चोरको छोरो
शुकदेव अधिकारी
ओहायो, अमेरिका
बिलकुल सुनसान छ वातावरण । एकदम शून्य ।
सारा गाउँ सुतेको छ । गाउँको पुछारमा सानो खोलो छ । खोलाको डिलभन्दा दुई तीन खुड्किला माथिको थोरै समथर भुइँमा एउटा सानो घर उभिएको छ । घर पनि के भन्नु, एउटा सानो कोठा मात्र छ । त्यस कोठाका जम्मा पाँच प्राणीमध्ये एक प्राणी जागा छ यस क्षण । हिजैमात्र उसका बाबुको तेह्र दिनको काम सिद्धिएको छ ।
पूर्णिमाको रात । खुल्ला आकाशमा पूर्णकदको चन्द्रमा दिल खोलेर हाँसेको छ । भर्खरै निदाएका साना छोराछोरीका अनुहारमा अनिश्चित भविष्यका रेखाहरू प्रस्ट पढ्छ ऊ जूनको उज्यालामा । तिनका सपनाहरू उज्यालोसँगै प्रतिबिम्बित भएर घरका भित्तामा कतै हराएको देख्छ । छेवैमा सुतेकी श्रीमतीका अनुहारमा हेर्छ । आशा, आकाङ्क्षा र चाहना भरिएको देख्छ । परतिरको खाटमा सुतेकी बुढी आमाको अनुहारमा भरोसा टुटेको देख्छ, गरिबी, भोकमरी र बुढ्यौलीले पिल्सिएको अनुहारमा कुनै नयाँ सपना पढ्न सक्तैन ऊ ।
“यिनीहरूको पालनपोषण मेरो धर्म । आज बेलुका भर पेट खान पाएनन् मेरा बचेराले । खुइ………य ।” लामो सुस्केराका साथ बाबुका थाप्लादेखि आफ्नो थाप्लामा झरेको जिम्मेवारी स्विकार्छ । उठ्छ ओछ्यानबाट ।
घरको कुनै एक कुनामा पुरानो टिनको बाकस छ । बाकसभित्र प्लास्टिकमा बेरेर राखेको फराकिलो कागज छ, पुरानै । उसले उसका बाबुबाट पाएको जम्माजम्मी अंश यही कागज हो । बडो जतनसाथ झिक्छ, प्रेमले फुकाउँछ र आफ्ना छातीमा जोड्छ अनि ओठमा जोड्छ एक पटक ।
“मेरा पुर्खाले आर्जेको, मेरो कमाई खाने भाँडो ।”
खुल्ला आकाशमुनि विना कुनै चुनौती टल्केको चन्द्रमाको प्रकाशमा प्रस्टसँग पढ्न सकिन्छ त्यस कागजमा अङ्कित चित्रहरू, अक्षरहरू, उसको सिकुवामा बसेर । यस गा.वि.स.भरिका सातवटै गाउँका प्रत्येक घरमा पुग्ने बाटो, भाग्न सजिलो हुने गौँडो, लुक्न मिल्ने झाडी वा ओडारलगायत सम्पूर्ण भौगोलिक बनोटको सचित्र विवरण छ यस कागजमा । धनी, गरिब, आँटिला, दुर्बल र कुनकुन घरमा केके हातहतियार छन्, त्यसको पनि विवरण छ । सफल चोर बन्नका लागि के र कुनकुन कुरामा ध्यान दिनुपर्ने, त्यसको सूची पनि छ कागजको एक कुनामा ।
यो कागज पहिला पनि उसले हेरेको छ सायद, सरसरती हेर्छ एकचोटि सिर–पुछार । उत्तिकै प्रेमले पट्याउँछ, प्लास्टिकमा बेरेर जतनले गोजीमा राख्छ । ऊ ढुक्कको सास फेर्छ ।
हातमा सखुवाको मोटो डन्डी छ । एउटा बोरा पट्याएर कम्मरमा बाँधेको छ । उसको रातभरिको कमाइ अटाउने ढुकुटी– जुटको बोरा । यी सब उसका बाबुले गर्थे आजभन्दा पहिला । आज ऊ आफ्नै नेतृत्वमा आफैँलाई लिएर चोर्न निस्कियो पहिलो चोटि । बाधा, चुनौतीहरूको सामना गर्नुपर्छ, त्यो थाहा छ उसलाई । आँगनको छेउमा उभिन्छ । गन्तव्य कुन गाउँको बनाउनेमा एक छिन घोरिन्छ ।
