती, राष्ट्रियता, भाषा र संस्कृति अगाडि आउँदछन् । जातीयता र मूल थलोका आधारमा पहिचान गर्नु तर्कसङ्गत भए पनि त्यसले राजनीतिक रूपमा गलत सन्देश प्रवाह हुने हुनाले भूटानीहरुको पहिचान तरल र अस्थिर देखिएको छ । पहिचानसँग अस्तित्वको प्रश्न पनि जोडिएर आएको छ । पाश्चात्य मुलुकहरूमा पुगेपछि भूटनीहरुमा ‘सामुदायिक चिनारी’को सवाल झन् ठुलो छ । त्यसो त विश्वका अनेक जातिहरू किनाराकृति हुँदै चिनारी नै हराएको अवस्थामा पुनर्बासित भूटानीहरुमा अस्तित्व सङ्कटको चिन्ता हुनु अस्वाभाविक होइन ।
इतिहास, भूगोल, विज्ञान र प्रविधि जस्ता ज्ञानका अनेक सङ्कायबाट कवितामा पात्र, घटना र विषयवस्तु आएका हुँदा रमेशका कवितालाई अर्थ्याउँन पाठकलाई कठिनाइ उत्पन्न हुनसक्छ । छोटा वाक्यविन्यास र लामो आकार कवि गौतमका कविताको संरचनात्मक विशेषता हो । यो एक किसिमको प्राविधिकताका रूपमा देखापर्दछ हरेक कविताहरूमा । रमेशका कवितामा उच्च बौद्धिक काव्यिक भाषाको प्रयोग मात्रै छैन, कलात्मक र सौन्दयपूर्ण भाषाको परिशिलन पनि छ । कवितामा प्रयुक्त विशिष्ट पदावली,रूपक र विरोधाभास अनि बिम्ब र प्रतीकहरूको सघन प्रयोगले काव्य साधनालाई विशिष्टता प्रधान गरेको छ । ‘नमिठो जीत’, ‘तारा–सुन्दरता’, ‘अमूर्त मुस्कान’, ‘न्याउल पीडा, ‘गोमन चाल’ यस्ता अनेक प्रयोगहरू छन् कवितामा यत्रतत्र ।
रमेशका धेरै कवितामा ‘तिमी’ र ‘म’को उपस्थिति छ । यसले समन्वयनात्मक तारतम्यको सिर्जना त गर्छ नै, रतिरागात्मक सौन्दर्य सृष्टि गरेर पाठकलाई कवितातर्फ आकर्षित गरिरहेको हुन्छ । त्यसकारणले रमेशको लेखनीमा कला सचेतनाका साथै पाठकलाई समाती राख्ने जुक्ति पनि छ ।
सारमा भन्नुपर्दा, रमेश गौतमको काव्य साधना उच्चकोटीको छ । कवितामा भावनाको सहज प्रवाह छ । विषयवस्तुमा नवीनता छ । मानवीय मूल्य र पर्यावरणप्रतिको संवेदनशीलता छ । उच्च बौद्धिक चिन्तन र परिष्कृति छ । अब्बल कलात्मक भाषा र सौन्दर्य चेतना छ । काव्यकारिताको शिष्टता र प्रयोगहरूको विशिष्टताले रमेश गौतमलाई कुशल काव्य साधकका रूपमा स्थापित गरिदिएको छ ।