पारिपट्टिको गाउँको सिरानतिर कतै जोगीले फेरी लगाएको आवाज, मध्यरातको सुनसान हावालाई चिर्दै आइपुग्छ त्यहाँ ।
‘त्यता जान भएन ।’ आफ्नै गाउँका घरहरूतिर लक्षित हुन्छ । माथि, निकै माथि, ठूल्ठूला पहाडे कुकुर भुकेको आवाज सुन्छ । यी आवाजसँग परिचित छ ऊ तर कुकुरसँग छैन । बासँग चोर्न जाँदा कुकुरले लखेटेको सम्झन्छ । आङ सिरिङ्ग हुन्छ ।
‘कस्तो आपतबाट बचेका थियौँ हामी त्यस दिन । त्यत्रा बाघजस्ता कुकुरले भेटेका भए ∕ बाबुछोरा एकै छाक भइन्थ्यो । अहँ, त्यता त भुलेर पनि जान्नँ ।’
घर तलतिरको खोलामा झर्छ ऊ । किनारै किनार केही बेर हिँड्दा एउटा बाटो उकालो चढ्छ । ऊ पनि चढ्छ । पातलो जङ्गल छिचोल्दा फराकिलो गाउँमा पुगिन्छ । उसका अंशमा परेकै गाउँ हो । थाहा छ नालीबेली । घरहरू पातला छन् । एउटा घरबाट निकै जोडले कराउँदा मात्र अर्को घरमा सुनिन्छ । गाउँका छेवैमा एउटा सानो घर छ । त्यस घरका मान्छेले उसलाई नचिन्न सक्छन्, तर ऊ सबैलाई चिन्छ ।
‘यस घरमा यसैपालि जन्मेका जुम्ल्याहा नानीहरू छन् । तिनकी आमा छैनन् । माथि गइन् सुत्केरी हुँदै । बाबु परदेशमा छन् । बुढी हजुरआमा छन् घरमा । यस घरलाई आजको कर्मथलो बनाउँदा कुनै खतरा छैन ।’
घरका जस्तोसुकै ढोका सजिलैसँग खोल्न सक्छ ऊ । बाबुकै पालामा उसमा विकास भएको सीप । बिस्तारै ढोका खोल्छ । ढोका पनि के भन्ने, सिरेटो छेक्नलाई ढोकामा ठड्याएका दुईवटा फलेक झिकेर भुइँमा राख्छ । बुढी आमै आफ्ना बचेरा च्यापेर सुतेकी छन् । मस्त निद्रामा छन् । थाहा पाउँदिनन् । थाहा पाए पनि उसलाई ठुलो खतरा छैन उनीबाट । घरका सबै पोकापोकी खोतल्छ, डाला, थुन्से, भकारी सबै उधिन्छ । उसलाई प्रयोगमा आउने वस्तु केही छैन घरभित्र । घरका मान्छेलाई मनमनै गाली गर्छ– “कस्ता कङ्गाल रहेछन् । छोरो भनाउँदो पनि कस्तो स्वाँठ …∕”
ऊ बाहिर निस्कन्छ ।
आँगनका पल्ला छेउमा कटेरो छ । त्यहाँ एउटा गाई छ, दुहुनो । टाट्नामा बाछो पनि छ । गाईका छेउमा पुग्छ । ‘यही गाई हुने भयो आजको उपलब्धि । रातभरिमा फेदी कटाइयो भने भोलिको हाटमा बेच्न सकिन्छ । उता गाईभैँसीको ठुलो बजार लाग्छ । देखेको छु बासँग जाँदा ।’
गाई फुकाउँछ । बाछो पनि । घरको ढोका अगाडिबाटै बाटो उँधो झर्छ । बाछो बोकेर ऊ हतारहतार हिँड्छ । झलमल्ल उज्यालो छ जूनको । ढोकानेर पुगेपछि भित्रतिर हेर्छ । बुढी निदाइरहेकै छन् । कलिला नानीहरूका अनुहार टल्केका छन् उज्यालामा । ऊ सरासर हिँड्छ । गाई पनि हिँड्छ । हिँड्दाहिँड्दै, गाई बेचेको पैसाले कुनकुन खाँचो टार्ने भन्ने योजना बुन्न थाल्छ दिमागमा । आफ्नी बुढी आमालाई सम्झन्छ, स्वास्नी सम्झन्छ, कलिला छोराछोरी सम्झन्छ । चोरी भएका घरका जुम्ल्याहा नानीहरू सम्झन्छ । तिनका पिल्पिलाउँदा अनुहार नाच्न थाल्छन् आँखाभरि ।
‘जसले जन्मजात आफ्नी आमाको न्यानो पाएन, प्राणदायी स्तनपान गर्न पाएन, तिनकै आहार चोरेर लाँदै छु म । आफ्ना बचेराको गोजेरो उकास्न ती असहायको गाँड फोरिरहेको छु म । भोलि बिहानै उठेर के खान्छन् ती टुहुराले । अहँ, म यो गाई लान्नँ ।’
फर्कन्छ । जहाँ थियो त्यहीँ बाँधिदिन्छ त्यो गाई । हावा चलिरहेको छ । घरका ढोकाका दुवै फलेक ठड्याइदिन्छ । हिँड्छ ।
लगत्तैका तीन चारवटा घरमा उसले चोर्न मिल्ने केही छ भन्ने ठान्दैन । माथिल्ला फाँटमा निक्लँदा एउटा घर भेटिन्छ ।
‘यो परिवार ठीकठीकैको छ । खान–लाउन पुगेको छ राम्ररी । तर त्यहाँ लोग्नेमान्छेहरू पनि छन् ।’ सतर्क हुन्छ । भिडन्त भएमा सामना गर्न सक्ने क्षमता बटुल्छ आफूमा । ढोका बलियो रहेछ । सजिलै खुलेन । भएभरको सीप लगाएर ढोका खोल्यो सकेसम्म कम आवाज निकालेर । कसैले थाहा पाएनन् । सुतेका सबै मान्छेका अनुहारमा हेर्छ । कुनापट्टिको खाटमा सुतेकी महिलाको गलामा मङ्गलसूत्र रहेछ । टिलिक्क टल्क्यो । बिस्तारै तिनका छेउमा गयो । मालासहित छिनाल्यो । न कुनै आवाज निस्कियो न ती महिलालाई कुनै आभास नै भयो । बाहिर निस्कियो ऊ घरबाट । राम्ररी हेर्यो त्यो सुनको गहना । निकै गहकिलो छ । जतनले गोजीमा राख्यो, आरामको सास लियो ।
‘राम्रै भयो यस रातको कमाइ ।’ उसले ठान्यो । जूनको मधुरो प्रकाशमा ओरालोतिर हिँड्यो ।
सुन बेच्न लग्नुपर्ने घर आउन थाल्यो आँखामा । मानेडाँडाको सुनारको घर । गएको छ ऊ त्यहाँ पहिला पनि बासँग । निकै रकम आउने आस पलायो । आएको रकमले टाल्नुपर्ने प्वालहरूको सूची तयार भयो दिमागमा ।
‘भोलि बिहानको चारो, कलिला नानीहरूको नाङ्गो आङ, श्रीमतीको माइत जाने बाटो, बुढी आमाको घुँडा चुहुने फरिया, घरको चुहुने छानो, माथ्ला घरका भक्ते काकाको खल्ती, दोभानकी भट्टीवाल्नी साहिँलीको मुहार ….। भट्टीवाल्नी सम्झनासाथ ऊ झस्कियो । ठिङ्ङ उभियो । आफ्नो गोजी छाम्यो । सुन छँदै छ । एक दिन रक्सी खान गएको बेला देखेको भट्टीवाल्नीको ‘महाकाली रूप’ दुरुस्तै उत्रियो उसका आँखामा अहिले । ‘कुन्नि कसले उसको गलाको सुन चोरेछ ।
“त्यसलाई भेट्न पा’को भए, छ्यार्लाप्पै छिनाउने थेँ’ । टुक्राटुक्रा पारेर यै खोलामा बगाइदिन्थेँ ……।” कालीरूपको आक्रोश ।
“म त्यसरी मर्न चाहन्नँ ” ऊ डरायो ।
“कालले लान नसकेको बज्ज्या, त्यसको त शरीरभरि किरा परेर मरिजाओस् ……।”
“म शरीरमा किरा परेर मरूँ,त्यो सहन सक्तिनँ ।”
“त्यसका शाखा सन्तान सबै त्यै सुन खिइएझैँ खिइएर सकिउन् ……।”
“नाइँ,म मेरा सन्तानहरू खिइएर सकिएको हेर्न सक्तिनँ ।” आफ्ना साना छोराछोरी सम्झन्छ । “नाइँ, म यिनीहरू खिइएको हेर्न चाहन्नँ, चाहन्नँ ।” गोजीमा हात हाल्दै छ ऊ– “म यो सुन लान्नँ” ।
ऊ फर्किन्छ, आएकै बाटो । चोरेको घरमा पुग्छ । ढोका खुल्लै छ । ढोकाबाटै भित्र फालिदिन्छ त्यो नासो । हिँड्छ त्यहाँबाट । शीतलता महसुस गर्छ केही बेर ।
फेरि मनमा अशान्ति हुन्छ । हीनताबोधले गाँज्न थाल्छ उसलाई । सम्झन्छ– ‘मेरा बाबु–बाजेको कत्रो नाम थियो गाउँमा । बाजे त पुलिसथानाबाटै सुरुङ खनेर भाग्न सक्ने नामुद थिए । बाले पनि सातवटै गाउँ हल्लाएका थिए । डल्ले चोर भने पछि सब थर्कमान, म तुहेक्रो भने आफ्नो अस्तित्वै बचाउने सङ्कटमा छु ।’
गाउँको पल्लापट्टिको पाटो भएर ओरालो लाग्छ । तल जङ्गलकै छेउमा एउटा घर छ । घरका पछाडितिर कुखुराको खोर । नजिक पुग्छ । खोरमा तीनचारवटा पोथी र एउटा जर्खरिएको भाले छ । त्यही भालेबाट आफ्नो अस्तित्व बचाउने निर्णय लिन्छ । पारखी हातहरूले भालेका खुट्टा र पखेटामा एकैचोटि समात्छ । बाहिर निकालेर त्यसको सिरदेखि पुछारसम्म राम्ररी हेर्छ । सन्तोषको थुक निल्छ, घुटुक्क ।
‘बिहानको भान्सा उज्यालो हुने भयो ।’
अब अलिकति जङ्गल छिचोल्दा खोलामा पुगिन्छ । खोलैखोला अलि माथि गएर पारि तर्दा उसको घर पुगिन्छ । भाले लिएर जङ्गल छिचोल्दै छ ऊ । मनमा केके कुरा खेलिरहँदा हातका औँला खुकुलिए सायद, भाले फुत्त उफ्रिएर जङ्गलतिर कुद्यो । झाडीमा पस्यो, हरायो । ऊ झाडी पल्टाउन थाल्यो । कत्ति गर्दा पनि भेटिएन भाले । हरायो त्यो । रात ढलिसकेको छ । गाउँमा कुखुरा बासेको सुनिन्छ । मान्छेहरूले खोकेको, हाई काढेको सुनिन्छ । टाढा कतै पँधेरातिर गाग्राहरू बजेको सुनिन्छ ।
ऊ भने निराश अनुहार लिएर झर्छ खोलातिर । हैरान छ । शरीर पुरै शिथिल देखिन्छ । आफैँले बोकेको डन्डीको भारले थिचिएर बलजफ्ती हिँडिरहेको छ । खोलैखोला माथि पुग्छ जहाँबाट तर्दा उसको घर पुगिन्छ ।
खोलो तर्नै लाग्दा अचानक उसमा एकप्रकारको ऊर्जा भरिन्छ । बोकिराखेको लट्ठी एक्कास्सि आफ्ना तिघ्रामा बजार्छ दुवै हातले थिचेर । लट्ठी दुई टुक्रा हुन्छ । खोलामा फाल्छ । बग्न थाल्छन् टुक्राहरू । ऊ हेरिरहन्छ । आफ्ना बाबुको आजसम्मको सामर्थ्य लट्ठीका कुड्कासँगै बगेर गएको देख्छ । एक छिन घोरिन्छ । गोजीमा हात हाल्छ । अघिसम्म अति प्रेमले पट्याएर राखेको कागज निकाल्छ । आँखा चिम्म गर्छ । कच्याककुचुक पार्छ, ध्वारध्वार्ती च्यात्छ आजसम्म जोगाएर राखेको उसको पुर्ख्यौली सम्पत्ति । त्यो पनि फाल्छ पानीमा । केहीबेरमा आँखा खोल्छ, अस्ताउन लागेको जूनको पहेँलो उज्यालोमा धिलमिलाउँदै बगिरहेका कागजका टुक्राहरूमा आफ्ना बाबु–बाजेका विकृत अनुहारहरू बगिरहेको देख्छ ।